१२ नबज्दै ओपीडी बन्द
वीरगन्ज। २९ माघ । वीरगन्ज नगवाका नाजिर मियाँ शुक्रबार मध्याह्न नारायणी उपक्षेत्रीय अस्पतालमा चिकित्सक खोज्दै भौंतारिइरहेका थिए । उनको हातमा बिरामी पत्नीको भिडियो एक्सरे रिपोर्ट थियो । चिकित्सक बस्नुपर्ने बहिरंग (ओपीडी) कक्षमा कोही थिएन । पेट दुख्ने समस्याले ग्रस्त पत्नी र छोरी लिएर साढे १० बजे नै अस्पताल पुगेका थिए उनी । टिकट काटेपछि चिकित्सकलाई देखाउँदा भिडियो एक्सरे गर्ने सुझाव पाए । तत्काल एक्सरे रिपोर्ट लिएर फर्कंदा कक्षमा चिकित्सक नै थिएनन् । आजको कान्तिपर दैनिकमा समाचार छ ।
‘रिपोर्ट लिएर प्रसूति विभागको ओपीडी कक्ष पुग्दा चिकित्सक थिएनन्,’ उनले भने, ‘यति छिट्टै जान्छन् भन्ने थाहै थिएन ।’ अघिल्लो साता छोराको भाँच्चिएको हातको प्लास्टर गराएका पर्सा, भेडियारीका हरिन्द्र चौरसिया पनि यस्तै हैरानी खेप्न बाध्य भए । प्लास्टर बिग्रिएको शंका लागेपछि उनी छोरालाई साइकलमा राखेर बिहानै गाउँबाट अस्पतालतिर लागेका थिए । उनलाई पनि चिकित्सकले एक्सरे गराएर आउन सुझाए । तर, उनी रिपोर्ट लिएर फर्कंदा अर्थोपेडिक विभागको ओपीडीमा ताला लागिसकेको थियो ।
सरकारले अस्पताल सुधार्ने क्रममा दैनिक ६ घण्टा ओपीडी खोल्न निर्देशन दिए पनि यहाँका चिकित्सकले पालना गरेका छैनन् । सरकारी चिकित्सकले बिहान ९ देखि दिउँसो ३ बजेसम्म निजी अस्पताल वा क्लिनिकमा काम गर्न नपाउने नियम छ । तर, उपक्षेत्रीय अस्पतालका केही चिकित्सक दिउँसो १ बजेदेखि नै निजी क्लिनिक धाउँछन् । ‘चिकित्सक बिहान साढे १० बजे ओपीडी पुग्छन्,’ अस्पतालका एक कर्मचारीले भने, ‘अनि १२ नबज्दै बन्द गरेर हिँडिहाल्छन् ।’
१२ नबज्दै ओपीडीबाट निस्कने चिकित्सक त्यसपछिको एक घण्टा अस्पतालको मिटिङ हलमा चियागफ गरी बिताउँछन् । केही टाठाबाठा बिरामी रिपोर्ट लिएर मिटिङ हलमै पुग्छन् । कोही हतास हुँदै घर फर्किन्छन् । कोहीचाहिँ दिउँसो चिकित्सकको निजी क्लिनिकमा ४ सयको पुर्जी काटेर रिपोर्ट देखाउँछन् । अस्पताल प्रशासनले चिकित्सकलाई कम्तीमा २ बजेसम्म ओपीडीमा बसिदिन पटक–पटक आग्रह गरेको छ । करिब पाँच महिनाअघि २ बजेसम्म ओपीडी चलाउने भनी आफैंले गरेको लिखित प्रतिबद्धतासमेत उनीहरूले कार्यान्वयनमा ल्याएनन् ।
मध्यतराईकै प्रमुख सरकारी अस्पतालमा पर्सा, बारा, रौतहट र सर्लाहीसम्मका बिरामी आउने गरेका छन् । १ सय ५० शय्या स्वीकृत भए पनि ३ सय ३० शय्या चलाइरहेको अस्पतालले विभिन्न २८ वटा सेवा दिने गरेको छ । ओपीडी टिकट लिने समयसमेत अपायक भएको सेवाग्राहीको गुनासो छ । बिहान साढे ८ देखि साढे ११ बजेसम्म ओपीडी टिकट काट्ने गरिएको छ । तर, गाउँ र अन्य जिल्लाबाट बिरामी अस्पताल पुग्दा टिकट काउन्टर बन्द भइसकेको हुन्छ । दैनिक करिब ८ सय बिरामी आउने गरेका छन् । मुलुककै तेस्रो पुरानो अस्पताल भए पनि सेवास्तर खस्कँदो छ ।
स्वास्थ्य क्षेत्र सुधारका लागि पटकपटक स्थानीय प्रशासनलाई ध्यानाकर्षण गराउँदा पनि सुनवाइ नभएको गुनासो बढ्दो छ । स्वास्थ्यमन्त्री गगन थापाले तोकिएको समयभित्र ओपीडी नबस्नेलाई कारबाही गरिने बताए पनि यहाँ अनुगमनसम्म हुन सकेको छैन । अख्तियार, अनुसन्धान विभाग र प्रशासनले चितवन, जनकपुर, विराटनगर, हेटौंडाका सरकारी अस्पतालझैं यहाँ पनि अनुगमन गर्नुपर्ने स्थानीयको माग छ ।
निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। चित्तरञ्जन साह भने आफू अस्पताल सुधारमा लागिरहेको दाबी गर्छन् । ‘चिकित्सकलाई बढीभन्दा बढी समय ओपीडीमा बसाउन छलफल भइरहेको छ,’ उनले भने, ‘छिट्टै केही सुधार आउनेछ ।’
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>