अनुपर्युक्त जुत्ताचप्पलले निम्त्याउँछ समस्या
‘विभिन्न अध्ययनले करिव ८८ प्रतिशत महिला गलत साइजका जुत्ताचप्पल लगाउँदा समस्यामा पर्ने गरेको देखाएका छन्’ ।
खासमा जुत्ताचप्पल खुट्टाको सुरक्षाका लागि लगाइन्छ । सौन्दर्य दोस्रो प्राथमिकतामा पर्छ । जुत्ताचप्पलले सबैभन्दा पहिले तपाईं हाम्रो हिँडाइलाई प्रभावित पार्छ । जुत्ताचप्पलका कारण खुट्टाको बनावट परिवर्तन पनि हुन सक्छ ।
जुत्ताचप्पल साइजमा ठिक्कका, उपयुक्त भए त गजब भइहाल्यो, अनुपयुक्त र अनफिट हुँदाचाहिँ समस्या उत्पन्न हुन सक्छ । खुट्टाका औँलाका बीचमा फंगल संक्रमण, कमर, घँुडा र नली खुट्टामा दुखाइलगायत हुन सक्छ । तर, अनफिट जुत्ताचप्पलका कारण हुने समस्या यतिमै रोकिँदैन । ‘गर्दनको हाड दुख्ने (स्पोन्डुलाइटिस), ढाड खिइनेजस्ता समस्यासमेत देखिन सक्छ,’ हाडजोर्नी विशेषज्ञ डा. गोपेश ठाकुर भन्छन् ।
जुत्ताचप्पलले हाम्रा खुट्टा जोगाउने भइहाले, शरीरको तौल थेग्न पनि सघाउँछन् । उपयुक्त नापका आरामदायी जुत्ताचप्पल लगाउँदा शरीर सन्तुलनमा रहनुका साथै थकाइ पनि अनुभव गर्नुपर्दैन । डा. ठाकुरका अनुसार, जुत्ताचप्पलले शरीरको आफ्नो र आफूमाथि लादिएको अतिरिक्त भारलाइ शारीरिक संरचनामा प्रभाव नपर्ने गरी खुट्टाका पन्जामा विभाजित गरिरहेका हुन्छन् ।
तर यिनै जुत्ताचप्पल खुट्टाका लागि अनुकूल नहुँदा पाइने दुस्ख कम छैन । विज्ञहरूका अनुसार अनुपयुक्त जुत्ताचप्पलले खुट्टाको बूढीऔँला सुन्निने, मांसग्रन्थी बढ्ने, खुट्टाका औंला स्थायी रूपमा तलतिर खुम्चिने वा फर्किने (हयामर टो), ससाना हाड भाँचिने, मांशपेसी खुम्चिने जस्ता समस्या समेत हुन सक्छन् । खुट्टा ठूला भएकाहरूले कस्सिएका जुत्ता बूढीऔँलाको जोर्नीको हाड बढ्ने, हयामर टो हुने सम्भावना हुन्छ ।
जुत्ता अनुपयुक्त हुँदा कसैकसैलाई खुट्टाका औंलाछेउ दुख्ने हुन्छ । मेटाटार्से्ल्जिया भनिने यो समस्यामा पन्जाको अगाडिको खण्ड सामान्यको दाँजोमा बढी चौडा हुन्छ, औंला पनि भित्रतर्फ मोडिएको हुन्छ । यस्तो भएका बेला कहिलेकाहीं औंलामा घाउसमेत हुन्छ ।
डा. ठाकुरका अनुसार, खुट्टाका पन्जा चौडा भएकाहरूले चौडै मुख भएका जुत्ता लगाउने गर्नुपर्छ । पन्जा साना भएकाहरूले फिट हुने जुत्ता मात्र पहिरिनुपर्छ ।
जुत्ताचप्पल फेसनअनुसारको भन्दा पनि खुट्टाको आकारअनुरूपको किन्नु स्वास्थ्यका लागि उपयुक्त हुन्छ । आफ्ना खुट्टाको ख्याल नगरी फेसनको नाममा जस्तोसुकै जुत्ताचप्पल लगाउने गर्दा पछि आफैँले दुस्ख बेसाउनुपर्छ । व्यक्तिविशेषका खुट्टाको आकार फरक भएजस्तै आवश्यकता पनि भिन्न हुने औंल्याउँदै डा. ठाकुर भन्छन्, ‘यसैले तपाईंका साथीभाइको लागि उपयुक्त भएका जुत्ता तपाईंलाई अनुपयुक्त हुन सक्छ ।’
कुनै बेलाका लागि उपयुक्त ठानेर किनिएका जुत्ताचप्पल केही समयको उपयोगपछि त्यो विशेषताविहीन हुने गर्छन् । यसैले समयसमयमा जुत्ताचप्पल फेर्नुपर्छ । सामान्यत ः ६ महिनादेखि एक वर्षसम्म लगाइसकेपछि जुत्ताचप्पल फेर्नुपर्ने डा. ठाकुर सुझाउँछन् । जुत्ताचप्पल कहीं च्यातिए वा कुनै प्रकारको असामान्यता हुन थाले तुरुन्त परिवर्तन गर्नुपर्छ ।
‘जुत्ता कस्ता हुनुपर्छ भने, आफूले जुत्तालाई बोकिरहे जस्तो अनुभूति हुनु भएन,’ वरिष्ठ हाड जोर्नी विशेषज्ञ डा. रामकेवल साह भन्छन्, ‘जुत्ता लगाउँदा खुट्टामा अनावश्यक दबाब पर्नुहुन्न । जुत्ताको भित्री भागमा गद्दाजस्तो हुनुपर्छ, नरम । त्यस्तो गद्दा जुत्ताको कुर्कुच्चातिर सबैभन्दा बढी हुनुपर्छ ।’
सामान्यत ः जुत्ता बढी कस्सिएको वा बढी खुकुलोसमेत हुनु हुन्न । जुत्ता खुट्टाको सामान्य आकारसँग मिल्ने खालको हुनुपर्छ । खुट्टाको आकार परिवर्तन गर्ने वा दबाब बढी दिने खालका जुत्ता लगाउनु हुन्न ।
‘जुत्ताभित्र तपाईंका आंैला, जोर्नीहरू पूरै चल्न पाउनुपर्छ,’ डा. साह भन्छन् ।
( आजको कान्तिपुर दैनिकामा अतुल मिश्रले लेखेको समाचार)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>