छाउगोठमै किशोरीको मृत्यु
छाउपडीमुक्त घोषणा गरिए पनि एक महिनामै २ को ज्यान गइसक्यो
पुस ४, निकै तामझामका साथ अघिल्लो वर्ष नै छाउपडीमुक्त घोषणा भइसकेको गाविसमै एक किशोरीले छाउगोठभित्र ज्यान गुमाएकी छन् । गाज्रा–७ की १५ वर्षीया रोशनी तिरुवा शनिबार साँझ ६ बजे खाना खाएर घरछेवैको छाउपडी गोठमा सुत्न गएकी थिइन् ।
आइतबार बिहान साढे ७ बजेसम्म पनि नउठेपछि बुबा भरत हेर्न जाँदा महिनावारी बारिरहेकी छोरी गोठमै मृत भेटिइन् । उनले हतारिँदै प्रहरीलाई खबर गरे । मृत्युको कारण यकिन हुन सकेको छैन । आजको कान्तिपुर दैनिकमा समाचार छ ।
जिल्लामा एक महिनामा दुई किशोरीको छाउगोठमै ज्यान गइसकेको छ । जिल्ला प्रहरी कार्यालयका निरीक्षक बद्रीप्रसाद ढकालले जाडोमा आगो बाल्दा धूवाँमा निसास्सिएर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको बताए । ‘होचो गोठमा हावा ओहोरदोहोर गर्ने कुनै झ्याल छैनन्, मूल ढोकासमेत लगाइएकाले निसास्सिएर वा चिसोमा कठ्यांग्रिएर ज्यान गएको हुन सक्छ,’ उनले भने ।
गोठमा भित्रबाट ढोका लगाइएको थियो । बाहिरबाट बोलाउँदा ढोका नखोलेपछि फोरेरै भित्र हेर्दा छोरी मृत अवस्थामा भेटिएकी भरतले बताए । मृतकको शरीरमा कुनै घाउ चोटपटक नरहेको प्रहरीले जनाएको छ । किशोरी गाज्रा गाविसस्थित राष्ट्रभाषा माविमा कक्षा ९ मा अध्ययनरत थिइन् ।
यसअघि मंसिर ४ मा महिनावारी भएकै बेला छाउगोठमा बस्दा तिमिल्सेन–७ की २१ वर्षीया डम्बरा उपाध्याय पनि बिहान मृत फेला परेकी थिइन् । छाउपडी गोठमा महिनावारी भएर चार रात बिताएपछि पाँचांै दिन मात्र घर फर्काउने कुप्रथा यहाँ अझै हटेको छैन । विभिन्न गैरसरकारी संस्थाले २०६३ यता छाउपडीकै कारण जिल्लामा १० महिला र किशोरीको ज्यान गइसकेको जनाएका छन् । यहाँका ३१ गाविस छाउपडी गोठमुक्त घोषणा गरिएका छन् ।
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>