क्यान्सर अस्पताल सुधार्न “अल्टिमेटम”
भरतपुर (चितवन), पुस १६ । स्वास्थ्य मन्त्रालयले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सुधारका लागि व्यवस्थापन पक्षलाई निर्देशन दिएको छ । मन्त्रालयले शुक्रबार कार्यकारी निर्देशक डा. चीनबहादुर पुन र अध्यक्ष डा. प्रकाश न्यौपानेलाई एक महिने ‘अल्टिमेटम’ सहितको पत्र पठाएको हो ।
क्यान्सर अस्पतालमा देखिएका बेथिति, उपकरण, प्रशासन, सेवा, सुविधालगायत एक महिनाभित्र सुधार गरी मन्त्रालयमा विवरण बुझाउन व्यवस्थापनलाई पत्र दिइएको स्वास्थ्यमन्त्री गगन थापाका सल्लाहकार प्रताप पौडेलले बताए । ‘अस्पतालको सेवा खस्किएर बिरामी मर्कामा परेको लगायत विषयमा सुधारको मौका दिइएको छ’ उनले भने, ‘प्रयोगविहीन अवस्थामा रहेका विभिन्न उपकरण तत्काल सञ्चालन गर्न र उपकरण बिग्रिनुको वास्तविक कारण खुलाई मन्त्रालयमा पठाउन निर्देशन भएको छ ।’
पत्रमा अध्यक्ष र कार्यकारी निर्देशकले प्रत्येक साता अस्पतालमा भएका सुधारको विवरण बुझाउनुपर्ने उल्लेख छ । जनशक्तिका सम्बन्धमा कर्मचारीको सेवासुविधा पुनरावलोकन गर्न, कार्यालय समयमा कुनै पनि चिकित्सक तथा स्वास्थ्यकर्मी निजी स्वास्थ्य संस्था गए कारबाही गर्न मन्त्रालयले निर्देशन दिएको छ ।
केही चिकित्सक अस्पतालमा बिदा बसेर बाहिर काम गर्न थालेपछि मन्त्रालयले कडाइ गरेको हो । लामो अवधिको बिदा तथा काज स्वीकृति बन्द गर्न, काज र बिदामा बसेका कर्मचारीको अभिलेख तत्काल मन्त्रालय पठाउन निर्देशन दिइएको छ ।
अस्पतालका निर्देशक पुनले मन्त्रालयले एक महिनाभित्र सेवालगायत सुधार गर्न निर्देशन दिएको बताए । ‘हामी अस्पताल सुधार्न कस्सिएर लाग्छौं,’ उनले भने, ‘यसमा सबैको साथ र सहयोग आवश्यक पर्छ ।’
अस्पताललाई प्राप्त विभिन्न उपकरणमध्ये खरिद गरिएका वा दातृ निकायबाट सहयोग प्राप्त भएकाको विवरण मन्त्रालय पठाउन पत्रमा उल्लेख छ । खरिद प्रक्रियामा रहेका उपकरणको अवस्थाबारे जानकारी गराउनसमेत निर्देशन छ । व्यवस्थापन समिति बैठक बस्न नसक्दा ठूला र महत्त्वपूर्ण उपकरण खरिद प्रक्रिया रोकिएको छ ।
अस्पताल सञ्चालक समितिको बैठक गत चैत २४ यता बसेको छैन । अस्पताल ऐनमा अध्यक्ष र ६ जना सदस्य नेपाल सरकारले नियुक्ति गर्ने प्रावधान छ । यसअघि नियुक्त अध्यक्ष मन्त्रिपरिषद् र ६ जना सञ्चालक समिति सदस्य मन्त्रिस्तरीय निर्णयबाट चयन भएकोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियुक्ति खारेज गर्न निर्देशन दिएपछि बैठक बस्न नसकेको हो । समितिले पूर्णता नपाएकाले बैठक बस्न नसक्दा अस्पताल व्यवस्थापनमा कठिन भएको अध्यक्ष न्यौपानेले बताए । उनले एक महिने सुधार निर्देशनबारे खुल्न चाहेनन् ।
पत्रमा अस्पतालका विभिन्न विभाग, शाखा तथा एकाइमा विद्यमान दरबन्दी कार्ययोजना बनाई पूर्ति गर्न भनिएको छ । अस्पतालको निर्माण सम्पन्न भवन तत्काल सञ्चालनमा ल्याउन मन्त्रालयले निर्देशन दिएको छ । कर कोषबाट प्राप्त रकमको खर्च उद्देश्यअनुरूप भए–नभएबारे आवश्यक कारबाही गर्न पनि भनिएको छ ।
त्यस्तै अस्पतालमा क्यु व्यवस्थापन, टोकन प्रणली, नागरिक बडापत्र र हेल्प डेस्क राख्न, बिरामीको ल्याब रिपोर्ट समयमा उपलब्ध गराउन, रेडियोधर्मीबाट उत्पन्न हुुन सक्ने समस्या समाधान र फोहोर व्यवस्थित गर्न निर्देशन दिइएको सल्लाहकार पौडेलले बताए ।
(आजको कान्तिपुर दैनिकमा समाचार छ)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>