भूकम्पले ढलेका स्वास्थ्य भवन ठडिँदै
सिन्धुपाल्चोक, १० फागुन । भूकम्पले क्षतिग्रस्त जिल्लाका स्वास्थ्य चौकी भवन धमाधम निर्माण हुन थालेका छन् । फुल्पिङकोटमा पक्की भवन बनेको छ । गाउँमै बर्थिङ सेन्टरसहितको भवन बनेपछि स्थानीयलाई राहत पुगेको छ ।
फुल्पिङकोट धुस्कोट तामाङगाउँकी एक सुत्केरीले वर्ष दिन अगाडिको पीडा सम्झदै भनिन्, ‘सुत्केरी हुँदा सालनाल झर्न झन्डै तीन दिन कुर्नुपरेको थियो । समस्या बढेपछि धुलिखेल लगियो ।’
त्यति बेलाको जस्तो समस्या अब छैन । धुलिखेल वा काठमाडौं लानुपर्ने बाध्यता हटेको उनले बताइन् । मांखा जालबारीमा पनि भवन बनिसकेको स्वास्थ्य चौकी इन्चार्ज मुकेशकुमार पोखरेलले बताए । जापानी सहयोगमा भवन निर्माण गरिएको हो । ‘पहिले बिरामीलाई दुई घण्टा यात्रा गरेर खाडीचौर बजार पुग्नुपथ्र्यो,’ उनले भने, ‘अहिले गाउँमै बर्थिङ सेन्टरसहितको स्वास्थ्य चौकी बनेपछि बिरामीलाई सुविधा पुगेको छ ।’
फुल्पिङकोट, मांखा मात्र होइन्, विकट पिस्करमा पनि सुविधायुक्त भवन ठडिएको छ । त्यहाँ स्वास्थ्य चौकी इन्चार्ज अमनराज परियारका अनुसार बिरामीले गाउँमै उपचार पाएपछि धेरै सहज महसुस गरेका छन् ।
गाउँगाउँमै बर्थिङ सेन्टरसहितका पक्की स्वास्थ्य चौकी भवन बन्न थालेपछि दुर्गम भेगका बिरामीलाई राहत मिलेको हो । जिल्लाका विकट गाविसमा ४३ स्वास्थ्य चौकी भवन बनिसकेका छन् । भूकम्पले ५६ स्वास्थ्य चौकी, दुई प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पताल भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए ।
विभिन्न गैरसरकारी संघसंस्थाको सहयोगमा धमाधम स्वास्थ्य चौकी बनिरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
जापान रेडक्रसको सहयोगमा नेपाल रेडक्रसले लागर्चे, सेलाङ, इचोकलगायत १० गाविसमा स्वास्थ्य चौकी भवन निर्माण गरिरहेको छ । वल्र्ड भिजनले ४, अमेरिकी संस्थाले १२ र एमडीएमले १८ स्वास्थ्य चौकी बनाएका हुन् । टीएलसीमा सञ्चालन भइरहेको जिल्ला अस्पताल पुनर्निर्माणको काम चिनियाँ टोलीले थालेको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेको भवन अमेरिकी सहयोगमा बन्न सुरु भइसकेको छ । प्राथमिक स्वास्थ्य केन्द्र जलविरे सरकारी बजेटमा बन्ने भएको छ । ठूलो धादिङमा भने जग्गा अभावले स्वास्थ्य चौकी भवन निर्माण सुरु हुन सकेको छैन ।
संस्था नपुगेका स्थानमा समेत जलविद्युत् आयोजनाले स्वास्थ्य चौकी भवन बनाउन थालेका छन् । मध्यभोटेकोसी जलविद्युत् आयोजनाले मार्मिङमा पक्की स्वास्थ्य चौकी बनाउन थालेको छ । जिल्लाभरका स्वास्थ्य चौकी पुनर्निर्माण तीव्र रूपमा भइरहेको जिल्ला स्वास्थ्य प्रमुख सुरेन्द्र चौरासियाले बताए ।
(आजको कान्तिपुर दैनिकमा अनिश तिवारीले लेखेको समाचार)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>