बिरामी पर्न थाले वृद्ध र बालबालिका
ललितपुर, ७ पुस । जिल्लाका भूकम्पपीडित चिसो बढेसँगै बिरामी पर्न थालेका छन् । चिसोले केटाकेटी र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । बखेल ७, लिगेडाँडाका नवराज सञ्जेलको ७ जनाको परिवार पनि टहरो मै छ । ‘डाँडामा हावाहुरी चल्ने भएकाले चिसो बढेको छ,’ सञ्जेलले भने, ‘बढ्दो जाडोले साना नानी र वृद्धवृद्धा पीडित भएका छन् ।’
उनका अनुसार टिनको टहरोभित्र चिसोले बस्ने अवस्थै छै्रन । ‘चिसोले गाई भैँसीसमेत बिरामी पर्न थालेका छन्,’ उनले भने । पुर्ननिर्माणका लागि सरकारसँग सम्झौता गरिसके पनि रकम भने पाएका छ्रैनन् । पुर्ननिर्माण प्राधिकरणले मंसिरभित्र पहिलो किस्ताको रकम वितरण गर्न उपत्यकालाई ३ अर्ब रुपैयाँ निकासा गरिसकेको छ ।
तर, जिल्लामा रकम भने वितरण हुन सकेको छैन । भूकम्पछि बुखेल ८, गोलछाप्राका नन्दबहादुर सञ्जेलको परिवारको बास पनि टहरोमै छ । उनको पनि घर पुर्ननिर्माण अनुदान सम्झौता भइसकेको छ । ‘बिहान, बेलुका अत्यधिक चिसोले अधिकाशंलाई रुघाखोकीले सताउन थालेको छ,’ उनले भने ।
सञ्जेलद्वय जस्तै काठ क्षेत्रका भूकम्पीडित अधिकांशको समस्या उस्तै छ । गोदामचौरका राजु आचार्यको परिवार विशंखुनारायण वननजिकै टहरोमा बस्दै आएका छन् । ‘आमा नशाको बिरामी हुनुहुन्छ,’ उनले भने ,‘चिसोले खुट्टा सुन्निन थालेको छ ।’ गोदामचौर पाट्लेछापका हरिशरण गिरीको टहरो पनि वननजिकै छ ।
‘चिसोले जस्ताबाट शित चुहिन्छ, ’ उनले भने ‘रातभर निदै्र लाग्दैन ।’ आचार्य र गिरीले भने लालपुर्जा नभएका कारण पहिलो किस्ताका रकम पाउन सम्झौता गर्न पाएनन् । स्थानीय विकास अधिकारी हरिप्रसाद दाहालले सम्झौता हुने क्रम जारी रहेको बताए । ‘चाडैँ रकम वितरण गर्ने योजना छ,’ उनले भने ।
पुर्ननिर्माण प्राधिकरणले जिल्लास्थित इलाका कार्यालयलाई मंसिर १५ भित्रमा सम्झौता गरिसक्न निर्देशन दिएको थियो । तर, हालसम्म गर्न सकेको छैन । गोदावरी नगरपालिका कार्यकारी प्रमुख रोम महतले पीडितलाई सम्झौता गर्न आउन आह्वान गरे । ‘लालपुर्जा नभएका पीपिडतले कार्यालयमा आएर गुनासो फाराम भर्न सक्नु हुनेछ,’ उनले भने ।
(आजको कान्तिपुर दैनिकमा समाचार छ)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>