पतिले दिएको रोग
घोराही, १७ मङ्सिर । दाङ हेकुलीकी ३७ वर्षीया महिला शरीरमा ‘एचआईभी/एड्स' पालेरै तीन सन्तानको भविष्यका लागि बाँचिरहेकी छन् । उनका पति २०६० सालमा बिते । छुट्टीमा घर आउने तथा फेरि कमाउन भारत फर्कने उनका पतिको नियमित प्रक्रिया लामो समय चल्यो । उनी पनि धेरै पटक पतिका साथ भारतमा गएर बसिन् । जिन्दगीको लामो यात्रामा आफ्ना पतिलाई गम्भीर रोग लागेको भन्ने उनलाई पत्तै भएन । न पतिले नै कहिल्यै उनलाई यो रोगका बारेमा भने ।
२०५९ सालको अन्त्यतिर पतिलाई एचआईभी संक्रमणले अन्तिम चरणमा पुर्याइसकेको उनले थाहा पाइन् । औषधिउपचार भयो । केही सीप लागेन । पति बिते । पति बितेपछि चिकित्सकले उनी तथा छोराछोरीलाई पनि एचआईभी परीक्षण गराउन सल्लाह दिए । सबैको स्वास्थ्य परीक्षण भयो । दुई छोरा र छोरीको नतिजा निगेटिभ भयो । उनलाई पोजेटिभ । आजको अन्नपूर्णमा समाचार छ ।
‘मैले त्यतिबेला भगवान्लाई धन्यवाद दिएँ, किनकि छोराछोरीको काल पनि मैले बोकेकी थिएँ', उनले भनिन्, ‘अहिले छोराछोरीको भविष्यका लागि पतिको रोग पालेर बाँचिरहेको छु ।' संक्रमितको शरीरमा जीवाणुसँग लड्ने ताकत दिने एआरभी औषधि उनले नियमित रूपमा खाइरहेकी छन् ।
‘पतिले छाडेको रोगले कति बेला लैजान्छ थाहा छैन, औषधिका भरमा अझै केही वर्ष बाँच्छु भन्ने त लागेको छ', रोग नलागेका अन्य महिलाजस्तै तन्दुरुस्त देखिने उनले भनिन् । पति मुम्बईमा काम गर्ने श्रीगाउँकी ३३ वर्षीया अर्की महिला पनि एचआईभी संक्रमणबाट पीडित छन् ।
भारतबाट छुट्टीमा आएका बेला उनका पति बिरामी परे । उनलाई उपचारका लागि नेपालगन्ज लगियो । परीक्षण गर्दा एचआईभी पोजेटिभ देखियो । त्यो पनि अन्तिम अवस्थामा । परीक्षणपछि चिकित्सकले उनलाई केही भनेनन् । ‘तपाईं नआत्तिनुस्, आफन्तलाई बोलाउनुस् मात्रै भने', उनले भनिन्, ‘घरबाट दिदीलाई बोलाएँ ।
दिदीहरूलाई डाक्टरले मेरो पनि स्वास्थ्य परीक्षण गराउन भनेछन् । पतिको रोगबारे दिदीहरूबाटै थाहा पाइन् उनले । पतिलाई अन्तिम अवस्थामा पुर्याइसकेको एचआईभी उनलाई पनि सरेको रहेछ । ‘अब यसमा हाम्रो के दोष थियो र ? सुरुसुरुमा खुब रोएँ, मरेका पतिलाई गाली पनि गरें तर अहिले चित्त बुझाएर बाँचेकी छु', उनले भनिन्, ‘औषधिको डोज राम्रो भयो भने हामी पनि अरूजस्तै बाँच्न सक्ने रहेछम् ।'
उनीहरूमात्रै होइन दाङमा एक सय १० जना एचआईभी संक्रमित महिला छन् । तीमध्ये करिब ९७ प्रतिशत महिला पतिकै कारण संक्रमित भएका हुन् । २० जना संक्रमित महिलाको मृत्यु भइसकेको छ ।
रगत परीक्षणका क्रममा पोजेटिभ देखिएका एचआईभी संक्रमित दाङमा दुई सय २९ जना छन् । तीमध्ये ५० जना संक्रमित पुरुषको मृत्यु भइसकेको छ भने एकजना तेस्रो लिंगी संक्रमितको पनि मृत्यु भएको छ । जिल्लामा २७ जना बालबालिका बाबुआमा कारण जन्मिँदै संक्रमित भएका छन् ।
एकाध महिला पुरुष संक्रमित खुलेर समाजमा बसिरहे पनि धेरै व्यक्ति समाजको डरका कारण खुल्न सकेका छैनन् । दाङ नारायणपुरका एक जोडीमा पनि एचआईभी पोजेटिभ भेटिएको छ । पति १५–१६ वर्षसम्म भारतमा काम गर्न बसे । पत्नी धेरै बिरामी भएपछि सुरुसुरुमा गाउँमै झारफुक भयो । सन्चो नभएपछि स्थानीय मेडिकलमा परीक्षण भयो ।
त्यहाँका स्वास्थ्यकर्मीले आशंका गरेपछि उनीहरू नेपालगन्जमा परीक्षण गराउन गए । उनलाई एचआईभी पोजेटिभ देखियो । पतिको पनि स्वास्थ्य परीक्षण गराउँदा उनमा संक्रमण देखियो । ‘म भारतमै बसें, कहिलेकाहीं बिरामी हुन्थें तर रगत चेक नगाएरै औषधि खाएँ ।
शंका त लागेको थियो त्यत्रो वर्ष इन्डियामा बसेर गर्नुनगर्नु काम गरियो होला, तर समाजमा के भन्लान् भनेर चेक गराइन अहिले त पत्नीलाई पनि सरिसकेछ ।' उनीहरूको एउटा छोरो छ । उनलाई भने संक्रमण छैन । ‘धेरैजसो आफन्त र छरछिमेकलाई थाहा छैन । बिस्तारै हामी पनि बाहिर खुल्नेछौं तर छोराछोरीका लागि खुम्चिएर बाँच्नुपरेको छ', पत्नी भन्छिन्, ‘पतिकै कारणले यो रोगले भेट्टायो । पहिलापहिला त पतिले धोका दिएछन् भनेर धेरै रोएँ । अहिले सँगै बाँचेका छौं ।'
एचआईभी/एड्स क्षेत्रमा क्रियाशील दाङ प्लसका कार्यक्रम निर्देशक प्रकाश नेपालीका अनुसार एकाध पुरुषलाई मात्रै पत्नीका कारण यो रोग सरेको देखिए पनि धेरै महिलामा पतिका कारण सर्ने गरेको छ ।
हालै दाङ प्लस र रेडक्रस सोसाइटी दाङले एचआईभी संक्रमितका एकदिने ‘लाइफ सेयरिङ' गोष्ठी राखेको थियो । त्यसमा सहभागी करिब २० जना संक्रमितमध्ये १६ जना महिला थिए । उनीहरू सबैले पतिका कारण आफूलाई एचआईभी सरेको बताएका थिए । धेरैका पति बितिसकेका छन् ।
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>