अवैध गर्भधारण र शिशु हत्यामा पुरुष किन निर्दोष ?
काठमाण्डौं २५, माघ । सल्यानकी एक महिलाले आफैंले जन्माएको बच्चालाई तत्काल प्लास्टिकले बेरेर खाल्डो खनी नजिकैको ओडारमुनि गाडिदिइन् । बाख्रा चराउन जाने गोठालाहरूले शिशुको शव देखेपछि प्रहरीलाई खबर गरे । २०६९ असार ४ मा शव भेटिएपछि स्थानीय बासिन्दाको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गर्यो ।
‘नाताले देवर पर्ने स्थानीय स्कुलका शिक्षकले मोबाइल चार्ज गर्ने निहुँमा घरमा आई मलाई जबर्जस्ती गरेको हो । ऊसँग २०६८ साउन र भदौमा गरी मेरो दुईपटक उठबस भएको हो,’ २५ वर्षीया ती महिलाले बयानका क्रममा स्विकारिन् ‘मलाई विवाह गरेर लैजा भन्दा उसले मानेन । सुरुमा नआई कताकता गयो, पुसमा आएपछि नेपालगन्ज गएर मेडिकल गर्दा डाक्टरले गर्भपतन गर्न मिल्दैन भन्यो ।’
उनले आफूले बच्चालाई जन्म दिएको र जन्मिने क्रममा बच्चा नचलेकाले मरेको ठानेर सालनालसहित फालेको बयानमा बताएकी छन् । उनले बयानमा आफूले गल्ती गरेको स्विकार्दै दोषी शिक्षकलाई पनि कारबाही हुनुपर्ने माग राखिन् । मुलुकी ऐनको ज्यानसम्बन्धी महलअनुसार सर्वस्वसहित जन्मकैद हुनुपर्ने ठहर्याएको सल्यान जिल्ला अदालतले ‘लोग्ने विदेशमा रहेको बेला परपुरुषसँग सम्पर्क गरी सामाजिक लोकलाजका कारण बच्चा फालेकाले कैद चर्को हुने ठहर गरी १० वर्ष कैद हुने फैसला गर्यो ।
फैसलाप्रति विमति राखी उनले आफूले नवजात शिशुको हत्या नगरेको र हत्या गरेको प्रमाण पनि प्रहरीले पेस गर्न नसकेको भन्दै ‘बच्चा जन्मेपछि हातगोडा नचलाई मरेजस्तो देखिएकाले फालेको हुँ’ भन्ने दाबी दोहोर्याइन् । पुनरावेदन अदालत तुल्सीपुरले २०७० साउनमा १० वर्ष कैद ‘चर्को पर्न जाने’ ठहर्याई ७ वर्ष कैद फैसला गर्यो । फैसलामा चित्त नबुझाई कडा सजायको माग गरेको प्रहरी र आफू निर्दोष दाबी गरेकी ती महिला दुवै सर्वोच्च अदालत पुगे ।
सर्वोच्च अदालतले पुनरावेदन अदालतकै फैसला सदर गरिदियो । ‘महिलाले शिक्षक र आफ्नो उठबस भएको बताएकी छन् । अवैध गर्भधारणबाट बच्चा जन्मेको देखियो,’ न्यायाधीशहरू गोपाल पराजुली र ओमप्रकाश मिश्रले गरेको फैसलामा भनिएको छ, ‘बच्चा मरेको अवस्थामा जन्मेको थियो भनेर पुष्टि हुने कागजात र देख्ने साक्षीसमेत उपस्थित गराउन सकेको पाइँदैन । अवैध गर्भ र शिशुलाई लुकाउने उद्देश्यका साथ गाडेकाले मरेको शिशु नै जन्मेको थियो भनी पुष्टि हुन सकेको छैन ।’
सर्वोच्च अदालतले हालै पूर्णपाठ तयार पारेको अर्को घटना झनै दारुणिक खालको छ । तनहुँकी एक किशोरीले २०६७ मंसिर २१ को राति ५ महिनाकी छोरीलाई ३ पटक चुम्बन गरिन्, घाँटीमा रुमाल कसिन् र हातले नाक, मुख थुनिदिइन् । घटनाबारे थाहा पाएपछि प्रहरीमा उनीविरुद्ध उजुरी पर्यो । ‘नाताले भाइ पर्नेका कारण मेरो गर्भ रहन गएको हो,’ १७ वर्षीया अविवाहित किशोरीले बयानमा भनेकी छन्, ‘इच्छाविपरीत गर्भधारण भई जन्मेको बच्चाको न्वारान पनि नभएको, बाउ को हो भनी खुलाउन सक्ने अवस्था पनि नभएको र आफू भर्खरै १७ वर्षमा लागेकाले भविष्य पनि अन्धकार हुने सोची बच्चीलाई पन्छाउन उपयुक्त हुने ठानी हत्या गरेकी हुँ ।’
उनले आफूले गर्भवती भएपछि भाइ पर्नेलाई त्यसबारे थाहा दिइन् । सुरुमा ‘मिलाउँछु’ भनेका भाइ र उनको विषयमा गाउँभर हल्ला चलेपछि समाज बसेर घटना मिलायो । उक्त मुद्दामा जिल्ला अदालत तनहुँले २०६९ जेठ महिनामा फैसला गरी १० वर्ष कैद प्रस्ताव गर्यो । ‘सामाजिक तिरस्कारका कारण बाध्य भई आवेशमा छोरीको हत्या गरेको हुँ, कसुर चर्को भयो’ भन्दै उनी पुनरावेदन अदालत पोखरा पुगिन् । पुनरावेदन पोखराले ‘सजाय चर्को पर्न जाने’ भन्दै ७ वर्ष कैद सजाय हुने फैसला गर्यो । सर्वोच्चमा पनि तत्कालीन प्रधानन्यायाधीश रामप्रसाद शाह र न्यायाधीश जगदीश शर्मा पौडेलको इजलासले पुनरावेदनको फैसला सदर गर्यो ।
बाबुबिनाको सन्तानले समाजमा भोग्नुपर्ने समस्या र कठिनाइका कारण कतिपय आमाहरूले ‘कठोर’ निर्णय लिने गरेको बताउँछिन्, समाजशास्त्रकी अध्यापक ज्ञानु छेत्री । ‘शिशुलाई विद्यालयमा भर्ना गर्नेदेखि नागरिकता लिनसमेत कठिनाइ झेल्नुपर्छ,’ छेत्रीले भनिन्, ‘कठिन परिस्थितिको सामना गर्न नसकेर कतिपय महिलाहरू अपराधको स्थितिसम्म पुग्ने गरेका छन् ।’ सन्तानलाई नै काखी च्यापेर आत्महत्या हुने घटनाहरू पनि देखिएको भन्दै उनले पारिवारिक कानुनको परिमार्जनका क्रममा यस्ता समस्या सम्बोधन हुनुपर्ने बताइन् ।
दुवै घटनामा शिशुका बाबुहरूले उन्मुक्ति पाएका छन् । सल्यानको घटनामा महिलाले गर्भवती भएको २ महिनापछि दोषी शिक्षकलाई जानकारी गराएकी थिइन् । नजिकैको स्वास्थ्य चौकीमा देखाउन सल्लाह दिएका शिक्षकले त्यसपछि सम्पर्क्विहीन भई पुसमा मात्रै उनलाई लिएर नेपालगन्ज पुगी स्वास्थ्य परीक्षण गराएका थिए । स्थिति गम्भीर भएपछि शिक्षकले ‘जेसुकै गर’ भनेको महिलाले बयानका क्रममा खुलाएकी छन् । ‘मेरो गल्ती भएकै हो, मेरो जत्तिकै गल्ती भएकाले उसलाई पनि कारबाही हुनुपथ्र्यो’ सल्यानकी महिलाको बयानमा उल्लेख छ ।
हरेक महिना यस्ता फौजदारी मुद्दाको बहस गर्ने सरकारी वकिलहरू अवैध सम्बन्धपछि पुरुषको तुलनामा महिलाले नै चुनौती र कठिनाइको सामना गर्नुपर्ने अवस्था भएकाले त्यसले गलत परिणाम निम्त्याएको बताउँछन् । ‘अवैध सम्बन्धका घटनाहरूपछि सबै चुनौती महिलाले सामना गर्नुपर्दा कतिपयहरू गलत नतिजा हुने काममा अग्रसर हुन्छन्,’ सहन्यायाधिवक्ता रमादेवी पराजुली भन्छिन्, ‘त्यो स्थिति आउनुमा पुरुष जिम्मेवार ठहरिए पनि त्यस्ता फौजदारी घटनामा संलग्नहरू मात्रै कानुनी दायरामा परेका छन् ।’ नेपालकै पारिवारिक कानुनका कतिपय पक्षमा भएका खाडलले पनि सामाजिक प्रतिष्ठाका कारण शिशुको हत्या गर्नेसम्मका घटना भएकाले तिनलाई पनि सम्बोधन गर्नुपर्ने उनले बताइन् । तर हत्यामा संलग्न भेटिएमा पुरुषहरू पनि कानुनी दायरामा आएका छन् ।
तनुहँको हाडनाता जोडिएको घटनामा ‘दुवै पक्ष एकै परिवारको भएको हुँदा’ अपराध लुकाई राखी घरमा नै क्षतिपूर्ति दिलाई किशोरीले बच्चाको स्याहारसुसार गर्दै आएकी थिइन् । ‘मेरै माइला बाबुका छोराले घरमा कोही नभएका बेला मलाई जबर्जस्ती गरी गर्भ बोकाएको हो,’ उनले भनेकी छन्, ‘पछि बताउँदा तिमीले यो कुरा कसैलाई नभन, म व्यवस्था गर्छु भनी उसले भनेको हो ।’
समाजशास्त्रकी अध्यापक छेत्री महिला प्रत्यक्ष संलग्न भएका कारण आपराधिक घटना हुने गरे पनि त्यसको कारकका रूपमा रहेका व्यक्तिलाई जिम्मेवार बनाउन आवश्यक रहेको बताउँछिन् । ‘विषम परिस्थितिमा पुरुषलाई पनि सामाजिक र कानुनी रूपमा जिम्मेवार बनाउन सकेको भए यस्ता घटनाहरू हुँदैनथे होला’ उनले भनिन् ।
अवैध गर्भधारण भएपछि जन्मिने बच्चाको बाबुलाई जिम्मेवारी ठहर्याउने कानुनी व्यवस्था भए पनि सन्तानसहितका आमाहरूले कठोर बाटो रोजेका उदाहरण थुप्रै भेटिन्छन् भनेर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।