औषधि लिमिटेडका उपकरण नासिँदै
काठमाडौं, २८ चैत्र । २०६७ सालदेखि उत्पादन ठप्प रहेको नेपाल औषधि लिमिटेडका करोडौं मूल्यका उपकरण नासिने अवस्थामा पुगेका छन् ।
औषधि उत्पादन गरिरहेको अवस्थामा बन्द गरिएको उद्योग सञ्चालनको लागि पटकपटक प्रयास गरिए पनि अर्थ मन्त्रालयले सहयोग नगरेपछि विभिन्न समयमा दातृ निकायले उपलब्ध गराएका करोडौंका उपकरण नासिने क्रममा रहेको त्यहाँ कार्यरत कर्मचारी गुनासो गर्छन् ।
कर्मचारीका अनुसार अर्थ मन्त्रालयबाट थोरै रकम पाउनेबित्तिकै उद्योग सञ्चालन गर्न सकिने अवस्था छ । तर अर्थले असहयोग गरिरहेको छ । बन्द हुनुअघिसम्म एक सय ५० प्रकारका औषधि उत्पादन गर्दै आएको उद्योगका कर्मचारीले यसबीचमा पटकपटक कम्पनी सुरु गर्ने प्रस्ताव उद्योग र अर्थ मन्त्रालयमा पठाए पनि सधैंै गाली मात्र पाउने गरेको उनीहरुको गुनासो छ ।
योजना महाशाखा प्रमुख दिनेशकुमार भट्टराईले भने, ‘अर्थ मन्त्रालयसंग एकपटकलाई दुई करोड रुपैयाँ दिनूस् भनेर १५ पटकजति प्रस्ताव पठायौं । तर, कहिले सुनेन ।’ कम्पनी चलाउन आवश्यक पर्ने बजेट उपलब्ध नगराउने अर्थले कामविहीन कर्मचारीका लागि भने महिनैपिच्छे २० लाख रुपैयाँ पठाउने गरेको छ ।
कर्मचारीका अनुसार प्रशासनिक खर्चका लागि अर्थले वर्षमा एक करोडभन्दा बढी रकम पठाउँदा कुनै गुनासो नगर्ने तर एकपटकलाई दुई करोड रकम दिनूस् त्यसपछि माग्दैनौं भन्दा बेवास्ता गर्नु अचम्म लाग्दो व्यवहार हो ।
कम्पनीले सामान्य रकमको व्यवस्था गर्न सकेको खण्डमा जीवन जल उत्पादन तुरुन्तै गर्न सक्ने अवस्था छ ।
–नागरिक दैनिकबाट
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।