बिच्छीको टोकाइले मृत्युसमेत हुन सक्छ
काठमाडौंँ, २१ फागुन । गर्मीयाम सुरु भएसँगै विभिन्न किरा फट्ङग्राहरु आफ्नो घरबाट बाहिर निस्कन थाल्छ । गर्मीयाममा निस्कने किरा फट्ङग्राहरुमध्ये बिच्छी पनि एक हो । जुन निकै नै खतरनाक किरा हो । बिच्छीको टोकाइले हाम्रो ज्यान समेत जान सक्छ । बिच्छीले टोक्दा हामी अझैँ पनि धामी, झाँक्रीकहाँ जाने, झारफुकमा विश्वास गर्छौं । तर यस्तो विश्वासका कारण टोकाइबाट पीडितको मृत्युसमेत हुने गर्छ । बिच्छी टोकाइले प्रभावितहरूलाई समयमै स्वास्थ्य केन्द्र लिएर जान सके मृत्युको जोखिम कम हुन्छ ।
पहाड, मधेस आदि ठाउँमा गर्मीयाममा बढी मात्रामा बिच्छीले टोक्ने गर्छ । यस मौसममा बिच्छी लुकेको ठाउँबाट बाहिर निस्किने भएकोले टोकाइ बढ्ने गरेको हो ।
मुलुकमा बर्से्नि हुने बिच्छीको टोकाइबारे कुनै विशेष अध्ययन भने भएको छैन । इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका डा.गुणनिधि शर्माका अनुसार सरकारी स्वास्थ्य निकायमा बिच्छी टोकाइको यकिन तथ्यांक छैन ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को अनुमानअनुसार, बर्से्नि करिब १ करोड २० लाखभन्दा बढी व्यक्ति कुकुर, सर्प र बिच्छीको टोकाइमा पर्ने गरेका छन् । तर बिच्छीकै टोकाइमा पर्ने गरेकाहरूको संख्या छुट्टै आँकलन गरिएको छैन ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा बिच्छीको टोकाइबाट प्रभावित भएर उपचारका लागि आउनेहरूमध्ये केहीको मृत्युसमेत भइसकेको छ । प्रतिष्ठानका डा.अरुणकुमार सिंहका अनुसार मृतकहरूको तथ्यांक अद्यावधिक नरहे पनि यस्ता बिरामीहरू धेरै ढिलो उपचार प्रक्रियामा आएकाले मृत्यु भएको हो ।
बिच्छीको विषको प्रभाव टोकेको स्थानमा निर्भर गर्छ । बिच्छीको टोकाइलाई सामान्य रूपमा लिनु हुँदैन ।
बिच्छीको विषले मुख्यतस् स्नायु प्रणाली र मुटुमा असर गर्छ । धेरैजसो बिच्छीको टोकाइले २४ घन्टाभित्र मृत्यु हुने औंल्याउँदै त्रिवि शिक्षण अस्पताल, जेनरल प्राक्टिस र इमर्जेन्सी मेडिसिन विभागका प्रमुख प्रा.डा. प्रतापनारायण प्रसाद भन्छन्, ‘बिच्छीको विषले गर्दा मुटुले श्वासप्रश्वास प्रणालीमा काम गर्न छाडेर मृत्यु हुने गर्छ ।’
उनका अनुसार बिच्छीको टोकाइबाट मृत्यु हुनेमा करिब २५ प्रतिशत ५ वर्षमुनिका बालबालिका बिनाउपचार नै मृत्यु हुने जोखिममा रहने र करिब एक प्रतिशत वयस्कको मृत्यु हुने जोखिम हुन्छ ।
बिच्छीको पुच्छरमा विषाक्त काँडा हुन्छ । यसले पुच्छरकै माध्यमले डस्ने गर्छ । बिच्छीले डस्दा आफ्नो पुच्छरमा भएको विषाक्त काँडालाई मान्छेको शरीरमा छोड्छ । यो काँडाले मासुमा स्थानीय रूपमा विषाक्तता उत्पन्न गर्छ ।
बिच्छीको डसाइपछि धेरै बढी दुखाइ उत्पन्न हुन्छ । उपचार नगर्दा डसाइ भएको ठाउको मासु मर्छ, सुक्छ ।
यो विष छालामा गएर स्नायुलाई समेत प्रभावित गर्ने औंल्याउँदै डा. प्रताप भन्छन्, ‘उपचार नगर्दा पछि गएर यसको विष मुटुमा पुगी त्यहाँ सुन्निने (कार्डियासिस) हुन सक्छ ।’
यसमा धेरै बढी सुन्नाइ र मुटु कमजोर हुने हुनाले फोक्सोबाट रक्तश्राव हुन सक्छ । बिच्छीले डसेको केही समयपछि नाडीको धड्कन गति ढिलो हुन सक्छ, रक्तचापसमेत कम हुन सक्छ । छातीमा दुखाइ, मुखबाट पानी आउन सक्छ । यो स्नायु प्रणाली प्रभावित भएर हुने हो ।
बिच्छीको विषको प्रभावले मुटुमा सुन्नाइ उत्पन्न भए मृत्युसमेत हुन सक्छ । तर ‘कार्डाइटिस’ भनिने यो अवस्था पाँच–सात दिनसम्ममा आउन सक्छ ।
प्राथमिक उपचार
बिच्छीले डसेको ठाउँमा आफ्नो पुच्छरमा भएको विषाक्त काँडालाई छोड्ने गर्छ । यही काँडाले शरीरमा विषाक्तता प्रभाव उत्पन्न गराउने भएकोले सम्भव भएसम्म ठूलो पार्ने सिसा (म्याग्नेफाइङ ग्लास) को सहयोगले त्यो काँडा हटाउनुपर्छ ।
काँडा हटाउँदा नै करिब आधा जति दुखाइ कम हुने औंल्याउँदै डा. प्रताप भन्छन्, ‘स्प्रिट स्वाव (स्प्रिटमा भिजाइएको रुवा) ले डसेको ठाउँमा राम्ररी सफा गर्नुस् ।’
डसाइ भएको स्थानलाई स्प्रिट स्वावले सफा गर्दा बिच्छीको काँडासमेत निस्किन सक्ने सम्भावना हुन्छ भने यसले छालामा देखिन सक्ने समस्यालाई समेत कम गर्छ ।
बिच्छीले डसेको ठाउँमा नाइट्रोग्लिसरिन मलनको करिब दुई इन्च चौडा र दुई इन्च लम्बाइमा लेप लगाउनाले विषको विस्तारलाई रोक्न सकिन्छ ।
बिच्छीले टोक्दा स्वास्थ्यकर्मीहरूले बिरामीको अवस्था हेरेर ‘एन्टी हिस्टामिनिक’ सुईसमेत दिन सक्ने औंल्याउँदै डा. प्रताप औंला आदिमा बिच्छीले टोकेको छ भने दुखाइ कम गर्न डसेको ठाउँमा लठ्ठ पार्ने ‘जाइलोकेन’, सुईसमेत लगाउन सकिने बताउँछन् ।
यस्तै दुखाइ कम गर्न उमेरअनुसार मात्रा निर्धारण गरेर इबुब्रफेन वा पारासिटामोलको चक्कीसमेत दिन सकिन्छ ।
बिच्छीको टोकाइबाट प्रभावित भएकाहरूलाई प्रशस्त मात्रामा ओरल रिहाइड्रेसन साल्ट (जीवनजल) सेवन गराउनुपर्छ ।
लक्षण
♦ डसेको स्थानमा दुखाइ
♦ दुखाइ माथितर्फ गइरहेको अनुभव हुनु
♦ डसेको स्थान सुन्निनु
♦ डसेको स्थानमा संवेदनशीलता बढ्नु
♦ डसेको स्थान रातो हुनु
(आजको कान्तिपुर दैनिकमा अतुल मिश्रले लेखेको समाचार)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>