नमुना स्वास्थ्यचौकी सुनसान
बझाङ, १५ फागुन । दुई वर्षअघिसम्म सुनिकोट स्वास्थ्य चौकीको माहोल नै बेग्लै हुन्थ्यो । वरिपरि सफासुग्घर वातावरण, ढकमक्क फूलबारी अनि व्यवस्थित बस्ने ठाउँ ।
गाविस स्तरको स्वास्थ्य चौकी भए पनि यहाँ बिरामीको चाप भने जिल्ला अस्पतालको जति नै हुन्थ्यो । सुनिकोट आसपासका धमेना, रिलु, मेलबिसौना, दाँतोला गाविसका बिरामी पनि यहाँ आउँथे । सरकारले पनि सुनिकोट स्वास्थ्य चौकीलाई नेपालकै नमुना स्वास्थ्य चौकी भनी पुरस्कृत गरेको थियो ।
‘बिरामीसँग आउने आफन्तको भीडभाडले सुनिकोट बजारको चहलपहल नै अर्कै हुन्थ्यो,’ स्थानीय सरस्वती थापाले भनिन्, ‘त्यतिबेला स्वास्थ्य चौकीले सुनिकोट गाविसकै सान बढाएको थियो ।’ विभिन्न जिल्लाका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी पनि यहाँको व्यवस्थापनबारे बुझ्न आउने गर्थे, उनले सुनाइन् ।
झन्डै १० वर्ष काम गरेर देशकै नमुना स्वास्थ्य चौकी बनाउन सफल तत्कालीन इन्चार्ज केशव भट्टराई यहाँबाट गएपछि स्वास्थ्य चौकी सुनसान जस्तै बनेको छ । सबै संरचना पनि लथालिंग अवस्थामा छन् । ‘झट्ट हेर्दा मान्छे बस्न छाडेको घर जस्तो देखिन्छ,’ सुनिकोट स्वास्थ्य चौकीका इन्चार्ज राजु विकले भने, ‘अहिले दैनिक मुस्किलले ८र१० जना बिरामी मात्र आउने गरेका छन् ।’
‘त्यसबेला जिल्ला अस्पतालमा पनि गुणस्तरीय सेवा थिएन । अहेवले बिरामी हेर्थे, त्यसैले त्यहाँ निको नभएका बिरामी पनि यता आउने गर्थे,’ विकले भने, ‘अहिले जिल्ला अस्पतालले विशेषज्ञसहितको सेवा दिइरहेको छ । अन्य गाउँका स्वास्थ्य संस्थाले पनि राम्रो सेवा दिएका कारण यहाँ बिरामीको चाप घटेको हो ।’
स्वास्थ्य चौकीको साख जोगाउन पनि यो संस्थालाई सहयोग गर्न तयार रहेको जिल्ला स्वास्थ्य प्रमुख डा. विष्णु खतिवडाले बताए । ‘कतिपय कुरा त व्यक्तिको कार्यशैलीमा पनि भर पर्छ,’ उनले भने, ‘विगतका जस्ता प्रतिबद्ध र लगनशील स्वास्थ्यकर्मी पाउन गाह्रो छ । तर, जिल्लाकै सानका रूपमा रहेको संस्थाको गरिमा घट्न नदिन लागिपरेका छौं ।’
(आजको कान्तिपुर दैनिकमा समाचार छ)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>