बीपी अस्पतालको स्थायी पदपूर्तिका लागि सञ्चालित परीक्षा विवादमा

भरतपुर (चितवन), २५ फागुन । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा स्थायी पदपूर्तिका लागि सञ्चालित परीक्षा विवादमा तानिएको छ ।
अस्पताल प्रशासनले उमेर हदबन्दी नाघिसकेकालाई स्थायी बनाउन लागेको कर्मचारीले आरोप लगाएका छन् । लोकसेवा आयोगले नै विज्ञापनमा प्रकाशित सूचनाविपरीत उमेर नाघेकालाई सहभागी गराई परीक्षा लिएको छ । आयोगले उमेरबारे पछि निर्णय गरिने प्रतिक्रिया दिएको छ ।
रजिस्ट्रार, मेटडिकल चिकित्सक, रेडियो डायग्नोसिस तथा इमेजिङ र रजिस्ट्रार मेडिकल अंकोलोजी पदका लागि निकालिएको विज्ञापनमा अस्पतालमा विशेष करारमा कार्यरत डा. सञ्जय कुमार र डा. खगेन्द्रराज देवकोटालाई स्थायी गराउन परीक्षा लिइएको हो ।
अस्पतालले गत भदौ १५ गते निकालेको विज्ञापनमा सहायक तहमा १८ वर्ष र अधिकृत तहमा २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ । सञ्जयको उमेर जन्ममिति ०३० जेठ २ गतेबाट हिसाब गर्दा ४३ वर्ष ९ महिना र खगेन्द्रको ०२९ साउन १२ गतेको मितिले ४४ वर्ष ७ महिना भइसकेको अस्पतालको रेकर्डले देखाउँछ । विज्ञापनअनुसार जाँदा उमेर हदले दुवै जना परीक्षामा सहभागी हुन योग्य देखिँदैनन् ।
परीक्षा सञ्चालनका लागि आएका आयोगका उपसचिव नारायण ज्ञवालीले दुवैको उमेरबारे आयोगले पछि छानबिन गर्ने बताए । ‘परीक्षाका लागि प्रक्रिया पुगेको छरछैन अब हेर्छौं,’ उनले भने, ‘अस्पतालले योग्य ठहर गरेर पठाएकाले परीक्षा हलमा उमेर हेर्ने कुरा आउँदैन ।’
दुवैको उमेर नाघेकाले नियमबाहिर गएर काम नगर्न अस्पतालका कार्यकारी निर्देशक डा. चीनबहादुर पुनलाई आग्रह गरिए पनि वास्ता नगरेको कर्मचारीको आरोप छ । अस्पतालले दुवै चिकित्सक दक्ष रहेको भन्दै नियम मिचेर स्थायी गराउन लागेको उनीहरू बताउँछन् । निर्देशक पुनले भने नेपाल स्वास्थ्य ऐनअनुसार स्थायीका लागि दुवैको आवेदन स्वीकृत गरिएको बताए । ‘लामो समय काम गरेकालाई उमेरको हदबन्दी लाग्दैन,’ उनले भने । अस्पताल सञ्चालक समिति अध्यक्ष डा. प्रकाश न्यौपाने पनि नियमावलीमा करारमा काम गरेका कर्मचारीको हकमा उमेर हदबन्दी नलाग्ने उल्लेख रहेको दाबी गर्छन् । ‘समितिका तत्कालीन अध्यक्ष डा. भक्तमान श्रेष्ठको पालामा नियामावली संशोधन गरिएको रहेछ,’ उनले भने, ‘सोही अनुसार खगेन्द्र र सञ्जयले स्थायीका लागि परीक्षा दिएका हुन् ।’
(आजको कान्तिपुर दैनिकमा समाचार छ)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>