‘सिन्डिकेट’ ले फार्मेसी अधुरो



Download our app to get more features

वीरगन्ज (पर्सा), १५ पुस । नारायणी उपक्षेत्रीय अस्पतालमा फार्मेसी चलाउन भवन बनिसक्यो । स्वास्थ्य मन्त्रालयले औषधि खरिदका लागि सिड मनीसमेत निकासा गरिसकेको छ । तर, औषधि व्यवसायीको सिन्डिकेटका कारण फार्मेसी सञ्चालनमा आउन सकेको छैन ।

कात्तिक २५ मा मन्त्रालयले सिड मनीबापत २० लाख रुपैयाँ निकासा गरिसकेपछि अस्पताल प्रशासनले औषधि खरिदका लागि दररेट बुझाउन टेन्डर आह्वान गरेको थियो । त्यसपछि औषधि व्यवसायी संघ नारायणी अञ्चल शाखाले सरकारी स्वामित्वका फार्मेसीलाई औषधि आपूर्ती नगर्न विज्ञप्तिमार्फत उर्दी जारी ग¥यो ।

मंसिर २ गतेको संघका महासचिव पप्पुकुमार झाको हस्ताक्षर रहेको विज्ञप्तिमा सरकारी अस्पतालको फार्मेसीलाई औषधि आपूर्तिका लागि निकालिएको टेन्डर प्रक्रियामा सहभागी नहुने उल्लेख छ । संघका उर्दीपछि उपक्षेत्रीय अस्पतालको टेन्डर कुनै व्यवसायीले खरिद गरेनन् । 

अस्पतालका सूचना अधिकृत रमेश चौधरीका अनुसार व्यवसायीले औषधि दररेट नबुझाएकाले फार्मेसी हालसम्म सञ्चालनमा आउन सकेको छ्रैन । ‘दररेटबिना आफैँले औषधि खरिद गर्न पनि मिलेन,’उनले भने ‘कसैले अख्तियारमा मुद्दा हालिदिन सक्छन् ।’

अस्पताल विकास समितिका सदस्य सुदीप लामाले टेन्डरबारे संघका पदाधिकारीसँग छलफल गरेपनि समाधान ननिस्किएको जानकारी दिए ।

स्रोतका अनुसार संघ र अस्पताल विकास कर्मचारी युनियन निकट कर्मचारीले अस्पताल परिसरमा औषधि पसल सञ्चालन गरिरहेकाले उनीहरुकै स्वार्थमा सरकारी फार्मेसीलाई औषधि उपलब्ध नगराइएको हो ।

उपक्षेत्रीय अस्पताल परिसरमा एक दर्जन औषधि पसल छन् । अस्पताल प्रशासनसँगको सम्झौता समाप्त भइसके पनि ती औषधि पसल सस्तो भाडामा निर्वाध चलिरहेका छन् ।

व्यवसायीलाई स्थानीय राजनीतिक दलको सहयोग रहेकाले अस्पतालले पसल हटाउन सकेको छैन ।


(आजको कान्तिपुर दैनिकमा समाचार छ)
 

Last modified on 2017-07-06 14:53:05

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts