नवजात शिशुले बीसीजी खोप पाएनन्



Download our app to get more features

विराटनगर (मोरङ) १६ मंसिर । विराटनगरमा सुईको अभाव हुँदा नवजात शिशुहरु बीसीजी खोप लगाउन वञ्चित भएका छन् । क्षयरोगको संक्रमणबाट जोगाउन भर्खरै जन्मिएका शिशुलाई यो खोप लगाइन्छ । तर खोप लगाउन प्रयोग हुने औषधि उपलब्ध भए पनि सुईको अभावमा विराटनगरसहित पूर्वका धेरै ठाउँमा समस्या भएको हो । 

पर्याप्त मात्रामा औषधी भएपनि सुईको अभावमा कतिपय स्वास्थ्य केन्द्रमा सेवा दिन नसकिएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका खोप सुपरभाइजर उदेस श्रेष्ठले बताए । उनका अनुसार विराटनगरसहित जिल्लाका कतिपय नगरपालिकामा सुईको अभाव छ ।

‘स्टक राखेका स्वास्थ्य केन्द्रमा सेवा रोकिएको छैन्,’ श्रेष्ठले भने , ‘तर सुई नै नभएका स्वास्थ्य केन्द्रबाट खोप लगाउने काम हुन सकेको छैन् ।’ विराटनगर उपमहानगरपालिकामा सबैभन्दा धेरै सेवा प्रभावित बनेको श्रेष्ठले बताए ।

पूर्वाञ्चलमा केन्द्रबाट नै सुई आउने गरेको तर अहिले नयाँ ठेक्का प्रक्रिया पूरा भएपनि सुई आई नसकेकाले स्वास्थ्य केन्द्रको सेवा प्रभावित बनेको बताइएको छ । शिशु जन्मनासाथ दिईने बीसीजी सेवा प्रभावित बनेको विषयबारे केन्द्रलाई समेत जानकारी गराइएको क्षेत्रीय मेडिकल मेडिकल स्टोरले जनाएको छ ।

सुईको अभाव भएपछि विराटनगरस्थित कोसी अञ्चल अस्पतालको संस्थागत परिवार नियोजन सेवा केन्द्रमा ल्याइने बालबालिका त्यसै फर्काउने गरिएको छ । केन्द्रको कर्मचारी मेनिता राईले भनिन्, ‘अढाई महिनादेखि नै खोप लगाउन पाएका छैनौँ । पहिले दैनिक ४० देखि ४५ जना बालबालिकालाई बीसीजी खोप लगाउने गरिएको थियो ।’ नेपाल परिवार नियोजन संघमा सञ्चालित कार्यक्रम पनि प्रभावित बनेको छ ।

पूर्वाञ्चल क्षेत्रीय मेडिकल स्टोर विराटनगरका अनुसार नयाँ आर्थिक वर्ष सुरु भएयता सुई आएको छैन् । स्टोरका प्रमुख भरत साहले भने, ‘यो आर्थिक वर्षको ४ महिना बितिसक्दा समेत बीसीजी लगाउने खोप आएको छैन् । अवस्था हेरेर गत वर्षकै स्टकबाट खटाएर दिने गरेका छौँ । सबै स्वास्थ्य केन्दं्रले पाएका छैनन् ।’ पूर्वाञ्चलमा एक वर्षमा आठ लाख बीसीजी खोप र सुई आवश्यक पर्ने उनले बताए ।

टेन्डर प्रक्रियामा गई सकेकाले अब धेरै दिनसम्म अभाव नहुने अपेक्षा गरिएको जनस्वास्थ्य कार्यालयका खोप सुपरभाइजर श्रेष्ठले बताए । मोरङमा तीन सय ३३ वटा खोप केन्द्र छन् । त्याँहाबाट नवजात शिशुलाई खोप दिईने प्रबन्ध गरिएको छ । श्रेष्ठले भने, ‘सहयोगी संस्था युनिसेफले तत्काललाई समस्या भएकोले सुई ल्याउन पहल गरिरहेको छ ।’

(आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ)
 

Last modified on 2017-07-25 16:06:37

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts