कुरुवा नै बिरामी पर्न थाले



Download our app to get more features

काठमाडौँ, १४ पुस । प्यूठानकी विन्दु गिरी बिरामी सासू लिएर वीर अस्पताल आएकी छिन् ।

सासूलाई फोक्सोमा क्यान्सर देखिएकाले अस्पतालमा भर्ना गर्नुपरेको उनी बताउँछिन् । पछिल्लो १ महिनादेखि उनी अस्पतालमा सासूको कुरुवाका रुपमा बसेकी छिन् । जाडोमा रातभर बिरामी कुर्न बस्ने कुरुवाले सकस व्यहोर्नुपर्ने उनी बताउँछिन् ।

‘रातभर चिसो भुइँमा सुत्नुपर्छ, निदै्र लाग्दैन,’ उनले भनिन् । १ महिनादेखि अस्पतालको भुइँमा सुत्नुपरेको उनी अहिले आफैँ बिरामी पर्ने अवस्थामा पुगेकी छिन् ।

उनी भन्छिन्, ‘अस्पतालमा सुतेको रातदेखि लागेको रुघा अहिलेसम्म निको भएको छैन, विहान उठ्दा जीउ पनि सुन्निएको हुन्छ, ढाँड दुखेर उस्तै ।’ घर टाँढा भएकाले हत्तपत्त अरु कुरुवा आउन नसक्ने भएकाले सासूको कुरुवा एक्लै बस्नुपरेको उनले सुनाइन् ।

यस्तै अस्पतालका नर्सहरुले पनि मैत्रीपूर्ण व्यवहार नगरेको उनको गुनासो छ । ‘बिरामी आत्तिसकेको हुन्छ तर, नर्सहरु ३÷४ पटक बोलाएपछि मात्रै आउँछन् ।’ उनले भनिन्, ‘धेरैपटक बोलाउन थाल्यो भने रिसाउँछन्, हप्काउँछन् ।’

शौचालय पनि फोहोर भएर जानै नपरे हुन्थ्योजस्तो लाग्ने उनले बताइन् । शौचालय जानुपर्ला भनेर आफूले पानी नै नखाई बस्ने उनले बताइन् ।

दोलखाका लोकबहादुर घलेको समस्या पनि उस्तै छ । ३ सातादेखि उनकी पत्नीलाई पनि वीर अस्पताल भर्ना गरिएको छ ।

फोक्सोमा क्यान्सर भएर पत्नीलाई उपचार गर्न ल्याएको उनी बताउँछन् । म्याट ओछ्याएर चिसो छिँडीमा सुत्दा उनको स्वास्थ्यमा समस्या देखिन थालेको उनले सुनाए । उनले भने, ‘ओढ्ने ओछ्याउने लुगा धेरै ल्याउन पनि दिदँैन, जाडो हुन्छ, रात कहिले कट्लाझैँ हुन्छ ।’

दुर्गन्धले अस्पतालभित्रको शौचालय छिर्न नसकेर नजिकैको सार्वजनिक शौचालय प्रयोग गरेको उनी बताउँछन् ।

उनले भने,‘दिउँसो त सार्वजनिक शौचालय खुला हुन्छ, राति आपतै पर्छ ।’ त्यस्तै राति क्यान्टिनमा तातोपानी नपाउँदा बिरामीलाई झन् समस्या परेको उनले बताए । उनका अनुसार तातोपानी नपाइदा चिसै पानीसँग औषधि खुवाउनुपरेको छ ।

वीर अस्पतालका निर्देशक डा.भुपेन्द्र बस्नेतले भने, ‘अस्पतालमा कुरुवाले खेप्नुपरेको सकस देख्दा दुःख लाग्छ ।’

उनका अनुसार पहिले अस्पताल परिसरमै कुरुवा घर थियो । तर, २०७२ को भूकम्पले उक्त भवन भत्किएको छ । उनका अनुसार अहिलेसम्म कुरुवाघर बन्न सकेको छैन् ।

उनले भने, ‘कुरुवाघर बन्ने योजना छ, भवनको नक्सा बन्दै छ ।’ निर्देशक डा. बस्नेतका अनुसार शौचालयको ढल बिग्रिएकाले जाम भइरहन्छ ।


(आजको कान्तिपुर दैनिकमा फातिमा बानूले लेख्नुभएको समाचार)

Last modified on 2017-07-06 15:34:36

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts