दुधे दाँतलाई हेला नगरौँ
विश्व स्वास्थ्य संगठनले ८० देखि ९० प्रतिशत स्कुले विद्यार्थीमा दाँत खराब भएको र विद्यालयमा अनुस्पथितिको एक नम्बरको कारणमा दाँतको दुखाइ छ भनेको छ । १५ वर्ष पहिले भएको ‘ओरल हेल्थ पाइलट सर्भे’ले बच्चामा उपचार नगरिएको दन्त खराबी कुपोषण ५३ प्रतिशत र भिटामिन ए—को कमी ५८ प्रतिशतभन्दा बढी देखाएको थियो । हालको अवस्था झनै भयानक रहेकोमा कसैको द्विविधा छैन । ७५ जिल्लाकै सहर, गाउँ, हिमाल, पहाड र तराईमा १ हजार ५ सय बढी निशुल्क स्वास्थ्य शिविरमार्फत स्वास्थ्यसेवा र्पुयाउँदा स्वास्थ्य शिविरमा आउने बालबालिकामध्ये अत्यधिक मात्रामा दन्तरोगको सिकायत रहेको पाइयो ।
दन्त समस्या सहर र गाउँमा दुबैतिर उस्तै बढी र भयानक छ । मानिसको जीवनमा दाँत २ पटक आउने धेरैलाई ज्ञात छ । बच्चामा २० वटा र वयष्कमा ३२ वटा दाँत हुने भएकाले बच्चामा ६ वर्षपछि आउने १२ वटा दाँत साटिँदैनन् । दूधको जस्तै सेतो दाँत हुने भएकाले बच्चाको दाँतलाई जनजिब्रोमा दुधेदाँत भनिन्छ ।
दाँतको विकास
मानव भ्रूण ७ हप्ता हुँदा नै दुधेदाँतको विकासक्रम सुरु हुन्छ र क्याल्सिफाइ ४–६ महिनामा सुरु हुन्छ । स्थायी पहिलो बंगारा साह्रो हुने बच्चा जन्मँदा हुन्छ भने दाँतको विकासक्रम मानिसको उमेर १८–२० वर्ष हुँदासम्म भइरहन्छ । सामान्यतया दाँतको विकासक्रम र मुखमा दाँँत देखिने पुरुषमा भन्दा महिलामा पहिले, माथिको भन्दा तलको दाँत पहिले आउने गर्छ । बालक जन्मिएको ६ महिनादेखि दाँत बाहिरी सतह वा मुखमा तलतिरको अघिल्लो दाँत (सेन्ट्रल इन्साइजर) बाट देखापर्न थाल्छ, जसलाई दाँत उम्रेको भनिन्छ । त्यसै क्रममा लगभग हरेक ६–६ महिनामा ३० महिनासम्म ४–४ वटा दाँँत उम्रन्छन् । दुधेदाँँत ३० महिनादेखि ६ वर्षसम्म रहन्छन् र ६ वर्षदेखि दाँँत फेरिने क्रम सुरु भई १३ वर्षसम्म सबै दुधेदाँँत फेरिई वयस्क स्थायी दाँँत आइसक्छन् । गर्भावस्था, स्तनपान र त्यसपछिको आमाको आदत—बानी, औषधीको प्रयोग, एक्सरे, पोषणयुक्त खानाको अभाव, रक्सी—चुरोटको सेवन, बोतल दूधको प्रयोग जस्ताले बच्चाको दन्त्य स्वास्थ्यमा नकारात्मक असर पार्छ । स्तनपानको साटो बोतलबाट दूध खुवाउने गर्दा दाँत टेढोमेढो हुने सम्भावना २ गुणा बढी, दन्तसडन (नर्सिङ बोटल केरिज) सयौं गुणा बढी, औंला चुस्ने, नङ टोक्ने, जिब्रोले दाँत धकेल्ने जस्ता नराम्रा आदत हुने गर्छन् । तसर्थ बच्चा जन्माउने योजना बनाएदेखि नै आमाको खानपान, जीवनशैलीमा ध्यान दिनुपर्छ ।
दाँत उम्रँदा
बच्चामा सबभन्दा पहिलो दाँत आउँदा बालक नसुत्ने, बेचैनी हुने, रुने, कराउनेर्, याल बढी छोड्ने, प्यास बढी लाग्ने, मुखमा दाग, घाउ,र्रयास देखापर्ने, बालकलाई ज्वरो आउने, पखाला लाग्ने, खान नमान्ने र नखाने, वाकवाक लाग्ने, वान्ता हुने, शरीरमा दाग देखापर्ने, हैजा लाग्ने, कन्भल्सन, ब्रोन्काइटिस, टिटानस, रुघाखोकी लाग्ने जस्ता लक्षण देखिने गर्छन् । बालकको दाँँत उम्रने बेलामा गिँजा चिलाउने भएकोले अगाडि जे भेट्यो मुखमा हाल्ने—खाने भएकोले पखाला लाग्ने, ज्वरो आउने जस्ता रोग लाग्न सक्छ । यसबेला उचित हेरचाहको जरुरत पर्छ ।
दाँतको ठूलो शत्रु तथा मुख स्वास्थ्यको ठूलो समस्या दन्तसडन हो । बालबालिकामा गुलियो, प्रशोधित खाद्यपदार्थ, चकलेट, बिस्कुट, क्यान्डी, क्याडबरी, आइसक्रिम जस्ता खाने बढ्दो चलनले दाँतमा किरा लाग्ने समस्या अत्यधिक देखिएको छ । दन्त सडनमा पहिलो चरणमा कालो, खैरो खाल्टो देखिन्छ, जुन इनामेलमा सीमित हुन्छ । दोस्रो चरणमा डेन्टिनमा पुगी असर र्पुयाउँछ, उत्पन्न खाल्टोमा खाना अड्किन्छ, सफा पनि हुँदैन, अम्ल तीव्र रूपले उत्पन्न हुन्छ । खाना अड्कने, सिरिङ–सिरिङ हुने, खाना टोक्दा दुख्ने समस्या देखिन्छ । पछिसम्म पनि उपचार नगरे तेस्रो चरणमा भित्री तह जरा वा पल्पसम्म पुग्छ र दाँत दुख्न सुरु हुन्छ तथा पिप जम्मा हुने, गिँजा सुन्निने दाँत, हल्लिने समस्या हुन्छ ।
दाँँत निकाल्ने समय
फेरिने बेला भए—नभएको, दाँँत हल्लिएको तथा बच्चाको उमेर अनुसार थाहा हुन्छ । फेरिने बेलाको वा हल्लिएको दाँत गाउँघरतिर डोरी, धागो, हात र घरेलु औजारको सहायताले फुकाल्ने चलन छ । प्रयोग गरिएका सामान र निकाल्ने तरिका नमिल्दा एकातिर दाँत भाँच्चिने, जरा रहने डर रहन्छ भने अर्को्तिर निर्मलीकरण नगरिएको र सफा शुद्ध नभएको औजार मुखभित्र प्रयोग गर्दा विभिन्न संक्रामक रोग लाग्ने डर रहन्छ । गिँजा, जिब्रो, ओँठ, गालामा चोटपटक लाग्ने, घाउखटिरा हुने डर हुन्छ ।
दुधे दाँतको महत्त्व
अधिकांश अभिभावक किरा लागेको दुधेदाँत, आफै झर्ने वा फेरिने दाँत भएको हुँदा यसलाई उपचार गर्न, बचाउन आवश्यक ठान्दैनन् र फुकाल्नतिर जोड दिन्छन् । प्रक्रियागत रूपमा दुधेदाँतलाई त्यसको सामान्य आयुसम्म बचाइराख्न जरुरी छ । समय अघि नै दुधेदाँत फुकाल्दा पछि उक्त स्थानमा उम्रने नयाँँ दाँत उम्रन नसक्ने, उम्रे पनि नमिल्ने, उछिट्टिने, मुखको आकृति बिग्रिई झन् ठूलो समस्या आइलाग्न सक्छ ।
दन्त सडनले गाला सुन्निने, गालाभित्र घाउ हुने र दीर्घकालीन संक्रमणले मुखको क्यान्सर, रक्तअल्पता, कुपोषण, कम तौल, खान, सुत्न, पढ्नजस्ता दैनिक क्रियाकलाप समेत गर्न नसक्ने, शारीरिक र मानसिक स्वास्थ्यमा असर पार्न सक्छ ।
दाँतको सरसफाइ
शिशुको जन्म भएदेखि नै गिँजा, मुखको सरसफाइमा ध्यान दिनुपर्छ । जन्मेदेखि २ वर्ष नपुग्दासम्म खाना वा दूध खुवाइसकेपछि भिजेको सफा रुमाल, कपास वा टालोले गिँजा, दाँत पुछिदिने गर्नुपर्छ । सानो टाउको भएको नरम ब्रसमा सानो केराउको दानाजत्रो मात्रामा फ्लोराइडयुक्त मन्जन राख्ने र दाँँतको भित्र—बाहिर र चपाउने भाग ध्यान दिएर विस्तारै माझ्न लगाउने वा सहायता गर्ने र मन्जन निल्न नदिई थुक्न लगाउनुपर्छ । हरेक दिन बिहान खाना खाएपछि र राति सुत्नुअघि दाँँत माझ्ने र अरूबेला गुलियो खानेकुरा खाएपछि पानीले मुख कुल्ला गर्न लगाउनुपर्छ ।
नियमित दन्त परीक्षण बच्चा ३ वर्ष पुगेपछि सुरु गर्नुपर्छ । जसरी नियमित रूपमा हातखुट्टाका नङ, कपाल, लुगाकपडा जस्ता व्यक्तिगत सरसफाइ विद्यालय र घरमा परीक्षण गर्ने गरिन्छ, त्यसैगरी दाँत सफा गरे–नगरेको पनि परीक्षण गर्ने, बीच—बीचमा दन्त परीक्षण गराउन चिकित्सकको सहायता लिँदा बालबालिकाको नराम्रो आदत, लापरबाही र भएका समस्या नियन्त्रण तथा सुरुमै उपचार गर्नमा सुनौलो भूमिका खेल्छ ।
(आजको कान्तिपुर दैनिकबाट)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>