छालालाई चिल्लो र सफा देखाउन 'वाक्सिङ'
काठमाण्डौं, २७ चैत्र । छालालाई चिल्लो र सफा देखाउन नचाहिने ‘रौं’ हटाउने चलन हिजोअस्ति सुरु भएको होइन। यो फेसन परापूर्वकालदेखि नै जारी छ। प्राचीन कालमा राजा, महाराजसहित आर्थिक र पदीय शक्तिशाली वर्गका महिलाले विभिन्न प्रक्रियाले आफ्नो शरीरमा नरुचाएका रौं हटाउने गरेको वर्णन इतिहासमा पाइन्छ।
हालका दिनमा छालामा भएको नचाहिने रौंबाट मुक्ति पाउन वाक्सिङको प्रक्रिया महिलाहरूबीच लोकप्रिय छ। वाक्सिङका माध्यमले महिलाहरू काखी, यौनांग, हात, खुट्टा छाती आदिमा भएका नचाहिने रौं हटाउँछन्। पुरुषले पनि वाक्सिङ गराउन थालेका छन्।
महिलाले ब्युटिपार्लर मात्र नभएर घरमा आफैंले समेत वाक्सिङ गर्ने गरेका छन्। राजधानीका ब्युटिपार्लरमा शरीरका अनावश्यक रौं हटाउन वाक्सिङ गराउनेहरूको संख्या दिनानुदिन बढिरहेको ब्युटिसियनहरू बताउँछन्।
उपत्यका मात्र नभएर मुलुकका अन्य सहरी इलाकामा समेत छाला लाई चिल्लो र सफा देखाउन वाक्सिङ गराउन ब्युटिपार्लर पुग्नेको संख्या बढ्दो छ। अचेल हाम्रो मुलुकमा समेत नयाँ पुस्तामा प्रजनन अंग अर्थात् ‘बिकनी लाइन’ को रौं हटाउन ‘बिकनी वाक्सिङ’ को चलन पनि लोकप्रिय हुँदो छ।
‘हाम्रोमा दिनहुँ १० जनासम्म वाक्सिङका लागि आउने गर्छन्,’ आल्प्स ब्युटिपार्लर, विराटनगरकी ब्युटिसियन जुली प्याकुरेल भन्छिन्, ‘सातामा करिब चारपाँच जना बिकनी लाइन वाक्सिङको लागि समेत आउने गरेका छन्।’
शरीरमा आवश्यकताभन्दा बढी रौं हुनु एउटा रोग पनि हुन सक्छ। यस्तो समस्या भएकाले वाक्सिङमा निर्भर रहनुको सट्टा एक पटक छाला रोग विशेषज्ञ वा इन्ड्रोक्राइनोलजिस्टको सल्लाह लिनुपर्ने धुलिखेल अस्पतालका छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र कर्ण सुझाउँछन्।
वाक्सिङ के हो?
वाक्सिङ रौंलाई जरैदेखि हटाउने एउटा प्रभावकारी र प्रचलित तरिका हो। शरीरमा भएको न चाहिने कपाल लाई हटाउने यो अस्थायी विधि हो।
‘वाक्सिङ प्रक्रियाले रौंलाई जरादेखि नै उखेलेर दुई सातादेखि दुई महिनासम्मको लागि राहत दिन्छ,’ डा. कर्ण भन्छन्, ‘वाक्सिङ गर्न छालामा तरल मैनको एक तह लगाएर यो सुकेपछि कपाल उम्रने दिशातर्फ एकै झडामा खिचिन्छ। यसरी मैनसँगै कपाल बाहिर आउँछ।’
यो प्रक्रियाअन्तर्गत धेरै बढी संख्यामा रौंलाई जरोको स्तरसम्मबाट हटाइन्छ। यसपछि रौं पुन: उम्रँन समय लिन्छ। यो प्रक्रिया महिलामा लोकप्रिय रहेको जनाउँदै डा.कर्ण उनीहरू हात, खुट्टा, काखी आदिको कपाल यसै विधिबाट हटाउन रुचाउने बताउँछन्।
कति प्रकारको वाक्सिङ
शरीरका विभिन्न भागबाट नचाहिने रौं हटाएर आकर्षक बनाइने वाक्सिङका लागि सामान्यत: तीन तरिका छन्। यसअन्तर्गत तातो (हट), न्यानो (वार्म) र चिसो (कोल्ड) वाक्सिङ छन्। डा. कर्ण भन्छन्, ‘हट र वार्म वाक्सिङ सामान्यत: ब्युटिपार्लरले उपयोग गर्छन्।’
कर्णका अनुसार, हट वाक्सिङमा पेराफिन वाक्स (मैन) सँगै मौरीको मैन (बी वाक्स), रेजिन, पेट्रोलियम, मिनरल या भेजिटेबल तेललाई ५० डिग्री सेन्टिग्रेडको उच्च नियन्त्रित तापमा पगालिन्छ।
यसपछि यसलाई मल्हम फैलाउने औजार (स्पेचुला) ले रौंको दिशातर्फ लामो साँघुरो बेल्डका रूपमा फैलाइन्छ। यसपछि वाक्सलाई चिसो हुन दिइन्छ र कडा भएको वाक्स हटाइन्छ। यसरी वाक्ससँग टाँसिएर रौँ बाहिर निस्किन्छ। यो विधि रौँ केही समयका लागि हटाउन चाहिँ उपयुक्त छ।
वार्म वाक्सिङ सबैभन्दा लोकप्रिय रहेको कर्णको अनुभव छ। यसमा तातो तरल पदार्थ शरीरको सम्बन्धित भागमा पहिलेको विधि (हट वाक्सिङ) मा जस्तै लगाइन्छ। तर, तरल पदार्थको माथि कपडाको टुक्रासमेत लगाइन्छ। यो तरल पदार्थ चिनीको चासनीले बनेको हुन्छ।
यसमा जिंक अक्साइड, चिनी र कागतीको रस हुन्छ। कसैले महसमेत प्रयोग गर्छन्। यो कम तापक्रम (४३ डिग्री सेन्टिग्रेड) मा लगाइने उल्लेख गर्दै डा. कर्ण भन्छन्, ‘यो राम्ररी रौंमा टाँसिन्छ र यसबाट हात, खुट्टा, अनुहार, काखी, भुँडी, बिकनी लाइन आदिका धेरै साना रौं अर्थात् २.५ मिलिमिटरसम्मका रौँ उखेलिन्छ।’
यो उपचार तुलनात्मक रूपमा पीडारहित हुनुका साथै हट वाक्सिङसँग मिल्दोजुल्दो हुन्छ। कोल्ड वाक्सिङ पनि यसरी नै गरिन्छ। यो विधि धेरै कम खर्चिलो र धेरै प्रभावकारी छ।
वाक्सिङ कसले नगर्ने?
यूएस फुड एन्ड ड्रग एडमनिस्ट्रिेसन (एफडीए) का अनुसार, मधुमेह वा रक्तसञ्चारसम्बन्धी समस्या (सर्कुलेटिङ प्रोब्लम) भएकाहरूले वाक्सिङ गर्नु हुन्न।
वाक्सिङ गर्दा वाक्सलाई भेरिकोज भेन्स (फुलेको रक्तनली), कोठी, मुसा (वार्ट) मा लगाउनु हुन्न। वाक्सलाई परेला, नाक, कान, निप्पल, प्रजनन अंगसम्बन्धी क्षेत्र, जलन भइरहेको छाला, फाटेको र सूर्यको प्रकाशले डढेको छालामा समेत लगाइँदैन।
वाक्सिङ गर्दा हुन सक्ने समस्या
हट वाक्स गर्दा छाला पोल्न सक्ने भएकाले विशेष सावधानी अपनाउनुपर्ने औंल्याउँदै डा. कर्ण भन्छन्, ‘वाक्सिङले फलिक्युलाइटिस अर्थात् रौंको जरोमा संक्रमण हुने, सुन्निने जस्तो समस्या हुन सक्छ।’
फलिक्युलाइटिस मुख्य रूपमा ब्याक्टेरिया वा फंगल संक्रमणले गर्दा हुन्छ। सबैभन्दा पहिले यो सानो रातो गाँठो वा सेतो पिम्पलका रूपमा रोम छिद्रमा देखिन्छ। यसपछि संक्रमण निको नहुने पाप्रा भएको घाउका रूपमा फैलिन्छ।
‘वाक्सिङ सुन्दरता पाउने सुरक्षित तरिका होइन,’ जामा डर्मेटोलजीमा प्रकाशित एउटा अध्ययन समीक्षालाई उल्लेख गर्दै डा. कर्ण भन्छन्, ‘बिकनी लाइन वाक्सिङले यौनजन्य संक्रमण (एसटीआई) हुने जोखिम बढाउँछ।’
वाक्सिङका सामान दूषित भए ब्याक्टेरिया शरीरभित्र जान सक्छ र त्यसले समस्या निम्त्याउन सक्छ। वाक्सिङ गर्ने बेला औजार संक्रमणमुक्त हुनु यसको पहिलो सर्त हो।
त्यस्तै, वाक्सिङपछि टाइट लुगा लगाउँदा पोल्ने, सुन्निनेजस्ता समस्या हुन सक्ने औंल्याउँदै डा. कर्ण भन्छन्, ‘वाक्सिङ गराएपछि सुतीको भित्री वस्त्रसँगै लुज लुगा लगाउनु उपयुक्त हुन्छ।’ वाक्सिङ गराउने पार्लरसमेत सफासुग्घर हुनुपर्ने औँल्याउँदै डा. कर्ण भन्छन्, ‘वाक्सिङ गर्ने व्यक्तिका हातमा कुनै संक्रमण भएको हुनु हुन्न। हात सफा हुनुपर्छ वा त्यस्ता व्यक्तिले डिस्पोजेबल ग्लोभ्ज लगाएको हुनुपर्छ।’