पाटनले एमबीबीएस नतिजा पुन: प्रकाशन गर्ने
काठमाण्डौं, १८ मंसिर । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबीबीएस सातौं समूहको प्रवेश परीक्षाको गत बुधबार प्रकाशित नतिजामा त्रुटि भएकाले पुन: अर्को नतिजा प्रकाशन गर्ने जनाएको छ । बुधबार प्रकाशित नतिजामा प्राविधिक त्रुटि भएको प्रतिष्ठानले प्रेस विज्ञप्ति जारी गर्दै जनाएको हो ।
प्रतिष्ठानकी डिन डा. सिर्जना श्रेष्ठले त्रुटिबारे जानकारी पाएपछि स्वास्थ्य तथा शिक्षा मन्त्रालय र नेपाल मेडिकल काउन्सिलका प्रतिनिधिको सहभागितामा रुजु गरी नतिजा पुन: प्रकाशन गर्न लागिएको बताइन् । ‘विद्यार्थीको आईडी नम्बर कोडिङ र डिकोडिङ गर्ने क्रममा सफ्टवेयरमा प्राविधिक गडबडीका कारण गलत आईडी नम्बर प्रकाशित भएको छ,’ उनले भनिन्, ‘प्रयोगात्मक तथा सीपमूलक परीक्षाको तयारी गर्ने क्रममा त्रुटिबारे थाहा पायौं ।’ आजको कान्तिपुर दैनिकमा समाचार छ ।
उनका अनुसार परीक्षामा अनुपस्थित विद्यार्थीको नामसमेत नतिजामा प्रकाशित भएको थियो । प्रतिष्ठानका अनुसार प्रवेश परीक्षाको प्रश्नपत्र तयारी र उत्तरपुस्तिका परीक्षण अस्ट्रेलियाको न्यु क्यासल युनिभर्सिटीले गर्छ । युनिभर्सिटीमा उत्तरपुस्तिका परीक्षणका लागि प्रतिष्ठानले परीक्षार्थीको नामको सट्टा छुट्टै सफ्टवेयरमा ‘कोडिङ डिकोडिङ’ गरी नयाँ ‘आईडी कोड’ बनाई पठाउने गर्छ । युनिभर्सिटीबाट छनोट हुने विद्यार्थीको ‘आईडी कोड’ पुन प्रतिष्ठानमा आउँछ । प्रतिष्ठानले उक्त आईडी नम्बरलाई पुन: डिकोडिङ गरी नतिजा प्रकाशन गर्छ । यसपटक भने युनिभर्सिटीबाट पठाइसकेपछि नतिजा प्रकाशन गर्न कोडिङ डिकोडिङ गर्ने क्रममा सफ्टवेयरमा गडबडी आएको प्रतिष्ठानले जनाएको छ ।
उक्त विश्वविद्यालयले मंसिर १४ मा प्रतिष्ठानलाई नतिजा पठाएको थियो । प्रतिष्ठानले मंसिर १५ मा नतिजा सार्वजनिक गरेको थियो ।
प्रतिष्ठानमा परीक्षा, विद्यार्थी भर्ना तथा छात्रवृत्ति सम्बन्धमा डिनको अध्यक्षतामा विद्यार्थी भर्ना तथा छात्रवृत्ति समिति गठन गरिएको छ । प्रतिष्ठानका रजिस्ट्रार केबी भण्डारीले प्राविधिक त्रुटिले उब्जिएको समस्या निराकरणबारे सम्पूर्ण सरोकारवाला निकायलाई जानकारी गराइसकेको बताए । ‘त्रुटि लुकाइ अगाडि बढ्नुभन्दा सच्याएर सबल र सक्षम विद्यार्थीलाई न्याय प्रदान गर्नु उचित ठानी अगाडि बढेका हौं,’ उनले भने, ‘त्रुटिबाट सम्बन्धित विद्यार्थी र अभिभावकमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं ।’
गत कात्तिक २७ मा भएको प्रवेश परीक्षामा १ हजार ७ सय ६९ विद्यार्थी सहभागी भएका थिए भने ९५ जना अनुपस्थित थिए ।
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>