के हो एम.आर.आई ? यसले के काम गर्छ ?
एम.आर.आई आधुनिक चिकित्सा विज्ञानमा अभिन्न प्रविधिको रुपमा स्थापित भइसकेको छ । विभिन्न रोग तथा अवस्थाहरुको सुक्ष्म एवं सटिक चित्रण र निदानका लागि प्रयोग गरिने यो उपकरण अत्याधुनिक एवं निरन्तर परिष्कृत प्रविधिमा आधारित उपकरण हो । अहिले नेपाल मै पनि उल्लेख्य संख्यामा एम.आर.आई मेसिनहरु प्रयोगमा रहेका छ्न । पछिल्लो समयमा नेपाल तीन टेस्ला एम.आर.आइ (3T MRI) समेत भित्रीसकेका छन । चिकित्सा विज्ञानको क्षेत्रमा एम.आर.आईको प्रयोग र उपयोगिता बढ्दै गइरहेको एवं नवीनतम प्रविधिहरु नेपालमा भित्रीरहेको सन्दर्भमा यो प्रविधिको बारेमा आम जनता,चिकित्सक एवं स्वास्थ्यकर्मीहरुले समेत जानकारी राख्नु आवश्यक देखिन्छ ।
एम.आर.आई के हो ?
एम.आर.आइको पूरा रुप म्याग्नेटिक रेजोनेन्स इमेजिङ्ग हो । यो प्रविधिमा मानव शरीरमा रहेका पदार्थ एवं तत्वहरुको चुम्बकीय गुण प्रयोग गरि शरीरका विभिन्न अंग र भागहरुको चित्रण र विभिन्न रोग एवं अवस्थाहरुको पहिचान गरिन्छ । जस्का लागि बिरामीलाई शक्तिशाली चुम्बकीय क्षेत्रमा राख्नु आवश्यक हुन्छ । एम.आर.आइमा प्रयोग हुने चुम्बकीय क्षेत्र पृथ्वीको चुम्बकीय क्षेत्र भन्दा हजारौं गुणा शक्तिशाली हुन्छ । एम.आर.आईमा प्रयोग गरिने चुम्बकीय क्षेत्रको शक्ति टेस्ला (Tesla,T)मा नापिन्छ । सोही चुम्बकीय क्षेत्रको शक्ति अनुसार एम.आर.आइलाई 0.3T, 0.5T, 1.5T, 3T MRI भनेर नामाकरण गरिएको हुन्छ ।
के एम.आर.आइमा एक्स रेको प्रयोग हुन्छ ?
एम.आर.आईमा एक्स रे,गामा रे जस्ता हानिकारक विकिरणको प्रयोग हुदैन । यो चुम्बकीय क्षेत्र र रेडियो फ्रीक्वेन्सी पल्समा आधारित प्रविधि हो ।
एम.आर.आई के केमा प्रयोग गरिन्छ ?
एम.आर.आई मुख्य रुपमा चिकित्सा विज्ञानमा विभिन्न रोग र अवस्थाहरुको निदान र चित्रणका लागि प्रयोग हुन्छ । मस्तिष्क,मेरुदण्ड,हाड जोर्नी तथा मांसपेशी,रक्तनलीहरु लगायत नरम तन्तुहरुको परिक्षण र चित्रणका लागि एम.आर.आई पहिलो रोजाईको प्रविधि हो । यस अलावा विभिन्न खोज अनुसन्धानहरुमा पनि एम.आर.आई प्रयोग गरिन्छ ।
एम.आर.आईका प्रकारहरु के के हुन ?
एम.आर.आइलाई साधारणतया चुम्बकीय क्षेत्रको शक्तिका आधारमा न्युन चुम्बकीय क्षेत्र एम.आर.आई र उच्च चुम्बकीय क्षेत्र एम.आर.आइ भनेर वर्गीकरण गर्न सकिन्छ । 0.2T, 0.3T, 0.5T का एम.आर.आइहरुलाई न्युन चुम्बकीय क्षेत्र एम.आर.आई भनेर चिनिन्छ । यी एम.आर.आइहरुलाई ओपन एम.आर.आइ पनि भनिन्छ किनकि यिनिहरुको बनावट 1.5T, 3Tएम.आर.आइहरुमा जस्तो गुफा जस्तो नभइ खुला प्रकारको हुन्छ ।
1.5 T, 3 T एम.आर.आइहरु क्लिनिकल प्रयोगमा रहेका उच्च चुम्बकीय क्षेत्र भएका एम.आर.आइहरु हुन । त्यस्तै, 7T देखी 11 T सम्मका एम.आर.आइहरु अहिले रिसर्चका लागि प्रयोगमा रहेका छ्न ।
एम.आर.आइको चुम्बकीय क्षेत्रको शक्ति (टेस्ला, T)ले क्लिनिकल प्रयोगमा के फरक पार्दछ ?
एम.आइ.आइको चुम्बकीय क्षेत्रको शक्ति (T)ले एम.आर.आइको चित्रण र रोग निदान क्षमतामा प्रत्यक्ष प्रभाव पार्दछ । कम चुम्बकीय क्षेत्रका एम.आर.आइले उत्पन्न गर्ने चित्रको तुलनामा उच्च चुम्बकीय क्षेत्रसहितका एम.आर.आइले उत्पन्न गरेको चित्रमा बढी जानकारी र गुणस्तर रहेको हुन्छ । त्यसैले स–साना चोटपटक र परिवर्तनहरु पनि उच्च चुम्बकीय क्षेत्रको एम.आर.आइमा चित्रण र निदान गर्न सकिन्छ । साधारणतया बढी टेस्लाको एम.आर.आइमा बिरामीको परिक्षण समय छोटो हुने भएकाले यो अस्पताल र बिरामीमैत्री पनि हुन्छ । यस बाहेक बढी टेस्लाका एम.आर.आइहरुको उपयोगिताको तुलनात्मक रुपमा बढी हुन्छ । बढी टेस्लाका एम.आर.आइको मुल्य र परिक्षण शुल्क पनि तुलनात्मक रुपमा बढी हुने गर्दछ ।
3T एम.आर.आइका फाइदा र उपयोगिता के के छन ?
उच्च चुम्बकीय क्षेत्रमा एम.आर.आइ मध्य 1.5T र 3T का एम.आर.आइहरु अहिले क्लिनिकल प्रयोगमा रहेका छन । 1.5T एम.आर.आइ सबभन्दा बढी संख्यामा प्रयोगमा रहेको तथा मुल्य र उपयोगिताका आधारमा सबभन्दा उपयुक्त सावित भएको एम.आर.आइ हो भने 3T MRI केहि समय पहिले मात्र क्लिनिकल प्रयोगमा आएको एम.आर.आइ हो । 1.5T एम.आर.आइको तुलनामा 3T एम.आर.आइको मुल्य तुलनात्मक रुपमा बढी रहे पनि हाई इमेज क्वालिटी, छोटो परिक्षण समय र व्यापक उपयोगिताका कारण विभिन्न रोग र अवस्थाहरुको सफल निदानका लागि 3T एम.आर.आइको प्रयोग बढ्दो छ।
नियमित एम.आर.आइ परिक्षणहरुका अलावा निम्न उपयोगिताका लागि 3T एम.आर.आइ उत्तम मानिन्छ ।
डिफ्युजन (DWI) : शरीरको कुनै भागमा ,विशेष गरि मस्तिष्कमा, रहेका पानीका अणुहरुको चालमा आधारित रहने यो विधि मस्तिष्कघात (STROKE)का विरामीहरुमा इस्किमिया(ISCHEMIA) शरिरका कुनै भागका तन्तुहरुको रक्त प्रवाहमा अवरोध )का कारण हुने मस्तिष्कका तन्तुहरुको मृत्यु ( INFARCTION) पत्ता लगाउन प्रयोग हुन्छ । यो परिक्षण विधि प्रयोग गरि नयाँ र पुरानो इन्फार्कसन छुट्टाउन सकिन्छ । DWI मार्फत मस्तिष्कघात भएको एक दुई घण्टा भित्रै इन्फार्कसन पत्ता लगाइ उचित उपचार सुरु गर्न सम्भव हुन्छ ।
पर्फ्युजन (PWI): शरीरको कुनै विशेष भागमा रक्त प्रवाह नाप्न प्रयोग गरिने यो परिक्षण विधि प्रयोग गरि मस्तिष्कघातका बिरामीहरुमा रक्त प्रवाह घटेका मस्तिष्कको जोखिम क्षेत्रको पहिचान गर्न सकिन्छ । PWI मार्फत मस्तिष्कघातको तुरुन्त पश्चात् मस्तिष्कका तन्तुहरुको मृत्यु (INFARCTION) र रक्त प्रवाह घटेका क्षेत्रको पहिचान गर्न सकिने भएकाले समयमै उचित निदान र उपचार गरि जोखिममा रहेका मस्तिष्कका तन्तुहरुलाई सुरक्षित अवस्थामा फर्काउन यो परिक्षणले अत्यन्त महत्वपूर्ण भुमिका खेल्दछ।
ट्राक्टोग्राफी (Difusion Tensor imaging, Fiber Tractography)
DTI विधि प्रयोग गरि मस्तिष्कमा रहेका नर्भ फाइबरहरुको संरचनाको आकलन गरिन्छ । जस मार्फत मस्तिष्कका न्युरल ट्राक्टहरुलाई 3D मा चित्रण गरि विभिन्न रंगद्वारा कोड गर्न सकिन्छ । ट्राक्टोग्राफी मार्फत नर्भ फाइबरहरुको पथ, सुक्ष्मसंरचना एवं गडबडीहरुको अध्ययन गर्न सकिन्छ । त्यस बाहेक मस्तिष्कमा भएको ट्युमरको शल्यक्रिया गर्दा नर्भ फाइबरहरु स्थान र स्थिति पत्ता लगाइ सम्भावित जोखिम कम गर्न ट्राक्टोग्राफि गर्ने गरिन्छ ।
एम आर स्पेक्ट्रोस्कोपी (MR Spectroscopy): एम.आर स्पेट्रोस्कोपीमार्फत कुनै चिरफार बिना शरीरको कुनै विशेष भागमा रहेका ट्युमर वा असाधारण तन्तुहरुको जिवरासायनिक परिवर्तन तथा मेटाबोलाइट्स ( Metabolites)हरु पत्ता लगाउन सकिन्छ । तसर्थ, नियमित चित्रणका साथसाथै एम.आर स्पेट्रोस्कोपीद्वारा ट्युमर वा असाधारण तन्तुहरुमा रहेका मेटाबोलाइट्स पत्ता लगाइ ट्युमर वा अन्य असाधारण तन्तुहरुको आकार र प्रकार छुट्टाउन सकिन्छ ।
फङ्सनल एम.आर.आइ (fMRI) : एम.आर.आइ द्वारा शरीरका विभिन्न भागहरुको बनावट (Anatomy) र विभिन्न रोग तथा अवस्थाहरुले तन्तुमा ल्याउने परिवर्तन (Pathology)का अलावा मस्तिष्कका विभिन्न भागहरुको कार्यको पनि अध्ययन गर्न सकिन्छ । रगतमा अक्सिजनको मात्रा र रक्त प्रवाहमा आधारित रहेर कुन कार्य गर्दा मस्तिष्कको कुन भाग कति सक्रिय हुन्छ सो को अध्ययन गर्न सकिन्छ । बोल्ने,सोच्ने,योजना गर्ने जस्ता महत्वपूर्ण कार्यहरु मस्तिष्कको कुन भागसंग सम्बन्धित छन, साधारण, रोगले ग्रस्त र घाइते मस्तिष्कले कसरी काम गर्छ भन्ने तथ्यहरु फङ्सनल एम.आर.आइद्वारा पत्ता लगाउने गरिन्छ । तसर्थ, मस्तिष्कको शल्यक्रिया वा रेडियोथेरापीपुर्व सो को योजना र सम्भाव्य जोखिमको मुल्यांकन गर्न फङ्सनल एम.आर.आइ प्रभावकारी ठहर्दछ ।
1 Comments
-
राम्रो लाग्यो ।
Reporter
View Other Stories by Author >>