निःशुल्क स्वास्थ्य सेवा माग गर्दै धर्ना
कालिकोट, १० फागुन । सरकारले घोषणा गरेको निःशुल्क स्वास्थ्यसेवा जिल्लाका कुनै पनि स्वास्थ्यसंस्थाले प्रभावकारी रुपमा उपलब्ध गराउन नसकेपछि स्थानीय रुष्ट छन् । ताडीका बासिन्दाले जिल्ला प्रशासन र स्वास्थ्य कार्यालय घेराउ गरे । जिल्ला अस्पतालसहित गाउँसम्मका स्वास्थ्य संस्थाबाट दिइने स्वास्थ्य सेवा गुणस्तरीय र निःशुल्क नरहेको उनीहरूको भनाइ छ ।
सरकारले जिल्ला अस्पतालबाट ७०, प्राथमिक स्वास्थ्य केन्द्रबाट ४२ र स्वास्थ्य चौकीबाट ३२ प्रकारका औषधि निःशुल्क दिने प्रावधान राखे पनि कालिकोटबासीले पाएका छैनन् । स्वास्थ्य संस्थाले प्रायः बिरामी रिफर गर्ने गरेका छन् । भाँचिएका हातखुट्ट प्लास्टर गर्नसमेत नेपालगन्ज पुग्नुपर्ने बाध्यता छ ।
ताडीस्थित मानवअधिकार संरक्षण समूहमा आबद्ध महिलाको अगुवाइमा आइतबार १ सय ९ जना महिलाले निःशुल्क उपचारसेवा र औषधिको ग्यारेन्ट, बिरामीमैत्री व्यवहार माग गर्दै सदरमुकाम मान्मस्थित जिल्ला प्रशासन कार्यालय र जिल्ला अस्पताल घेरेका हुन् । उनीहरूले प्रजिअ कृष्णबहादुर खड्का र जिल्ला स्वास्थ्यप्रमुख डा. कौशल अलीलाई ध्यानाकर्षणपत्र बुझाए ।
पत्रमा सामान्य चोटपटक लाग्दासमेत घरखेत बेचेर उपचार गर्न सुर्खेत, नेपालगन्ज र काठमाडौं पुग्नुपर्ने बाध्यता रहेको, निःशुल्क दिने भनिएको औषधि कुनै पनि स्वास्थ्य संस्थाबाट नपाएको जनाइएको छ । अगुवा महिला जुना पाण्डेले जिल्ला अस्पतालमा स्वास्थ्यकर्मीबाटै बिरामीलाई दुव्र्यवहार हुने गरेको सुनाइन् । कालिकोटका प्रायजसो स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीले निजी मेडिकल खोलेर स्वास्थ्यसेवालाई व्यापार बनाएको महिलाको गुनासो छ ।
उनीहरूले जिल्लामा विषय विशेषज्ञ चिकित्सक हुनुपर्ने, शल्यक्रिया र रोग निदानका लागि आवश्यक उपकरणको व्यवस्था गरिनुपर्ने, २५ शय्याको जिल्ला अस्पताललाई ५० शय्याको बनाउनुपर्ने, स्वास्थ्यकर्मीलाई निजी औषधि पसल खोल्न रोक लगाउनुपर्ने माग गरेका छन् ।
बिरामीलाई हिंसा, दुव्र्यवहार, घृणा र अपहेलित गर्ने स्वास्थ्यकर्मीलाई कारबाही गर्नुपर्ने, प्रत्येक स्वास्थ्य संस्थामा गुनासो पेटिका र सुनुवाइ संयन्त्र बनाउनुपर्ने माग पनि छ । प्रजिअ खड्काले स्वास्थ्य सेवा सहज बनाउन पहल गर्ने प्रतिबद्धता गरे । जिल्ला स्वास्थ्य प्रमुख डा. अलीले पनि विगतभन्दा स्वस्थ्यसेवा सुधार हुँदै आएको सुनाउँदै थप प्रभावकारी बनाउन आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाए ।
(आजको कान्तिपुर दैनिकमा तुलाराम पाण्डेले लेखेको समाचार)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>