मापदण्डभन्दा ५ गुणा बढी वायु प्रदूषण

नेपालमा प्रतिवर्ष १० हजार ८० को वायु प्रदुषणजन्य रोगका कारण मृत्यु

What's This?


Download our app to get more features

काठमाण्डौं २६ माघ । एक वर्षका ३ सय ६५ दिनमध्ये काठमाडौंमा कति दिन स्वच्छ वायु बहन्छ ? नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले सोमबार गरेको वायु प्रदूषणसम्बन्धी कार्यक्रममा विशेषज्ञले देखाएको तथ्यांकले जिब्रो टोक्नुपर्ने स्थिति बनाएको छ । ‘३ सय ६५ मा २ सय १० दिन त काठमाडौंमा पार्टिकुलर म्याटर (पीएम १०) को मात्रा मापदण्डभन्दा कैयौं गुणा बढी देखिन्छ,’ वायु प्रदूषणले स्वास्थ्यमा पारेको असरबारे अध्ययन गरेका स्वास्थ्य अनुसन्धान परिषद्का डा. खेमबहादुर कार्कीले भने, ‘रौंभन्दा कैयौं साना पीएम २.५ को मात्रा २ सय ७ दिन मापदण्डभन्दा माथि छ ।’

वातावरणविद् भूषण तुलाधर काठमाडौंमा वायु प्रदूषणको मात्रा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले तोकेको मापदण्डभन्दा ५ गुणा बढी देखिएको बताउँछन् । डब्लूएचओले वार्षिक औसत पीएम २.५ को मापदण्ड १० माइक्रोग्राम प्रतिघनमिटर तोकेको छ । सरकारले तोकेको मापदण्डलाई वार्षिक हिसाबले हेर्दा ४९ माइक्रोग्राम प्रतिघनमिटर हुनुपर्छ । तर काठमाडौंमा ३ सय ५० माइक्रोग्राम प्रतिघनमिटरसम्म पीएम १० र पीएम २.५ को मात्रा पुग्ने गरेको छ ।

पीएम १० को मात्रा सरकारले १ सय २० माइक्रोग्राम प्रतिघनमिटर तोकेको छ भने २.५ को ४० माइक्रोग्राम प्रतिघनमिटर मापदण्ड निर्धारण गरेको छ । काठमाडौंका अधिकांश स्थानमा आँखाले देख्नै नसक्ने साना धूलोको कण छ, जुन सीधै फोक्सोमा जान्छ । अहिले सडक खन्ने क्रममा धूलोको मात्रा झन् बढेको विज्ञहरू बताउँछन् ।

डा. कार्कीका अनुसार जाडो महिना मंसिर, पुस र माघमा हानिकारक कण २.५ को मात्रा सबभन्दा अधिक हुने गरेको छ । असारदेखि कात्तिकसम्म भने कम हुन्छ । ‘पानी परेका बेला वायु प्रदूषणको मात्रा ह्वात्तै घट्छ,’ कार्कीले भने, ‘अहिले पाइप बिछ्याउने र सडक विस्तार गर्ने क्रममा पनि कम्तीमा पानी हाल्न सकियो भने ९० प्रतिशत प्रदूषण घट्छ ।’
डब्लूएचओको अध्ययनअनुसार विश्वमा मृत्यु हुनेमध्ये ११.६ प्रतिशत अर्थात् ६५ लाख मानिस वायु प्रदूषणजन्य रोगका कारण मर्ने गरेका छन् । ‘त्यसरी मर्नेमा ९० प्रतिशत मानिस नेपालजस्ता विकासशील देशका हुन्छन्,’ कार्कीले  भने ।

नेपालमा प्रतिलाख ३६ जना अर्थात् वर्षमा १० हजार ८० जनाको वायु प्रदूषणजन्य रोगका कारण मृत्यु हुने गरेको छ । वायु प्रदूषणमा पनि ७२ प्रतिशत मानिस मुटुजन्य रोगका कारण मर्ने गरेका छन् । १४ प्रतिशत दम, खोकी र श्वासप्रश्वासजन्य र १४ प्रतिशत फोक्सोलगायतको क्यान्सरका कारण मृत्यु हुने गरेको छ । नेपालमा वायु प्रदूषणले निम्त्याएका रोगबारे अहिलेसम्म विस्तृत अध्ययन नभएको डा. कार्कीले बताए ।

डा. कार्कीका अनुसार पीएम २.५ प्रति १० माइक्रोग्राम प्रतिघनमिटर बढदा दमखोकीका बिरामी अस्पताल भर्ना हुने दर १.३, निमोनियाका बिरामी भर्ना हुने दर ३.४ प्रतिशतले बढ्ने गरेको देखिन्छ । ‘अस्पतालमा दमखोकीका बिरामी बढी भर्ना भए भने सहरमा प्रदूषण बढ्यो भनेर जाने हुन्छ,’ उनले भने । त्यस्तै, पीएम २.५ को मात्रा बढेसँगै श्वासप्रश्वासजन्य समस्याबाट मृत्यु हुनेको दरसमेत ३.७ प्रतिशतले बढ्छ । पीएम २.५ जस्ता धूलोका कण रौंको प्वालबाट छिर्छन् । त्यसलाई नाङ्गो आँखाले देख्न सकिँदैन ।

डब्लूएचओको पछिल्लो अध्ययनअनुसार विश्वमा हरेक ५ वर्षमा ८ प्रतिशतका दरले वायु प्रदूषण बढेको छ । विश्वमा ९२ प्रतिशत मानिस वायु प्रदूषण भएको ठाउँमा बस्छन् । डब्लूएचओको डाटाबेसमा भएका २९ सय ७३ सहरमध्ये काठमाडौं प्रदूषण (पीएम २.५) का हिसाबले २ सय ६१ औं सहरमा पर्छ । छिमेकी भारतको राजधानी दिल्ली एघारौं र चीनको संघाई २ सय ४० औं नम्बरमा छ । ‘काठमाडौंमा प्रदूषणको मात्रा दिल्ली र बेइजिङ तथा सांघाई जति नभए पनि भविष्यमा यस्तै स्थिति आउन सक्छ,’ वातावरणविद् तुलाधर भन्छन् ।
वायु प्रदूषणको स्रोत
अध्ययनअनुसार वायु प्रदूषणका विभिन्न स्रोतमध्ये ३८ प्रतिशत सवारी साधन नै हुन् । एसियाली सहरहरू बंगलादेश, भारत, इन्डोनेसिया, लाओस, माल्दिभ्सपछि नेपालमा सवारी साधनको आयात बढी छ । कलकारखाना, आगो बाल्दा निस्कने धूवाँ र कोइला प्रयोगबाट निस्कने धूवा पनि वायु प्रदूषणका मुख्य कारक हुन् । काठमाडौंमा परम्परागत इँटाभट्टा कारखाना पनि मुख्य स्रोतभित्र पर्छ । ‘काठमाडौं उपत्यका कचौरा आकारको भएकाले यहाँ उत्पादित धूवाँ, धूलो बाहिर जान सक्दैन,’ वातावरणविद् बालकृष्ण सापकोटाले भने, ‘निकास नहुँदा प्रदूषण यहीं भित्र घुलेर बस्छ, त्यसैले प्रदूषण बढ्छ ।’ सुधारिएका इँटा कारखानाले केही मात्रामा प्रदूषण कम गर्ने विशेषज्ञहरूको दाबी छ ।
तात्यो योजना आयोग
ढिलै भए पनि वायु प्रदूषण नियन्त्रणका लागि राष्ट्रिय योजना आयोगले विशेषज्ञहरूको सहयोग लिएर कार्ययोजना तयार गरेको छ । योजना आयोगमा वन र वातावरण हेर्ने जिम्मेवारी पाएका सदस्य डा. प्रभु बुढाथोकीका अनुसार वातावरण विभागका महानिर्देशक नेतृत्वको कार्यदलले वायु प्रदूषण नियन्त्रण र सुधारका लागि २५ बुँदे कार्ययोजना बनाएर बुझाएको छ । ‘तत्काल र दीर्घकालीन रूपमा गर्नुपर्ने कामको कार्ययोजना विशेषज्ञहरूसहितको कार्यदलले बुझाएको छ,’ उनले भने, ‘कामको प्राथमिकीकरण गर्दैछौं ।’प्राथमिकीकरणपछि सबै सरकारी निकायलाई कार्यान्वयनका लागि कदम चाल्न निर्देशन गर्ने उनले बताए ।
के गर्ने ?
विशेषज्ञहरू विभिन्न खाले प्रदूषणको मात्रा घटाउन सकिए वायु प्रदूषण कम हुने तर्क गर्छन् । ‘अत्यधिक प्रदूषण गर्ने सवारी साधन हटाउन सके केही मात्रामा कम हुन्छ,’ सापकोटाले भने, ‘सडक खन्ने क्रममा पानी हाल्न सके ९० प्रतिशत धूलो नियन्त्रणमा आउँछ ।’ डा.कार्की प्रदूषण नियन्त्रणका लागि राज्यले लगानी बढाउनुपर्ने तर्क गर्छन् । ‘प्रदूषण गर्ने इँटाभट्टालाई राजधानी बाहिर सार्न सकिए नियन्त्रण हुन सक्छ,’ कार्कीले भने, ‘त्यसका निम्ति राजनीतिक इच्छाशक्ति पनि चाहियो ।’ तुलाधर ठूला तथा विद्युतीय सार्वजनिक सवारी साधनमा जोड दिए प्रदूषण नियन्त्रण हुन सक्ने बताउँछन् । त्यस्तै, हरियो स्टिकर प्रणालीलाई पुनः प्रभावकारी बनाएर अनुगमन गर्नुपर्ने उनले बताए । बायुप्रदुषण सम्वन्धि यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

Last modified on 2017-06-29 11:37:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts