उपचारै नपाएर थलिए राउटे
नाडा (अछाम), २९ पुस । ७० वर्षीय नेरी शाही लामो समयदेखि मुटु र पेट दुख्ने समस्याले थलिएका छन् । उपचार र स्याहार अभावमा उनको स्वास्थ्य दिनप्रतिदिन बिग्रिँदै गएको छ । ‘छोरीसँग बसेकी छु,’ उनले भनिन्,‘आफू एक्लै भएकाले घर बनाएकी छैन ।’
श्रीमानको ६ वर्षअघि मृत्यु भएपछि उनले पर्याप्त स्याहार पाउन सकिनन् । बिरामीले थला परेकी उनी बस्तीमा नयाँ व्यक्ति देख्नेबित्तिकै औषधि माग्छिन् । नजिकै अर्को छाप्रोमा खगेन्द्रबहादुर शाही पनि त्यसरी नै थलिएका छन् । कर्णाली किनारको कोल्लीमोरा जंगल छेउमा अवस्थित बस्तीका अधिकांश महिला तथा बालबालिकाको स्वास्थ्यमा विभिन्न समस्या छन् ।
अछामकै तुर्माखाँदबाट यहाँ सरेका राउटेहरुको जनजीवन चिसोले झन् कष्टकर बन्दै गएको छ । महामुखिया महिनबहादुर शाहीका अनुसार साउनयता समुदायका चार जनाको अकालमा मृत्यु भइसकेको छ । दुई बालक कुपोषण, एक महिला रोगले थलिएर तथा अर्का एकको भीरबाट लडेर मृत्यु भएको हो ।
अत्यधिक मदिरा सेवन गरेका कारण भीरबाट खसेको घटना पनि छन् । गत वर्ष दैलेखको तल्लो डुंगेश्वरमा सहायक मुखिया ऐनबहादुर शाहीको पनि भीरबाटै खसेर ज्यान गयो । कुलत, आधुनिक जीवनशैली, जलवायुमा आएको फेरबदलका कारण अचेल राउटेहरुको स्वास्थ्यमा थुप्रै समस्या देखिन थालेका हो । बालकदेखि बृद्धसम्मले काठको काम गर्छन् ।
काठबाट कोसी, आरी, मुधुसजस्ता सामग्री बनाएर अनाजसँग साट्नु र बिक्री गर्नु उनीहरुको मुख्य पेसा हो । काठका यी सामग्री बनाउँदा थुप्रैको बासुलोले हात, खुट्टा काटिने समस्या छ । ‘काटिएको उपचार गर्दैनन् । घाउ निको नभई बल्झिएर क्यान्सरको रुप लिइसकेका बिरामी पनि छन्,’तुर्माखाँदका स्थानीय धनबहादुर बुढाले भने, ‘हरेक राउटेको स्वास्थ्यलाई हेर्ने हो भने कुनै न कुनै समस्याले पीडित छन् ।’
(आजको कान्तिपुर दैनिकमा प्रकाश अधिकारीले लेखेको समाचार छ)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>