केयुमा एक सातादेखि पठनपाठन ठप्प
काठमाडौँ, १६ माघ । विद्यार्थीको तालाबन्दीका कारण काठमाडौं विश्वविद्यालय (केयू) मा सातादेखि पठनपाठन ठप्प छ । स्थगित भएको विद्यार्थी कल्याण परिषद्को निर्वाचन तत्काल गराउन माग गर्दै नेकपा एमाले समर्थित अनेरास्ववियुले माघ ९ गतेबाट केन्द्रीय विश्वविद्यालय र प्रशासनिक भवनमा ताला लगाएको हो ।
नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) को दबाबमा उपकुलपति डा. रामकण्ठ माकजूको निर्देशनमा चुनाव स्थगित गरेकाले तालाबन्दी गरिएको अनेरास्ववियु विश्वविद्यालय समितिका सचिव पुजन गौतमले जानकारी दिए ।
पुस ८ गते परिषद्को निर्वाचनमा विवाद भएपछि स्थगित गरिएको थियो । फेरि नेविसंघ, अनेरास्ववियु, अखिल (क्रान्तिकारी) लगायत संगठनबीच विवादित प्रतिनिधिबारे माघ १० गते निर्वाचन गर्ने सहमति भएको थियो । तर, माघ ९ गते पुनस् नियुक्त भएका माकजूलाई दबाब दिएर क्रान्तिकारीले निर्वाचन स्थगित गराएको अनेरास्ववियुले आरोप लगाएको छ ।
यसैबीच, उपकुलपति माकजूको नियुक्ति अमान्य रहेको प्राध्यापकले जनाएका छन् । काठमाडौं विश्वविद्यालय प्राध्यापक संघ (कुपा) का अध्यक्ष वेदमणि दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा छनोट समितिले गरेको सिफारिस र नियुक्ति खुला, पारदर्शी र प्रतिस्पर्धात्मक आधारमा नभई व्यक्तिगत स्वार्थका आधारमा गरिएको आरोप लगाइएको छ ।
माकजूले विश्वविद्यालयको मानमर्यादा र प्रतिष्ठा तल्लो स्तरमा र्पुयाई अख्तियार र निजी मेडिकल कलेजको हस्तक्षेपलाई बढावा दिएको उनीहरूले आरोप लगाएका छन् । यसबारे कुलपति र सहकुलपतिलाई जानकारी दिँदासमेत पुनः नियुक्त गरिएकोमा प्राध्यापकको आपत्ति छ ।
(आजको कान्तिपुर दैनिकमा समाचार छ)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>