निद्रा र कलेजोको क्यान्सर सम्बन्ध
सन् १९८० को दशकयता कलेजोको क्यान्सर हुने दर तीन गुणाले बढेको छ । हालै मुसामा गरिएको एउटा अनुसन्धानबाट नियमित रुपमा राम्रोसँग निद्रा नलाग्दा कलेजोको रोग लाग्ने र अन्ततः त्यो कलेजोको क्यान्सरमा परिणत हुने तथ्य प्रकाशमा आएको छ ।
अमेरिकाको टेक्सासमा रहेको बेलोर कलेज अफ मेडिसिनको अनुसन्धानको विवरण क्यान्सर सेल जर्नलमा दिइएको छ । व्यस्त जीवनले निद्राको समय कम गरेको छ, जसले गर्दा विकसित देशहरुमा मात्र होइन गरिब देशहरुमा समेत मोटोपन र कलेजोको क्यान्सरका रोगी बढेको अनुसन्धान टोलीको भनाइ छ ।
हाम्रो मस्तिष्कमा रहेको जैविक घडीले शरीरको तन्तु र अङ्गहरुको सर्केडियन रिदमलाई नियन्त्रण गर्छ । निद्रा र शरीरको आन्तरिक व्यवस्थापनका लागि यो प्रक्रिया अत्यावश्यक छ । राति काम गर्ने मानिसमा सर्केडियन घडी असामान्य हुने तथ्य पहिले नै थाहा भइसकेको छ । राति अबेरसम्म काम गर्ने मानिसको शरीरमा कोषीय स्तरमा असर पर्ने र त्यसले क्यान्सरसम्म उत्पन्न गर्ने विभिन्न अनुसन्धानबाट बाहिर आएको तथ्य हो । अहिले आएर अनुसन्धान टोलीले निद्रा नपुगेमा कलेजोको क्यान्सरको जोखिम हुने जानकारी दिएको छ । अमेरिकन क्यान्सर सोसाइटीले विश्वमा हरेक वर्ष सात लाख मानिसमा कलेजोको क्यान्सर पत्ता लाग्नेगरेको बताएको छ । यसमा पनि महिलाको दाँजोमा पुरुषलाई कलेजोको क्सान्सर बढी देखिएको छ ।
कलेजोको एक प्रकारको क्यान्सर हेपाटोसेल्युलर कार्सिनोमा उत्पन्न गर्नमा मोटोपनालाई मुख्य दोष दिइन्छ । कलेजोमा जम्ने अतिरिक्त बोसोले कलेजोमा समस्या उत्पन्न गर्छ, जुन मोटोपना भएका मानिसमा बढी हुन्छ । नियमित रुपमा निद्रा नपुग्ने भएमा मान्छे मोटाउन थाल्छ । अनि उसको कलेजोमा बोसो जम्ने समस्या उत्पन्न हुन्छ ।
(आजको गोरखापत्र दैनिकबाट)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>