अस्पतालको एम्बुलेन्स ग्यारेजमा थन्कियो
खोटाङ, १९ मंसिर । भारत सरकारले जिल्ला अस्पताल खोटाङलाई उपलब्ध गराएको एम्बुलेन्स सात महिनादेखि अलपत्र अवस्थामा थल्किएको छ ।
वर्षाका कारण सडक अवरुद्ध भएपछि गत जेठ दोस्रो हप्तादेखि दिक्तेलस्थित रत्नपार्कको ग्यारेजमा मर्मतका लागि राखिएको एम्बुलेन्स अलपत्र परेको हो । एम्बुलेन्स चालक हरि गिरीले अस्पताल प्रशासनको गाडी चलाउन थालेपछि एम्बुलेन्स सञ्चालनमा ल्याउन नसकिएको अस्पताल स्रोतले जनाएको छ । एम्बुलेन्स नचलेपछि पछिल्लो समय जिल्लामा उपचारका लागि अस्पताल ल्याइने बिरामीलाई सास्ती भएको छ ।
बिरामीलाई डोको तथा स्ट्रेचरमा बोकेर अस्पताल ल्याउनुपरेको बिरामीका आफन्तले बताएका छन् । बिरामीलाई मान्छेका भरमा डोको तथा स्ट्रेचरमा बोकाएर अस्पताल पु¥याउनुपर्दा एम्बुलेन्सको भाडाभन्दा बढी खर्च हुने गरेको बिरामीका आफन्तले बताएका छन् ।
एम्बुलेन्स तत्काल सञ्चालनमा ल्याउने तयारीमा आफू रहेको जिल्ला अस्पताल खोटाङका प्रमुख डा.रामबहादुर केसीले बताए । ‘वर्षात्का कारण अवरुद्ध सडक पनि भर्खरै मात्र सञ्चालनमा आएको छ,’ उनले भने, ‘रुट र भाडादर निर्धारण गरेर तत्काल सञ्चालनमा ल्याउने तयारीमा रहेका छौँ ।’
जिल्लाका सबै क्षेत्रका बिरामीलाई सहज र तत्काल अस्पताल पु¥याउने उदेश्यले भारतीय सरकारको सहयोगमा तीन वर्षअघि जिल्लामा एम्बुलेन्स ल्याइएको थियो । भारतीय सरकारको सहयोगमा उपलब्ध गराइएको सो एम्बुलेन्स थनिकएर बसेपछि पछिल्लो समय जिल्लावासी आक्रोशित छन् ।
(आजको नयाँ पत्रिका दैनिकमा समाचार छ)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>