बाथ मुटु रोगको उपचार निःशुल्क

What's This?


Download our app to get more features

काठमाण्डौं २५, माघ । सरकारले बाथ मुटु रोग लाग्न नदिन र प्राथमिक चरणमै उपचार गर्न आवश्यक औषधि देशभर निःशुल्क गर्ने भएको छ । यसका लागि स्वास्थ्य मन्त्रालयले आवश्यक गृहकार्यसमेत पूरा गरेको छ । 

यसअघि सरकारले अगामी फागुन १ देखि बाथ मुटु रोगका लागि भल्भ फेर्ने या मर्मत गर्ने शल्यक्रियासहितको उपचार निःशुल्क गर्ने घोषणा गरिसकेको छ । ‘बाथ मुटु रोग भइसकेपछि युवामा देखिने भल्भको मर्मत वा फेर्नुपर्ने समस्याका लागि शल्यक्रियालगायतका उपचार निःशुल्क गरिसकिएको छ,’ स्वास्थ्यमन्त्री गगन थापाले सोमबार भने, ‘समयमै केही रुपैयाँको एन्टिबायोटिक सहितको उपचार गर्दा शल्यक्रियासम्मको स्थिति आउन दिँदैन, त्यही कारण सरकारले फागुन १ देखि नै लागू हुने गरी देशभर एन्टिबायोटिकसहित औषधि निस्शुल्क गर्न लागेको छ ।’

शल्यक्रियामा हुने अत्यधिक लगानीको भार कम गर्नसमेत घाँटीको संक्रमण हुनासाथ एन्टिबायोटिकसहितको उचित उपचारलाई निस्शुल्क गर्न लागिएको जानकारी उनले दिए । ‘बाथ ज्वरोको प्रारम्भिक अवस्थामै उचित उपचारले स्वास्थ्यसम्बन्धी थप जटिलता आउन नदिन सरकारले एन्टिबायोटिकसहितको उपचार निस्शुल्क गरेको हो,’ थापाले भने । 

बाथ मुटु ज्वरोको ‘सुई’ सहित औषधिसमेत फागुन १ देखि गंगालाल राष्ट्रिय ह्दय केन्द्रमा निस्शुल्क सुरु हुनेछ । अरू सरकारी अस्पतालले पनि आफ्नै संसाधनबाट उपलब्ध गराउन सक्ने भए तत्काल निस्शुल्क सेवा सुरु हुनेछ । नसक्ने भए सरकारले केही दिनमै विशेष व्यवस्थासहित सरकारी अस्पतालहरूलाई निस्शुल्क सेवा उपलब्ध गराउन आवश्यक उपकरण उपलब्ध गराउने जानकारीसमेत उनले दिए । यो रोगले मुटुको भल्भ एकपटक बिग्रे शल्यक्रियाबाट मात्र ठीक पार्न वा भल्भ फेर्न सकिन्छ । गंगालालका निर्देशक डा.ज्योतीन्द्र शर्माका अनुसार केन्द्रद्वारा गरिएको एक अध्ययनमा एक हजार स्कुले बालबालिकामा एकदेखि दुई जनासम्मलाई बाथ मुटु रोग लाग्ने गरेको पाइएको छ । उनका अनुसार मुटुको नोक्सान हुनुअगावै यो रोग थाहा पाउनाले र यसपछि २५ वर्षको उमेरसम्म हरेक महिना पेनिसिलिनको सुई लगाउनाले मुटुलाई बढी नोक्सान हुनबाट जोगाउन सकिन्छ । 

स्ट्रेप्टोकोकस ब्याक्टेरिया संक्रमित घाँटीको वा स्कार्लेट ज्वरोको उचित उपचार नहुँदा बाथ मुटुरोग, बाथ ज्वरो लाग्न सक्छ । ब्याक्टेरियाले गर्दा हुने बाथ ज्वरोले गर्दा जोर्नी र मुटुमा असर पर्छ । स्कुल जाने उमेरका अर्थात् ५ देखि १५ वर्षसम्मको उमेर समूहमा यो ज्वरोको असर हुन्छ । 

स्ट्रेप्टोकोकल ब्याक्टेरियाका अनेक प्रजातिमध्ये समूह ‘ए’ नै यो रोगको कारक हो । स्कूले बालबालिकामा यो रोगका कारण सुन्निँदा मुटु स्थायी रूपमा क्षतिग्रस्त हुन सक्छ । हाल एन्टिबायोटिकको उपलब्धताले गर्दा फैरिनजाइटिसको उपचारपछि यो रोगमा कमी देखिएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका बालरोग विशेषज्ञ डा. अरुणकुमार सिंह बताउँछन् । डा. सिंहका अनुसार यो रोग स्ट्रेप्टोकोकल ब्याक्टेरियाबाट हुने घाँटीको संक्रमणको उपचार नगर्दा अथवा पूर्ण उपचार नगरेको केही दिनपछि हुन्छ । यसमा घाँटीमा संक्रमणको समय ज्वरो, घाँटीको टन्सिलमा रातोपना, घाँटीको गिर्खा (लिम्फनोड) ठूलो वा दुख्ने हुन सक्छ । तर यो लक्षण बच्चा वा किशोरमा कहिलेकाहीं धेरै कम वा नहुन पनि सक्छ । प्रारम्भिक संक्रमणपछि बच्चाहरू दुईदेखि तीन सातासम्म सामान्य रहन्छन् । यसपछि ज्वरोसँगै अन्य लक्षण देखिन थाल्छ ।

समूह ‘ए’को स्ट्रैप्टोकोकल संक्रमणमा सामान्य छालाको संक्रमण वा घाँटीको कडा दुखाइदेखि ज्यान जोखिममा पर्न सक्ने अवस्था देखिन सक्छ । डा.सिंहले ५ देखि १५ वर्ष उमेर समूहका बालबालिकामा घाँटी दुख्ने, हल्का ज्वरो आउने, जोर्नीहरू दुख्ने समस्या देखिए बेलैमा चिकित्साकर्मीसमक्ष उपचार गराउन लैजानुपर्ने सल्लाह दिए । आजको कान्तिपुर दैनिकमा छापिएको समाचार अनुसार मुख्य रूपमा घाँटी संक्रमणको समस्या देखिए स्वास्थ्यकर्मीको सल्लाहमा उचित एन्टिबायोटिक वा औषधिसहितको उपचार प्रक्रियामा गए बाथ मुटु रोग लाग्नबाट जोगिन सकिन्छ ।

Last modified on 2017-06-29 11:46:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts