देशैभरि पोलियो सुई अभाव, फेरि फर्किनु पर्यो थोपामै
काठमाडौँ, २३ माघ । एक वर्षसम्मका बालबालिकालाई दिइने पोलियो सुई देशैभरि सकिएको छ । दक्षिणपूर्वी एसियामै पहिलोपल्ट करिब साढे दुई वर्षअघि नेपालमा ल्याइएको यो सुई अभावका कारण बीचैमा रोक्नुपरेको छ । पोलियो थोपा खुवाएर ‘पोलियो मुक्त’ राष्ट्र भइसकेपछि अझ प्रभावकारी सुई ल्याइएको थियो । इन्जेक्टेवल इन्याक्टिभेटेड पोलियो भ्याक्सिन (आईपीभी) भनिने यो सुई विदेशी दाताको सहयोगमा ल्याइएको थियो । दातृ निकायले निरन्तर आपूर्ति गर्न नसकेपछि पुनः खुवाउने पोलियोमै फर्किनु परेको हो ।
स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार दक्षिणपूर्वी एसियाको कुनै ‘सहज मुलुक’ खोज्ने क्रममा विदेशी दातृ निकायले नेपाल छानेका थिए । ‘उनीहरूका लागि यसलाई सुरु गरेर देखाउनुपर्ने थियो । सरकारले पनि गतिलै कुरा पाइयो भनेर अध्ययनबिनै हतारमा सुरु र्गयो,’ ती अधिकारीले भने, ‘हामीले यो खोप दिगो रूपमा पाउन सक्छौं कि सक्दैनौं भन्ने बुझ्ने चाहनासम्म राखेनौं ।’
नियमित खोप कार्यक्रमअन्तर्गत यसलाई देशैभरि फैलाइएपछि रोक्नुपर्दा सम्बन्धित अधिकारीहरू निराश देखिन्छन् । सुई खोज्दै अभिभावकहरू स्वास्थ्य संस्था चहारे पनि रित्तै फर्कने गरेका छन् । मुलुकमा यस्तो खोप लिनुपर्ने बालबालिकाको संख्या बर्षेनि सरदर ६ लाख ५० हजार हुन्छ ।
तत्कालीन स्वास्थ्यमन्त्री खगराज अधिकारीले त्रिवि शिक्षण अस्पतालमा तामझामसाथ विशेष समारोहबीच यसको शुभारम्भ गरेका थिए । सुरुमा कपन बस्ने शान्ता र भुवन लिम्बुका तीन महिनाका सन्तानलाई यो सुई लगाएर सुरुवात गरिएको थियो ।
यो सुई हाल विश्वभर कम छ । यस क्षेत्रमा सुरुमा नेपालमा पठाइए पनि अन्तर्रा्ष्ट्रिय स्वास्थ्य एजेन्सीहरूको प्राथमिकतामा पाकिस्तान, अफगानिस्तानलगायत मुलुक परेका छन् । कम मात्रामा उत्पादन भएकाले नेपालले पाउन नसकेको हो । ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इम्युनाइजेसन (गाभी) ले नेपालमा सुरु गर्दा ५ वर्षसम्म न ९ लाख ७५ हजार मात्रा सुई निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो । पोलियोविरुद्घ थप प्रतिरोधात्मक शक्ति दिने भनिएको यो सुई १४ साताको उमेरमा शिशुलाई लगाइन्छ, छुटेको खण्डमा एक वर्ष्भित्र दिन सकिने सरकारले जनाएको थियो । अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार आईपीभी खोप दुई, चार, ६ देखि १८ महिनामा र ४ देखि ६ वर्षमा दिइन्छ । मुलुकअनुसार यो समय फरकसमेत हुन सक्छ ।
‘विश्वव्यापी अभावले गर्दा यो खोप हामीले निरन्तर गर्न नसकेका हौं,’ स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.राजेन्द्र पन्तले भने, ‘उत्पादक गर्ने एक मात्र कम्पनीले अत्यधिक चापका कारण हाललाई दिन नसकिने जनाएको छ । हाम्रो कुनै उपाय लागेन ।’
उनले अर्को वर्ष असोजरकात्तिकमा पाउन सक्ने बताए । सुई नभएकाले मुलुकभर कुनै बालबालिका जोखिममा नरहेको दाबीसमेत उनले गरे । पोलियो थोपा दिने काम भने जारी छ । सुई ‘टाइप–२’ पोलियोका लागिसमेत दिइन्थ्यो । थोपाले त्यसको काम नगरे पनि ‘टाइप–२’ पोलियो हाल संसारमै नरहेको औंल्याउँदै उनले भने, ‘आत्तिनु पर्दैन ।’ सुई नहुँदैमा चिन्ता लिनु नपर्ने डा. रमेशकान्त अधिकारीको पनि कथन छ ।
पोलियो संक्रामक रोग हो । यो पोलियो विषाणुले मुख्य रूपले सानो बच्चामा संक्रमण पार्ने गर्छ । यो संक्रमणले हुने पक्षाघात जीवनभरी निको हुँदैन । बचाउ नै यस रोगको उपाय हो । पोलियोले ५ वर्षमुनिका बालबालिकालाई प्रभावित गर्छ । बिरामीको घाँटी र आन्द्रामा यो रोगका किटाणु रहन्छन् । रोगीको दिसाबाट यो रोगको भाइरस वातावरणमा फैलिन्छ । भाइरसबाट प्रदूषित पानी र खानाका माध्यमले अन्य व्यक्तिमा सर्छ । यो रोग लागेपछि तुरुन्त लुलो, लंगडो, पक्षघातसँगै कहिलेकाहीं मृत्युसमेत हुन सक्छ । यसको संक्रमण हुनबाट जोगाउन पाँच वर्षमुनिका बालबालिकालाई धेरै पटक पोलियो खोप दिनुपर्ने हुन्छ ।
(आजको कान्तिपुर दैनिकमा अतुल मिश्रले लेखेको समाचार)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>