सर्लाहीमा भ्यागुते रोग फैलिएको आशंका, दुईको मृत्युपछि सरकारको उच्च सतर्कता
सर्लाही, १४ पुस । सर्लाहीको बसन्तपुर मिर्चैयामा मृत्यु भएका दुई बालकमा भ्यागुते रोग भएको चिकित्सक टोलीको आशंका छ । सरकारले सो क्षेत्रमा उच्च सतर्कता अपनाएको छ ।
मिर्चैया–६ का ८ वर्षीय कृष्ण भगत बढाई र ६ वर्षीय रोशन भगत बढाईको मृत्यु भ्यागुते रोगबाट भएको टोलीको आशंका छ । रोशनका तीन दिन अगाडि उपचारका क्रममा जनकपुर अञ्चल अस्पतालमा भृत्यु भएको थियो भने कृष्णको २९ मंसिरमा मृत्यु भएको थियो ।
सरकारी चिकित्सक टोली र डब्लुएचओको टोलीले भ्यागुते रोगले मृत्यु भएको हुनसक्ने आशंका गरेको हो ।
रोशनको लक्षणलाई आधार मानेर भ्यागुते रोगलाई आशंका गरिएको जनकपुर अञ्चल अस्पतालले जनाएको छ ।
अञ्चल अस्पतालले जिल्ला जनस्वास्थ्य कार्यालय सर्लाहीलाई सोको जानकारी दिएपछि चिकित्सक र डब्लुएचओको टोलीले मंगलबार र बुधबार अध्ययन गरेको सर्लाही जिल्ला जनस्वास्थ्य प्रमुख डा.ईन्द्रप्रसाद यादबले बताए ।
यादबले स्वास्थ्यकर्मीको टोली प्रभावित मिर्चैयाको वसन्तपुर पुगी सो क्षेत्रका स्थानीयको स्वास्थ्य परीक्षण गरिसकेको बताए । टोलीले एक सय ८० जनाको परीक्षण गरेको थियो । तीमध्ये दुईजनामा भ्यागुतेको आशंका गरिएको पनि यादबले जानकारी गराए ।
यादबका अनुसार मृतक र हाल बिरामी भएका बालबालिकाले सरकारले दिने भ्यागुते रोगसम्बन्धीको डिपिटी खोप नलिएको पाइएको छ । सरकारी टोली बुधबार नै प्रभावित क्षेत्र पुगी त्यहाँका स्थानीयलाई खोप लगाउन थालेको यादबले बताए ।
सरकारले भ्यागुेत रोगका कीटाणुले उत्पन्न गर्ने विषको प्रभावलाई कम गर्न दिइने ‘एन्टिडिप्थेरिक सिरम’ प्रभावित क्षेत्रमा तत्काल उपलब्ध गराउने भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर भीम आचार्यले १० भायल ‘एन्टिडिप्थेरिक सिरम’ आवश्यक परेको खबर आएकाले जनकपुर अञ्चल अस्पतालमा बिहिवार पठाउने बताए ।
विभागबाट गएको टोलीले बिरामीको घाँटीको खकार परीक्षणका लागि काठमाडौँ लिएर आउने पनि उनले जानकारी दिए ।
(आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेख्नुभएको समाचार छ)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>