डाक्टरको सल्लाहबिनै औषधि



Download our app to get more features

काठमाडौं, २५ फागुन । थापाथलीकी लिली निरौलालाई महिनावारी हुँदा बेस्सरी तल्लो पेट दुख्ने, बान्ता हुने, पखाला लाग्ने, रिंगटा लाग्ने, असह्य पीडा सहन नसकेर छटपटी हुन्छ । महिनावारी भएको दिन उनको दैनिकी सामान्य हुँदैन । ‘कलेज र अफिस जान्न, घरबाट बाहिर नै निस्कन सक्दिनँ,’ उनले भनिन् । 

असहय पीडा भएपछि उनी ‘मेफ्टल’ नामक दुखाइ कम गर्ने औषधि खाएर पीडा कम गर्छिन् । औषधिले केही घण्टा मात्रै पीडा कम गर्ने उनले बताइन् । महिनावारीको समयमा उनले ३ वटासम्म मेफ्टल (पीडा कम गर्ने औषधि) खाने गरेको बताइन् । मेफ्टल खाएपछि पीडा त कम हुने तर, दिनरातै निद्रा लाग्ने । लठ्ठ बनाउने उनको अनुभव छ । ‘होस् र बेहोस् थाहा पाउँदिनँ,’ उनले भनिन् ।

जावलाखेलकी सुमना दनुवारको पीडा पनि उस्तै छ । महिनावारी हुँदा ढाड र स्तन दुखेर हिँड्न, बस्न गाह्रो हुने उनको अनुभव छ । पीडा सहन नसकेपछि उनी पनि ‘निम्स’ नामक दुखाइ कम गर्ने औषधि खान्छिन् । उनले डाक्टरको सल्लाहमा औषधि खाएकी होइनन् । ‘साथीहरूलाई यही औषधिले सन्चो हुन्छ रे, त्यसैले मैले नि यही खाएको,’ उनले भनिन् । उनले महिनावारी हुँदा ३ दिन यही औषधि खाएर पीडा भुलाउँछिन् । महिनावारी हुने समय नजिकिँदै जाँदा पीडा हुने डरले मानसिक तनाव हुने उनी सुनाउँछिन् ।

स्त्रीरोग विशेषज्ञ डा. विमला मल्लका अनुसार महिनावारी पाठेघर खुम्चिने र फुल्ने प्रक्रिया हो, त्यसैले कसैलाई महिनावारीको समयमा पीडा हुन्छ, कसैलाई कम, कसैलाई धेरै । कतिपय महिलामा बढी दुखाइ भएमा बच्चा नहुने भ्रम हुने गरेको उल्लेख गर्दै उनले त्यस्तो भ्रममा नपर्न आग्रह गरिन् ।

पीडा कम गर्ने नाममा जथाभावी दुखाइ कम गर्ने औषधि सेवन गर्न नहुने डा. मल्लको सुझाव छ । महिनावारी हुँदा औषधिलाई मात्रै पीडा कम गर्ने विकल्पका रूपमा लिन नहुने उनले बताइन् । ‘एउटासम्म ठीकै हो, दैनिक ३ वटासम्म दुखाइ कम गर्ने औषधि सेवनले नकारात्मक असर र्पुयाउँछ, दीर्घकालीन रूपमा त यसले किड्नी नै फेल गराइदिन सक्छ,’ उनले भनिन् । अझ ग्यास्ट्रिक हुनेले त यस्ता औषधि सेवन गर्नै नहुने उनी सुझाउँछिन् ।

औषधिलाई विकल्प बनाउनुभन्दा पनि दैनिकीमा परिवर्तन गर्न सके महिनावारी पीडा कम हुन मद्दत र्पुयाउने उनले बताइन् । दैनिक हल्काफुल्का शारीरिक व्यायाम, हरियो सागपात र सकारात्मक सोच अपनाउँदा पीडा कम हुन सक्छ । ‘समयमै विवाह गर्नु र सन्तान जन्माउनु पनि उपाय हो,’ उनले भनिन् ।

महिनावारी हुँदा पीडा कम गर्ने औषधि खानुपूर्व र खान थालेपछि नियमित स्वास्थ्य परीक्षण गराइरहनुपर्ने उनको सुझाव छ । सकेसम्म डाक्टरको सल्लाह लिएर औषधि खानुपर्छ । सल्लाहबिनै औषधि खानेहरू किड्नी, कलेजो, रगत र पाठेघरसम्बन्धी रोग लिएर आउने गरेको मल्लले सुनाइन् । महिनावारीमा धेरै पीडा हुनेले अमिलो–पिरो, गुलियो, नुनिलो, चाउचाउजस्ता बजारिया खानेकुरा खान नहुने स्त्रीरोग विशेषज्ञहरू सुझाउँछन् । 


(आजको कान्तिपुर दनैनिकमा फातिमा बानुले लेखेको समाचार)
 

Last modified on 2017-06-19 16:21:21

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts