लमजुङको अस्पतालमा पानीको हाहाकार
लमजुङ २६, माघ । अस्पतालमा पानी ल्याइएको पाइप काटिएपछि जिल्ला अस्पताल लजमुङमा पानीको हाहाकार भएको छ । भौतिक निर्माणका क्रममा पाइप काटिएपछि पानीको आपूर्ति बन्द भएकाले पानीको समस्या भएको अस्पतालका प्रशासन प्रमुख डा. युवराज देवकोटाले बताए ।
६० शैयाको अस्पतालमा दैनिक मागअनुसारको पानीको आपूर्ति हुन नसक्दा समस्या भएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालमा पानीको अभाव भएपछि बिरामी र कुरुवालाई पानी व्यवस्थापन गर्न समस्या भइरहेको छ । पानी अभावमा पुनः प्रयोगमा आउने सामग्रीको सफाइ, बिरामीका लुगा सफा गर्ने तथा शौचालयमा प्रयोग गर्नेलगायतमा समस्या रहेको भन्दै चिकित्सकहरूले नै गुनासो गरेका छन् ।
‘अस्पतालमा दैनिक पाँच हजार लिटर पानीको माग छ,’ प्रशासन प्रमुख देवकोटाले भने, ‘तर, दुई हजार लिटर मात्र पानी उपलब्ध हुन्छ ।’ उनले पनि पानीको अभावमा अस्पताल परिसरभित्रको सरसफाइ प्रभावित भएको बताए । पानी नहुँदा अस्पतालको नियमित कार्य पनि प्रभावित भएको उनले बताए । अस्पतालमा १५ हजार लिटर पानी भण्डारण गर्न सकिने भए पनि त्यसले अपुग हुने उनको भनाइ छ । अस्पतालमा बिरामी कुरुवा रहेकी तनहुँ रुपाकोट–८ की भावना गुरुङले पानीको अभावमा बिरामीको सरसफाइ गर्न गाह्रो भएको बताइन् । पानी नहु“दा शौचालयबाट दुर्गन्ध फैलिएर सास फेर्नै गाह्रो भएको उनको भनाइ छ । जिल्ला अस्पताल लमजुङमा छिमेकी जिल्ला मनाङ, तनहुँ र गोरखाका बिरामीसमेत ल्याइने गरेको छ । अस्पतालमा अहिले स्त्रीरोग सेवा, आङ खस्ने, पाइल्स, हर्निया, एपेन्डिक्स, हाडजोर्नी, शल्यक्रियालगायतका सेवा उपलब्ध छन् । सामुदायिकस्तरमा स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले नेपाल सरकार स्वास्थ्य मन्त्रालयबाट भेन्टिलेटर तथा डिजिटल एक्सरे मेसिन पनि ल्याउने प्रक्रिया अघि बढेको प्रशासन प्रमुख डा. देवकोटाले जानकारी दिए ।
बेँसीसहरमै छैन पानी
जिल्ला अस्पताल लमजुङमा मात्र नभई सदरमुकाम बेँसीसहरमै पनि खानेपानीको समस्या रहेको छ । खानेपानीको धारामा नियमित पानी नआएपछि स्थानीयले नजिकैका कुवा तथा मूलबाट खानेपानीको आवश्यकता पूरा गरिरहेका छन् । बजारमा पानीको माग बर्से्नि बढ्दो रहे पनि खानेपानीको मुहान तथा पानीका स्रोतहरू सुक्दै गएकाले मागअनुसार पानी वितरण गर्न नसकिएको बेँसीसहर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष कृष्णलाल प्रधानले बताए । उनले दीर्घकालीन समाधान हुने गरी विकल्पको खोजी गरिरहेको जानकारी दिए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।