किशोर बढी कुपोषित



Download our app to get more features

काठमाडौँ,१४ मंसिर । नेपालमा किशोरी भन्दा किशोर बढी कुपोेषित भएको पाइएको छ ।

एक अध्ययन अुसार ७१ प्रतिशत किशोर तथा ५९ प्रतिशत किशोरी कुपोषणको सिकार भएको पाइएको छ । कुपोषित हुनेमा सहर र ग्रामीण क्षेत्रमा बस्नेबीच दुई प्रतिशतको मात्रै अन्तर रहेको छ भने अन्य जातिको तुलनामा मुस्लिम र तराईका जनजातिका किशोर–किशोरीमा कुपोषणको जोखिम बढी रहेको पाइएको छ ।

नेपालको भौगोलिक क्षेत्र अनुसार हिमाल, पहाड र तराईका १३ जिल्लाका १० देखि १९ वर्ष उमेर समूहका किशोर–किशोरीको प्रतिनिधित्व हुने गरी गरिएको सरकारी सर्वेक्षणले नेपालको ७१ प्रतिशत किशोर र ५९ प्रतिशत किशोरी कुपोषण्को सिकार भएको देखाएको हो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गत वर्ष गरेको अध्ययनले नेपालमा किशोर–किशोरी नराम्रोसँग कुपोषणको सिकार भएको देखाएको हो ।

परिषद्ले १३ जिल्लाबाट ती हजार ७७३ जना किशोर–किशोरीमा गरेको अध्यनले सहरमा बस्ने ६३ प्रतिशत र ग्रामीण भेगमा बस्ने ६५ प्रतिशत किशोर–किशोरीमा कुपोषण देखिएको छ । अध्ययन अनुसार उनीहरुको रगतमा रहेको लौहतत्वको मात्रा पनि मापन गरिएको थियो ।

परिषद्का सदस्य सचिव डा. खेमबहादुर कार्कीका अनुसार परिषद्ले गरेको अध्ययनमा कुपोषणको जोखिम हिमाल र पहाडमा भन्दा तराईमा बढी देखिएको छ । डा. कार्कीले अन्य जातिको तुलनमा मुस्लिम र तराईका जनजातिका किशोर–किशोरीमा कुपोषणको जोखिम बढी मात्रामा रहेको बताए ।

“सरसफाइको पूर्वाधार, चर्पीको पहुँच नभएका किशोर–किशोरीमा कुपोषणको जोखिम बढिरहको देखाएको छ” कार्कीले भने, “जसअनुसार फलफूल र तरकारीको नियमित रुपमा सेवन गर्ने किशोर–किशोरीमा भने कुपोषणको जोखिम कम छ” ।

अध्ययनले ३५ प्रतिशत किशोर–किशोरीमा रक्तअल्पत्ता देखिएको छ । तीमध्ये २७ प्रतिशत किशोर र ४२ प्रतिशत किशोरी रक्तअल्पत्ताको सिकार भएको पाइएको छ । मुस्लिम र तराईका जनजातिका किशोर–किशोरीमा धेरै कुपोषण भएको अध्ययनले देखाएको छ ।

परिषद्ले एक वर्ष लगाएर गरेको अनुसन्धान अनुसार धेरै कुपोषण र रक्तअल्पत्ता जस्ता पोषण सम्बन्धी समस्या देखिएको क्षेत्रमा रोकथाम गर्नका लागि किशोरकिशोरीको व्यक्तिगत सरसफाइ, स्वच्छ र सन्तुलित खानपान गर्नुपर्ने खालका स्वास्थ्य कार्यक्रम गर्नुपर्ने आवश्यक रहेको देखाइएको छ ।

परिषद्ले लामो समय अनुसन्धान गरी निकालेको निष्कर्ष अनुसार असन्तुलित खानपान र व्यक्तिगत सरसफाइका नभएको कारण धेरै किशोरकिशोरीमा कुपोषण देखिएको डा.कार्कीको भनाई छ ।

यसैगरी परिषद्ले धादिङ, सिन्धुपाल्चोक र भोजपुर जिल्लामा गरेको सर्वेक्षण अनुसार नवजात शिशु मृत्युदर क्रमशः प्रति एक हाजर जीवित जन्ममा १२.६, १४.४ र २२.२ प्रतिशत रहेको छ ।

(आजको गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले लेखेको समाचार  )
 

Last modified on 2017-07-26 13:51:34

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts