ध्वनी प्रदुषणले निम्याउँछ समस्या
औद्योगिकीकरण या पेसागत कारणले लामो अवधिसम्म चर्को आवाज (श्रवण प्रक्रिया या पद्धतिलाई नकारात्मक असर पार्ने) को सम्पर्कमा रहँदा उत्पन्न हुनसक्ने सुस्त श्रवण या बहिरोपन विश्वव्यापी समस्या हो । त्यसैगरी चर्को या असुरक्षित आवाजसहितको मनोरञ्जनात्मक क्रियाकलाप पनि सुनाइमा हानिकारक हुन सक्छन् । मोबाइल, फोन, संगीत आदिजस्ता विद्युतीय श्रव्य साधनहरूको अत्यधिक प्रयोगबाट पनि विश्वमा करिब एक अर्बभन्दा बढीको सुनाइमा असर पर्ने खतरा छ भन्ने अनुमान विश्व स्वास्थ संगठनको छ ।
अनियन्त्रित र बढ्दो सहरीकरणसँगै बढ्दो जनसंख्या र सवारी साधनको चापले पनि ध्वनि प्रदूषण (असुरक्षित, अप्राकृतिक, चर्को र झिँजो लाग्ने) बढ्दैछ । लामो समयसम्म असुरक्षित ध्वनिको सम्पर्कमा रहेर होस् या एकैपटक ठूलो विस्फोटक आवाजको कारणले होस् श्रवण शक्तिमा ह्रास हुनसक्ने तथ्य प्रमाणित भइसकेको छ ।
माओवादी ‘जनयुद्ध’ मा विस्फोटक आवाजका कारणले सदाका लागि सुन्ने शक्ति गुमाउने माओवादी सेना या सरकारी सुरक्षाकर्मीहरू धेरै छन् । केही श्रवण यन्त्रको प्रयोग गर्न बाध्य छन् । आवाजको मापन डेसिबलमा हुन्छ । व्यक्तिपिच्छे फरक भए पनि सामान्यतया कुराकानीको आवाज ४०–६० डेसिबलसम्मको हुने गर्छ भने दैनिक रूपमा लामो समयसम्म ८० डेसिबलभन्दा ठूलो आवाजको सम्पर्कमा रहँदा यसले श्रवण शक्तिमा (सूक्ष्म कोषलाई क्षति र्पुयाएर या प्रतिकुल रासायनिक प्रतिक्रिया उत्पन्न गरेर) ह्रास र्पुयाउँछ । ख्याल रहोस् मोटरसाइकलबाट साइलेन्सर निकालेकाले पछि अझै बढी ९५ डेसिबल, व्यस्त ट्राफिक हुने ठाउँबाट ८५ डेसिबल, कारको हर्नबाट १ सय डेसिबल, चर्को आवाजसहितको कन्सर्टबाट १ सय १५ डेसिबल आवाज निस्कन्छ जुन श्रवण शक्तिका लागि हानिकारक छ ।
सबैभन्दा उदेकलाग्दो त ट्राफिक जामका बेला हुन्छ । खाली ठाउँ कत्ति पनि नहुँदासमेत सवारीसाधनले बेअर्थ चर्को आवाजसहितको टीं–टीं हर्न बजाउँछन् । त्यस्तो क्रियाकलापले जाम त घटाउँदैन, घटाउँदैन उल्टै श्रवण शक्तिमा समेत नकारात्मक असर पार्छ । ध्वनि प्रदूषणले सुनाइमा मात्रै असर पार्दैन यसले अन्य शारीरिक, मनोवैज्ञानिक र सामाजिक स्थितिमा समेत नकारात्मक प्रभाव पार्छ । चर्को या प्रदूषित आवाजले चिडचिढापन उत्पन्न गराउनुका साथै मुटु या रक्तप्रवाहमा पनि नकारात्मक असर पर्छ ।
बच्चाहरूलाई त चर्को आवाजले झनै नकारात्मक असर पर्नसक्छ । उनीहरूको वृद्धि र विकासमा नकारात्मक असर पर्नुका साथै नकारात्मक मनोवैज्ञानिक र शारीरिक असर पर्न सक्छ ।
वृद्धवृद्धा, मधुमेहका रोगीलाई ध्वनि प्रदूषणले झनै नकारात्मक असर पर्न सक्छ , छिटै बहिरो बनाउन पनि सक्छ । चर्को आवाजले सडक सुरक्षामा पनि नकारात्मक असर पर्न सक्छ । पैदल यात्री, साइकल यात्रीलाई सडकमा उत्पन्न चर्को आवाजले असहज पैदा गर्छ ।
चर्को आवाजले उत्पन्न हुने बहिरोपन स्थायी हुने सम्भावना हुन्छ र त्यसको उपचार सम्भव पनि नहुन सक्छ । तर, चर्को आवाजबाट सिर्जित बहिरोपनबाट व्यक्तिलाई बचाउन सकिन्छ । नेपालमा १६ प्रतिशत मानिस कुनै न कुनै प्रकारको बहिरोपनबाट पीडित रहेको र बहिरोपनका ५० प्रतिशत कारणको रोकथाम गर्न सकिने अनुमान गरिएको छ । त्यसैले बचावटका उपाय अपनाएर बहिरोपन या ध्वनि पदूषणबाट सिर्जित हुनसक्ने समस्याबाट जोगिन सकिन्छ ।
राजधानीमा उत्पन्न ध्वनि प्रदूषण हटाउन आवश्यक कदम चाल्नु त परै जावस् सडकको स्थिति र सवारीसाधनको गुणस्तरलाई ध्यान नदिई सवारी साधनहरू थप्ने, महँगा, विशाल, इन्धन र आवाजका हिसाबले नकारात्मक रहेका सरकारी सवारी साधनहरूको उपयोग गर्नेजस्ता प्रवृत्तिले समस्या पैदा गरेका छन् । भीआपीहरूका सवारी साधनले निकाल्ने अत्यधिक ध्वनिको विकल्प सोच्न पनि आवश्यक भइसकको छ । कानको उचित स्याहार र समयमै उपचारको अलावा ध्वनि पदूषणबाट पनि बचाउन सके बहिरोपनलाई रोकथाम गर्न सकिने तथ्य प्रमाणित भइसकेको छ । मनोरञ्जनात्मक एवं सामाजिक अवसरमा पनि ठूलो आवाज घन्काउन सचेत हुनुपर्छ । सबैभन्दा बढी चाप रहेको रत्नपार्क, टुँडिखेल नजिक वीर, ट्रमा मात्रै होइन विशाल सैनिक अस्पताल निर्माणाधीन छ । रत्नपार्कको खुलामञ्चमा अस्पतालतिरै मुख फर्काइएका लाउडस्पिकरहरूसहित चर्का भाषण कार्यक्रम आयोजित हुने गर्छन् । यिनको नकारात्मक असरबारे सम्बन्धितहरू संवेदनशील हुनैपर्छ । सैनिक खुलामञ्चमा पनि ठूल्ठूला विस्फोटक आवाजसहितका कार्यक्रम नराख्न सम्भव हुन्छ कि ? सम्बन्धितहरूले ध्यान दिनुपर्ने आवश्यकता छ ।
ध्वनिको परिमाण नाप्ने र नियन्त्रण गर्ने व्यवस्था हुनुपर्छ । मानवीय कारणले सिर्जित ध्वनि प्रदूषणले उत्पन्न बहिरोपनबाट पीडितहरूले क्षतिपूर्ति पाउने व्यवस्था हुनुपर्छ । सरकारी स्तरबाट बहिरोपनको रोकथामका लागि आवश्यक प्रयास नहुनु विडम्बना हो । अब सरकार र विश्व स्वास्थ्य संगठनको पनि यतातर्फ ध्यान जानुपर्छ । मार्च ३ मा मनाइने विश्व श्रवण दिवसमा यसपटक विश्व स्वास्थ्य संगठनले ‘बहिरोपनका लागि राज्यको लगानी’ भन्ने मान्यता अघि सारको छ ।
(आजको कान्तिपुर दैनिकबाट)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>