सडकमै जाँचिन्छन् बिरामी, स्वास्थ्य चौकी भवन अभाव
पर्वत, १६ माघ । चल्तीको सडकमा छिनछिनमा सवारी हुइँकिरहन्छन् । त्यही सडकछेउ सुताइएका छन् बिरामी । हेल्थ असिस्टेन्ट गीता कुँवर उनको स्वास्थ्य परीक्षण गरिरहेकी छन् । सवारीको धुवाँ अनि धुलोको मुस्लो सोझै मुखमा आइपुग्छ । कुँवरले त यस्तो अवस्था वास्ता गर्नै छाडिसकिन्, बिरामीलाई भने धुलोले खपिनसक्नु पारेको प्रस्टै देखिन्छ ।
यो कुनै घुम्ती स्वास्थ्य शिविर होइन, मुडिकुवास्थित स्वास्थ्य चौकी हो । ‘साँघुरा तीन कोठा छन् । स्टोर, ड्रेसिङ र फर्निचर राख्ने ठाउँसम्म छैन,’ कुँवरले भनिन्, ‘पाँच जना स्टाफ बस्नै मिल्दैन । भित्र कसरी बिरामी जाँच्नु ?’स्रोतसाधन नभएकै कारण यो स्वास्थ्य चौकीले चोटपटक लागेका, सुत्केरी र गर्भ परीक्षणका लागि आउनेलाई बाहिरैबाट रिफर गरिदिन्छ ।
सरकारले आर्थिक वर्ष २०७०र७१ देखि मुलुकभरका उपस्वास्थ्य चौकीलाई स्तर वृद्धि गरी स्वास्थ्य चौकी बनाएको थियो । तर, तीन वर्ष बित्दा पनि स्तर वृद्धि गरिएका भनिएका जिल्लाका दुई तिहाइभन्दा बढी स्वास्थ्य चौकीलाई उपलब्ध गराउनुपर्ने सुविधा र स्रोतसाधन कागजमै सीमित छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्यांकअनुसार अहिलेसम्म ३६ वटा स्वास्थ्य चौकी पुरानै गाविस कार्यालय र भाडाका घरमा छन् । तिनमा दरबन्दीअनुसार कर्मचारी र सेवा उपलब्ध छैनन् । जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी ऋषिराम पौडेलका अनुसार ५६ स्वास्थ्य चौकीमा २५ जना हेल्थ असिस्टेन्टको दरबन्दी अझै खाली छ ।
त्यस्तै ४२ जना अनमीको पदपूर्ति हुन सकेको छैन । ‘बर्थिङ सेन्टरका लागि ३ जना अनमी अनिवार्य आवश्यक हुन्छ,’ उनले भने, ‘धेरैजसोमा दुई जना पनि छैनन् । सेवा विस्तार भनेर मात्रै भएन, जनशक्ति र पूर्वाधार मुख्य कुरा हो ।’ चालु वर्षसम्म २५ स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालनमा आए पनि सबैमा चौबिसै घण्टा सेवा दिन नसकिएको उनले बताए ।
जनस्वास्थ्यका प्रशासन अधिकृत पोषनाथ शर्माका अनुसार दरबन्दीका कर्मचारी आउन ढिलाइ भएको बताए । ‘हामीले गत वर्ष नै माग गरी पठाएका हौं,’ उनले भने, ‘अख्तियारमा उजुरी परेर एचएको पदपूर्ति रोकिएको छ । आउँदो फागुनसम्म सबै नभए पनि अधिकांश आपूर्ति हुने आशा छ ।’ २५ हेल्थ असिस्टेन्टसहित २७ अहेव, ४२ अनमी खाली रहेको उनले बताए । त्यस्तै रेडियोग्राफर, ल्याव टेक्निसियन र स्टाफ नर्स एक–एक जनाको दरबन्दी रिक्त छ ।
दरबन्दी भएका स्वास्थ्य चौकीमा पनि भवन र औषधि नहुँदा विस्तारित सेवा प्रयोगमा ल्याउन नसकिएको स्वास्थ्यकर्मी बताउँछन् । ‘उपचार गर्ने ठाउँ छैन । संरचना नै नभएपछि जनशक्तिले मात्रै भएन,’ थापाठाना स्वास्थ्य चौकी इन्चार्ज जनक तिवारीले भने ।
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख फडिन्द्र बरालले सबै पूर्वाधार र जनशक्ति पदपूर्तिको काम अघि बढिरहेको बताए । ‘५ वर्ष्भित्र सबै स्वास्थ्य चौकीका भवन बनिसक्ने र जनशक्ति पनि व्यवस्था गर्ने मन्त्रालयको योजना आएको छ,’ उनले भने, ‘सबैमा प्रक्रिया अघि बढेको छ ।’
(आजको कान्तिपुर दैनिकका लागि अगन्धर तिवारीले लेखेको समाचार)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>