बालबालिकामा क्षयरोग
क्षयरोगबाट बालबालिका पनि धेरै पीडित हुनेगरेका छन् । यो बालमृत्युको प्रमुख कारणका रुपमा रहेको छ ।
बालबालिका यो रोगको संक्रमणको बढी जोखिममा हुन्छन् । कुपोषण भएका बालबालिकामा क्षयोरोगको झनै बढी जोखिम ुहन्छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार, विश्वमा एचआईभीपछि सबैभन्दा बढी मान्छे मार्ने संक्रामक रोग क्षयरोग नै हो ।
सन् २०१३ मा ९० लाख मानिस क्षयरोगले संक्रमित भए । तीमध्ये १५ लाखको मृत्यु भयो । नेपालमा प्रत्येक दशमध्ये ६ जना यस रोगबाट संक्रमित छन् । नेपालमा प्रतिवर्ष ४० हजार क्षयरोगका बिरामी थपिनेगरेको पाइन्छ ।
एउटा तथ्याकं अनुसार नेपालमा भएका क्षयरोगीमध्ये ५ देखि १५ प्रतिशत बालबालिका छन् । क्षयरोगका किटाणु हाछ्युउँ गर्दा वा खोक्दा हावासँगै एक जनाबाट अर्कोमा सर्छन् । क्षयरोगका किटाणु सन् १८८२ मा रोबर्ट कोचले पत्ता लगाएका थिए ।
रोगका लक्षण
१. क्षयरोगका किटाणुले स्वस्थ मानिसको शरीरमा प्रवेश गरेपछि संक्रमित मानिसको रोग प्रतिरोधात्मक क्षमताका आधारमा केही महिनादेखि एक वर्षसम्ममा रोगको लक्षण देखापर्न थाल्छ ।
२. सामान्यतया ६ महिनादेखि एक वर्षसम्मको समयलाई लक्षण विकास हुने समयका रुपमा लिने गरिन्छ । यो रोगका किटाणुले उत्पादन गर्ने एक प्रकारको विष टुबेरकुलिनका कारणले शरीरका कोष क्षय हुनगएर रोगका लक्षण देखिन थाल्छन् ।
३. लामो अवधिको खोकी, खकारमा रगत देखापर्नु, साँझपख ज्वरो आउनु, राति सुतेको बेलामा पसिना आउनु र तौल घट्दै जानु आदि सक्रिय क्षयरोगका लक्षण हुन् ।
क्षयरोगको पहिचान
१. क्षयरोगको पहिचान गर्न रेडियोलोजी (साधारणतया छातीको एक्सरे), सूक्ष्म परीक्षण तथा शरीरका तरल पदार्थको सूक्ष्म जैविक अनुसन्धान (माइक्रोबायोलिजकल कल्चर) गर्ने गरिन्छ ।
२. त्यस्तै ट्युबरकुलिन स्किन टेस्ट (टीएसटी) र रगत परीक्षण गरेर निष्क्रिय क्षयरोगको पहिचान गरिन्छ । आवश्यक्ता परेको खण्डमा घर, काम गर्ने स्थान तथा सामाजिक सम्पर्कका मानिसहरुमा पनि परीक्षण तथा उपचार गर्नुपर्ने हुनसक्छ ।
उपचार
१. आराम गर्ने, पोषणयुक्त खाना खाने, मद्यपान र धूमपान नगर्ने, हरिया सागपात, फलफूल, माछा–मासु प्रशस्त खाने तथा पोषिलो तरल खाना खानमा जोड दिनुपर्छ ।
२. लाक्षणिक उपचार जस्तो खोकी, ज्वरो र दुखाइका लागि औषधिलगायतका लक्षण अनुसार उपचार गर्दै जानुपर्छ । प्रमुख उपचारमा एन्टी ट्युबरकुलर उपचार (एटीटी) डट्स विधिद्वारा गर्ने सुविधा स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध छ ।
३. यी सबै उपचार तालिम प्राप्त स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा गर्नुपर्छ । पूर्ण उपचार नै क्षयरोगको सही उपचार पनि हो ।
(आजको गोरखापत्र दैनिकबाट)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>