कलेजो प्रत्यारोपण सेवाले फर्काएको खुसी
काठमाण्डौ, ४ पुष । भक्तपुरका कपडा व्यवसायी हुन्– ३६ वर्षीय बलराम नागा । १० महिनाअघि आफ्नो कलेजो बिग्रिएको अर्थात् ‘लिभर सिरोसिस’ भएको सुन्दा नागाले ‘संसारै अँध्यारो’ भएको महसुस गरेका थिए रे । त्यस बेला नेपालमा कलेजो प्रत्यारोपणसम्बन्धी कानुन नभएपछि उनी उपचारका लागि भारत पुगेका थिए ।
४१ वर्र्षीया दिदी सानुमाया लकेजूले कलेजो दिने भएपछि प्रत्यारोपणका लागि उनीहरू भारत गएका हुन् । तर, भारतमा कलेजो प्रत्यारोपण गराउन ८० लाखदेखि १ करोड रुपैयाँसम्म लाग्ने थाहा पाएपछि उनी त्यत्तिकै फर्किए । सोही समय बुवाको मृत्यु हुँदा परिवारमा पीडा थपियो ।
त्यसपछि ‘सके नेपालमै उपचार गर्ने नसके नगर्ने’ मनसाय बनाएर भारत नगएको उनी सुनाउँछन् । यही बेला मानव अंग प्रत्यारोपण केन्द्रका फिजियोथेरापिस्ट गौरव पन्थबाट कलेजो प्रत्यारोपण सेवा दिने तयारी भइरहेको जानकारी पाएपछि बाँच्ने आशा पलाएको उनको भनाइ छ ।
केन्द्रको सघन उपचार कक्षबाट जनरल वार्डमा सर्ने तयारीमा भेटिएका उनले भने, “मैले नेपालमा यति ठूलो उपचार सेवा पाइन्छ भन्ने कल्पना पनि गरेको थिइनँ । आखिर नेपालमै उपचार गराएर मैले नयाँ जीवन पाएँ । एक साताको अन्तरालमै मैले आफूलाई धेरै स्वस्थ महसुस गरिरहेको छु ।”
मंसिर १६ गते मन्त्रिपरिषद् बैठकले अंग प्रत्यारोपण नियमित तथा निषेध नियमावली २०७३ पारित गरेपछि केन्द्रबाट २२ गते नागाले पहिलो पटक कलेजो प्रत्यारोपण सेवा लिएका हुन् । उनलाई ४१ वर्षीया दिदी सानुमायाले कलेजो दान गरेपछि १५ लाख रुपैयाँमै प्रत्यारोपण सम्भव भएको हो ।
केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठका अनुसार बिरामीको स्वास्थ्य अवस्थामा राम्रो सुधार आएको छ । पहिले स्लाइनका माध्यमबाट खानेकुरा दिनुपर्नेमा अहिले बिरामीले मुखबाटै खान थालेका छन् । बिरामीको रगत पनि ‘नर्मल’ भइसकेको निर्देशक श्रेष्ठले सुनाए । “अब उहाँलाई चिकित्सकीय सहयोगको आवश्यकता छैन”, उनले भने, “रगत परीक्षण सबै नर्मल भइसकेको छ, केही दिन जनरल वार्डमा सारेर नर्सिङ केयरमा राख्छौं ।”
उपचारमा संलग्न डा. मोहन भण्डारीका अनुसार डिस्चार्जपछि केही समय सातामा दुईपटक फलोअपका लागि अस्पताल आउनुपर्ने हुन्छ । प्रत्यारोपणपछि बिरामीले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न औषधि भने जीवनभर खानुपर्छ । केही समय आरामपछि चाँडै दैनिक जीवनयापनका काममा फर्कन सक्ने उनले बताए ।
भाइलाई बचाउन सफल भयौंः सानुमैया लाकेजू, कलेजो दान गर्ने दिदी
भाइको कलेजो प्रत्यारोपण गर्नुपर्ने भएपछि हामी चार जना दिदीबहिनीले जसको मिल्छ उसकै दिने भनेर सल्लाह ग¥यौं । एक जनाको उमेरका कारण दिन नमिल्ने भयो भने अर्को दिदीको रगत नै म्याच भएन, दुई जनाको मिल्यो । दिदीले तिम्रा बच्चा सानै छन् म दिन्छु भन्नुभएको थियो ।
तर, पछिल्लो समय दिदीलाई कमजोर महसुस भएका कारण मैले कलेजो दिने निर्णय गरेकी हुँ ।
जसले कलेजो दिए पनि भाइलाई बचाउनु थियो । श्रीमान् शिवप्रसाद लाखेले भाइलाई बचाउन जे पनि गर्न तयार हुनू भनेर साथ दिएपछि मलाई अरू के चाहियो र ! कतिपयले आफ्नो स्वास्थ्य नबिगार्न भने पनि मैले स्वेच्छाले भाइलाई कलेजो प्रदान गरेकी हुँ । आज मेरो भाइको खुसी फर्किएको छ । योभन्दा ठूलो खुसी के हुन्छ र मेरा लागि ?
भाइले मलाई कलेजो नदिनु दिदी, म त बिरामी भएँ–भएँ तपाईंहरूको स्वास्थ्य नबिगार्नु भनेर हाम्रो निर्णय स्वीकार गरेको थिएन । हामी सबैले राम्ररी सम्झाएपछि ऊ पनि राजी भयो । आज मेरो स्वास्थ्य एकदम ठीक छ । अरूभन्दा पनि हामीले भाइलाई बचाउन सफल भयौं ।
आजको कारोबार दैनिकमा जुनु भट्टराईले लेखेको खबर छ ।
1 Comments
-
Docter gourb panta li kun hospital ma vetna sakencha hola
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।