गंगामाया अधिकारी आइसीयुमा

What's This?


Download our app to get more features

छोराको हत्यारालाई कारबाही हुनु पर्ने मागका साथ अनसनमा बसेकी गंगामाया अधिकारीको स्वास्थ्यस्थिति बिग्रिएपछि मंगलबार वीर अस्पतालको आइसीयुमा भर्ना गरिएको छ । वीर अस्पतालका निर्देशक डा स्वयंप्रकाश पण्डितका अनुसार गंगामायालाई खुट्टाको नसा सम्बन्धि रोग डिभिटी (डिप भेन थ्रम्बोसिस) ले गलाएको छ ।

‘तीन वर्षदेखि उहाँको देब्रे खुट्टामा यो समस्या थियो’ पण्डितले भने,‘अहिले आएर दाहिने खुट्टमा पनि त्यही समस्या देखिएपछि अवस्था गम्भीर भएको हो ।’ उनलाई हिँडडुल गर्न र सास फेर्न पनि मुस्किल भएपछि अपरान्ह आईसीयुमा राखिएको हो । पण्डितका अनुसार अहिले गंगामायाको अवस्था स्थिर छ ।

अपराधीलाई कारबाही हुनु पर्ने मागका साथ गंगामाया झण्डै तीन वर्षदेखि वीर अस्पतालमा अनसन बस्दै आएकी थिइन् । सँगै आमरण अनसन बसेका पति नन्दप्रसाद अधिकारी अस्पतालमै बितेपछि गंगामायाले चिकित्सकहरुको सल्लाहमा जाउलो र अन्य झोल पदार्थ खान थालेकी थिइन् ।

माग पुरा नभएसम्म पतिको लास पनि सदगत नगर्ने र भद्र आन्दोलन पनि नतोड्ने भन्दै उनले धर्ना भने जारी नै राख्दै आएकी थिइन् । यसरी एक्लै सत्याग्रहमा उत्रिएकी उनका दिनहरु चिसा र एकान्तमा बित्दै आएका थिए गत पुसमा मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा पुगेर उनको स्वास्थ्यस्थिति बुझेयता अन्य उच्च पदस्थ अधिकारी कोही पनि गंगामायालाई भेट्न गएका थिएनन् ।

अपहरणमा परी २०६१ जेठ २४ मा हत्या गरिएका आफ्ना १७ वर्षीय छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाही हुनु पर्ने माग गर्दै दस वर्षदेखि संघर्षरत गंगामाया माग पुरा नभएसम्म पतिको लास जलाउन नदिने र आफू पनि यो भद्र आन्दोलनबाट पछि नहट्ने पक्षमा छिन् ।  

अधिकारी दम्पतीले आमरण अनसन सुरु गरेपछि सरकारले बाध्य भएर दुई वर्षअघि मुद्दा दायर गरेको थियो । तर पक्राउ परेका अभियुक्तलाई चितवन जिल्ला अदालतले प्रमाण नपुगेको भन्दै पूर्पक्षको आदेशमा छाडिदिएपछि गंगामाया पुनरावेदन हुँदै सर्वोच्च अदालतमा निवेदन लिएर आएकी हुन् ।

भदौ १ गते दर्ता भएको उनको १७ नम्बरको निवेदन९तल्लो अदालतले मुद्दाको सुरुवाती कारबाहीमा गर्ने फैसलाविरुद्ध माथिल्लो अदालतमा गरिने पुनरावेदनसरहको निवेदन माथि सर्वोच्चमा दिएकी थिइन् । लामो समयपछि सर्वोच्ले त्यसमाथि सुनुवाइ गर्दै तल्लो अदालतले अभियुक्त छाड्न गरेको आदेश बदर हुने निर्णय गरेको थियो ।

त्यसपछि चितवन जिल्ला अदालतमा यो मुद्दा चलिरहेको छ । गत असोज ५ गते उनी सर्वोच्चको इजलाशमा आफैं उपस्थित भएर बयान दिँदै भनेकी थिइन्,‘अपराधीलाई सजाय हुन्न भने म बाँच्नुको अर्थ छैन श्रीमान् !’
कान्तिपुर

 

Last modified on 2016-02-17 11:05:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts