बढ्दै छ असुरक्षीत गर्भपतन



Download our app to get more features

कैलाली, माघ १२ । सरकारले गर्भपतनलाई कानुनी मान्यता दिएको भएपनि सुदूरपश्चिम क्षेत्रमा आफ्नो ज्यान जोखिममा पारी असुरक्षीत गर्भपतन  गराउनेको संख्या बढ्दो रहेको छ ।

सुरक्षीत गर्भपतनको बारेमा चेतनाका कमी तथा सामाजीक अफ्ठ्यारा मान्यताले कैलालीका युवतीहरु लुकिछिपी गर्भपतन गराउने गरेकोले पछिल्लो समयमा असुरक्षीत गर्भपतन गराउनेको संख्या बढ्दै गएको हो ।
विवाहित महिला भन्दा अविवाहित युवतीहरु लुकिछिपी क्लिनिकबाट गर्भपतनको औषधि किनेर असुरक्षीत रुपमा गर्भपतन गर्ने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

पछिल्ला वर्षहरुमा गर्भपतन गराउने विवाहित महिलाहरुजस्तै अविवाहित युवतीहरु पनि आउने गरेको डोटीको दिपायलस्थित नाम नखुलाउने सर्तमा एक निजी मेडिकल सञ्चालकले बताए । ‘कानुनले छुट दिएको छ सुरक्षीतरुपले गर्भपतन गर्न जिल्ला अस्पताल जाउ भन्छौँ तर, युवतीहरु लाजले हामीबाट औषधि लिएर गर्भपतन गर्ने गरेका छन् ।’ उनको भनाइ थियो ।

सुदूर पहाडका डोटी मात्रै नभई अछाम, बाजुरा, बझाङ, डडेल्धुरा, बैतडीलगायत तराईका कैलाली कञ्चनपुरका कतिपय युवतीहरु यौन सम्पर्क गरी विवाह गर्नुपूर्व गर्भाधारण गर्ने गर्छन् । अविवाहित युवतीहरु किशोरावस्थाको ज्यानलाई जोखिममा पारी असुरक्षीत गर्भपतन गर्ने गरेका छन् । यस्ता धेरैजसो गर्भवती युवतीहरु सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा गए आफ्नो गोपनियता भङ्ग हुने डरले स्थानीय औषधि पसलबाट असुरक्षीत गर्भपतन गर्ने गरेको बताइएको छ ।

लुकिछिपी गर्भपतन गराउनेको संख्या पछिल्ला दिनमा बढ्दै गएपछि युवा–युवतीमा यौन सम्पर्क आकर्षण बढेको तर सुरक्षीत यौन सम्पर्कप्रति जनचेतनाको कमी भएको त्यस क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरुको भनाइ छ । विशेषगरी २० वर्ष मुनिका र विद्यालय तथा क्याम्पस पढ्ने अविवाहित युवतीहरुले असुरक्षीत गर्भपतन गर्ने गरेको स्वास्थ्यकर्मीहरुको दावी छ । मेडिकलमा ज्यान जोखिममा राखेर असुरक्षीत गर्भपतन गर्दा अविवाहित युवतीहरुमा बाँझोपन आउन सक्ने, साल पाठेघरमा अड्किने साथै रगत बढी बगेर मृृत्युहुने अवस्था आउने गरेको स्वास्थ्यकर्मीको भनाई छ ।

नेपाल सरकारले गर्भपतनलाई कानुनी मान्यता दिएपनि विवाहित महिलाहरु जिल्ला अस्पतालमा गएर तालिम प्राप्त स्वास्थ्यकर्मीबाट गर्भपतन गराउँछन् भने अविवाहित युवतीहरु लाजले गर्दा अस्पतालमा नआउने गरेको धनगढीस्थित सेती अञ्चल अस्पतालका स्टाफ नर्स उमा केसीले बताइन् । उनले भनिन्, ‘हामीहरु प्नि अविवाहित युवतीको गर्भपतन गराउँदा नाम गोप्य राख्छौँ तर सरकारी अस्पतालमा बढी स्टाफ हुने भएकाले सार्वजनिक हुन्छु भन्ने डरले युवतीहरु अस्पतालभन्दा निजी मेडिकलमा जान्छन् ।’

कैलाली सदरमुकाम धनगढीमा रहेको परिवार नियोजन संघको तथ्याकं अनुसार गर्भपन गराउनेको संख्या पछिल्लो वर्षमा बढ्दै गएको छ । जसमध्ये डेढ/दुई सय जना जति अविवाहित युवती रहने गरेको उल्लेख छ ।
आधुनिक सञ्चारमाध्यमको विकाससँगै युवायुवतीको हातमा मोबाइल र इन्टरनेटको सुविधा भएको हुँदा मोबाइलमा ब्लू फिल्म हेर्ने गर्नाले पनि कलिलै उमेरमा युवायुवतीहरु आफ्नो केटा साथी बनाएर यौन क्रियाकलाप बढाउँदै गएका छन् । जसले यहाँका युवतीहरु लुकिछिपी असुरक्षीत गर्भपतन गराउने दिन प्रतिदिन बढ्दै गएको जानकारहरु बताउँछन् ।


(आजको गोरखापत्र दैनिकमा समाचार छ)

 

Last modified on 2017-07-03 14:04:23

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts