गरिबलाई मृगौलाको ‘भारी’



Download our app to get more features

काठमाण्डौं, ५ मंसिर ।  ‘भगवानले कसैलाई गरिब नबनाइदिऊन्, बनाइगए उसको गर्भमै मृगौला हटाइदिऊन् ।’

पोकलकुमारी दाहालको मनमा त्यसै यस्तो कुरा खेल्दैन । गरिब भए पनि आफूलाई सुखी ठानिरहेकी उनको जिन्दगीमा तब दु:खको ज्वारभाटा मडारियो, जब उनको मृगौला ‘फेल’ भयो ।
ओखलढुंगा बर्नालुकी ४१ वर्षीया पोकलकुमारी, त्यसैले भन्छिन्, ‘मर्न पनि गाह्रो, बाँच्न पनि गाह्रो ।’ आजको कान्तिपुर दैनिकमा समाचार छ ।

भक्तपुर दूधपाटीस्थित भाजु पुखु: (पोखरी) को डिलमा भ्वाङैभ्वाङ परेका केही टेन्ट छन् । भूकम्पपछि घरमा बस्न नसक्दा स्थानीयवासीलाई दाताले दिएका बासस्थान हुन् ती । परकम्प घट्दै गएपछि सबै घर–घर फर्किए । सग्ला टेन्ट हुनेले उठाएर लगे । छाडेर जाने त्यहीं रहिरहे । तिनैमध्ये एउटाको प्वालबाट धूवाँ निस्किइरहेको थियो । 

त्यही टेन्टभित्र एक वर्षदेखि पोकलकुमारी, उनका श्रीमान् रत्नप्रसाद र कान्छी छोरी बस्दै आएका छन् । बिरामी ज्यान अँध्यारो, साँघुरो र चिसो भुइँमा लडिरहेको छ । 

यति गम्भीर र संवेदनशील रोगी बस्ने टेन्टमा न शौचालय छ, न खानेपानी । न बिजुली । ‘पानी लिन ढुंगे धारामा (पति) जानुहुन्छ,’ उनले भनिन्, ‘शौचालयका लागि क्याम्पस जान्छौं । त्यहाँ पनि कहिलेकाहीं ताला लगाइएको हुन्छ ।’ 
०००

२०७१ सुरुतिर उनलाई स्वाँस्वाँ हुने, पेट पोल्ने, खाएको नपच्नेजस्ता लक्षण देखियो । दुखाइ असह्य भएपछि छोरालाई लिएर जेठमा काठमाडौं आइन् । त्रिवि शिक्षण अस्पतालमा देखाउँदा डाक्टरले ‘मृगौला खराब भएको छ, दुइटैलाई छोइसकेको छ’ भन्दै औषधि लेखिदिए । तीन महिना खाएर भेट्न आउनू भनेका थिए । उनले असोज १० गते डाक्टरलाई भेट्नु थियो । बेलामा पैसा भएन । ‘बिस्तारै भेट्दा होला नि’ भन्नेसमेत लाग्यो । खेलाँचीमै मंसिर बित्यो । ब्यथाले निकै च्याप्दै गयो ।

गाउँका अरूले सल्लाह दिए, ‘धरानमा राम्रो उपचार हुन्छ । हामी पनि जानुछ, त्यतै जाऔं ।’ उनको मन बहकियो । उनी छोरालाई लिएर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगिन् । त्यतिन्जेल मृगौला फेल भइसकेको रहेछ । डाक्टरले डायलासिस सुरु गर्नुपर्ने र प्रत्यारोपण गर्नुपर्ने लेखिदिए । साथमा ‘ठूलो मान्छे’ नल्याएको भन्दै डाक्टरले डायलासिस गर्न भने मानेनन् । औषधि दिएर पठाए । उनी माघ र चैतमा फेरि धरान पुगिन् । औषधि थप्दै गइन् । 

२०७२ वैशाखमा भूकम्पको केही दिनपछि उनी निकै सिकिस्त भइन् । गाउँलेले धरानमा नअलमलिई काठमाडौं लैजान सल्लाह दिए । पति रत्नप्रसादले जिल्ला जनस्वास्थ्यमा गएर विपन्न रहेको प्रमाणपत्र बनाए । त्यस्तो प्रमाणपत्रका आधारमा सरकारी अस्पतालहरूले मृगौलालगायत ८ प्रकारका रोगमा एक लाख रुपैयाँसम्म छुट दिने प्रावधान छ । 

‘त्यही कागज देखाउँदा एक लाखको उपचार हुन्छ भन्ने आसमा हामी काठमाडौं आयौं,’ रत्नप्रसाद भन्छन्, ‘पत्र बनाउनेले काठमाडौं होइन, धरानको अस्पताललाई लेखिदिएछन् । मैले बुझाउन सकिनँ वा उनीहरूले कुरा बुझेनन् । अक्षर नचिन्दा यो गति हुँदो रहेछ ।’ 

त्रिवि शिक्षणले बीपीलाई सम्बोधन गरिएको ‘गरिबको प्रमाणपत्र’ लिन मानेन । साथमा पैसा थिएन । निर्विकल्प बाध्यता धरान जानुमै भयो । उनीहरूले पूर्वको गाडी समाए । त्यहाँका डाक्टरले डायलासिस गर्न कागज बनाए । मितिसमेत तोके । 

‘डायलासिसले मात्रै हुँदैन । मृगौला फेर्न महँगो पर्छ, सहन उस्तै गाह्रो,’ गाउँकै एक जनाले सिफारिस गरे, ‘मोरङको पथरीमा एक जना मान्छे छन् रे, उनको दबाई खायो भने यो रोग चट हुन्छ भन्ने पत्रिकामा छापिएको छ ।’ उनको मन बरालियो । त्यतै जाउँजाउँ भयो । त्यहाँ कुलबहादुर चाम्लिङको जडिबुटी पसल रहेछ । उनले २० हजार रुपैयाँमा ४५ दिनको औषधि दिए । 

‘औषधि ग्यालेनभरि झोल थियो । 

त्यही लिएर गाउँ फर्किएँ,’ उनले सुनाइन्, ‘४० दिनै नभई सिकिस्तै भएँ । बँचेको औषधि फालिदिएँ ।’ 

मान्छे कति निर्दयी !

उनी हेर्दा अचेत थिइन् । ‘मेरो होस त थिएन, तर सबै कुरा बुझ्थें,’ उनले सुनाइन्, ‘अब बाँच्दिनँ भनेर गाउँलेले दस दान गर्न लगाए । एक जनाले त मरिहाल्छे, दु:ख र खर्च मात्रै हुन्छ, बरु धोक्रामा हालेर भीरबाट लडाइदिनू भनेको सुनें ।’

उनलाई भने बाँच्न रहर थियो । भित्रैबाट । मनमनै उपचार गर्न लगिदिए हुन्थ्यो भन्ने थियो । अलि पढालेखाले तुरुन्त काठमाडौं लैजान सल्लाह दिए । २०७२ भदौ ६ गते उनलाई बोकेर रुम्जाटार विमानस्थलसम्म ल्याई श्रीमान्ले काठमाडौं ल्याए । 

अब भने उनको दुई/दुई दिनमा डायलासिस सुरु भयो । सरकारले दुई वर्षसम्म नि:शुल्क डायलासिस भनेको थियो । 

पोकलकुमारीका अनुसार २४ दिन बसेर उपचार गराएको एक लाख १० हजार रुपैयाँ तिर्नुपर्‍यो । ‘शिक्षण अस्पतालले अब यहाँ ठाउँ छैन, अन्तै लानुहोस् भनेर बूढासँग किचकिच गर्न थाल्यो । साँझमा उहाँले सबै हिसाब तिरिदिनुभएछ,’ उनले २४ औं दिनको घटना सुनाइन्, ‘तत्कालै स्टाफहरू आएर बेडबाट जबर्जस्ती बाहिर निकालिदिए । रातभरि चिसो छिँडीमा बितायौं ।’

घरबाट आउँदा आफन्त र शुभचिन्तकले ऋणबापत दिएको ७० हजार रुपैयाँ ल्याएका थिए । त्यसले नपुगेपछि काठमाडौंमा चिनेजानेकालाई गुहारे । र, अस्पताललाई बुझाए । 
उनका भाइ कमलप्रसाद धमला मूलपानीमा बस्थे । केही समयअघि उनको पनि मुटुको शल्यक्रिया गरिएको थियो । बिरामी मान्छेलाई राति के दु:ख दिनु भनेर उनले खबर गरिनन् । भोलिपल्ट बिहान थाहा पाएर भाइ आए । एम्बुलेन्समा राखेर आफ्नो डेरा लगे । 

उपचार भइरहेको अस्पतालले घोक्य्राएर निकालिदियो । अब फेरि कहाँ जँचाउने ? उनीहरू बिलखबन्दमा परे । ५-६ दिन अस्पताल खोज्नै लाग्यो । डायलासिस टुटेर उनलाई दिनदिनै कष्ट हुँदै गइरहेको थियो । वनस्थलीमा डायलासिस हुन्छ भन्ने सुने । त्यहाँको राष्ट्रिय मृगौला उपचार केन्द्रमा भाइले साँझमा पुर्‍याए । 

बन्द भइसकेकाले राति डायलासिस हुन सकेन । अर्को आपत् पर्‍यो । उनलाई धेरै गाह्रो भइसकेको थियो । उनीहरूले कुनै उपाय लगाइदिन अनुनय(विनय गरे, पार लागेन । ‘हाम्रो समस्या देखेर त्यहाँ उपचार गराइरहेका बिरामीले पैसा उठाएछन् । १ हजार ४ सय ५० रुपैयाँ दिए,’ उनले सुनाइन्, ‘त्यहीं तातोपानी मागेर एकमुठी च्युरा खाएँ ।’ 

त्यहींका एक जना स्टाफले भक्तपुर लैजान सल्लाह दिएछन् । राति नै मानव अंग प्रत्यारोपण केन्द्रमा आइपुगे । र, तत्काल डाइलासिस गराए । 

अनि, टेन्टको बास 
भक्तपुरमा डायलासिस सुरु भयो । तर बस्ने ठाउँ भएन । डेरा खोजे, सस्तोमस्तो नजिकमा भेटिएन । साताको दुईदेखि तीनपल्टसम्म (आवश्यकता हेरेर) डायलासिस गर्नुपर्ने भनिएको थियो । टाढा बस्नु, आउनजानै खर्चिलो । 

खोज्दै जाँदा उनका श्रीमान्ले भूकम्पपीडितले छाडेको टेन्ट भेट्टाए । २०७२ पुसदेखि त्यहीं बस्दै आएका छन् । पति रत्नप्रसाद बजारमा गएर ज्यालामजदुरी, भारी बोक्ने काम गर्छन् । त्यसैबाट दैनिक गुजारा चलेको छ । 

आमा चाहन्छिन् मृगौला दिन
पोकलकुमारीलाई मृगौला दिन ६३ वर्षीया आमा नरमाया धमला ओखलढुंगाकै कुन्तादेवीबाट आएकी छन् । उनको पनि त्यही टेन्टको बास भएको दुई महिना भइसक्यो । 

त्यसो त पति रत्नप्रसाद पनि दिन इच्छुक थिए । परीक्षण गर्दा उनको मृगौलामा पानी जमेको रहेछ । त्यसपछि बुवा तयार भए । उनको पनि मिलेन । अन्त्यमा आमा नरमाया खुसीसाथ आएकी छन् । उनको विभिन्न परीक्षण भइरहेको छ, अन्तिम टुंगो लागेको छैन । मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले उनको आमाको प्रारम्भिक परीक्षण मिल्दै गएको र आशा गर्ने अवस्था बढेको जानकारी दिए । पोकलकुमारीको गरिबी र समस्याका बाबजुद प्रत्यारोपणका क्रममा अस्पतालमै उपलब्ध औषधी नि:शुल्क दिन सकिने बताए । 

‘मृगौला दिएपछि गाउँमा भारी बोक्न सकिन्छ सर ?’ एकातिर छोरीको जीवनको सबाल छ, अर्कातिर आमा नरमायाको बाध्यता छ, ‘तीन घण्टाभन्दा टाढाबाट पानी ल्याउनुपर्छ । अरू भारी पनि बोक्नुपर्छ ।’ नगरी पनि धर छैन, उनको परिवारमा बिरामीको बाहुल्य छ । जेठा छोरा भारतको राजस्थानतिर बस्छन् । माइलो काठमाडौंमा, उनको मुटुको भल्भ फेरेको छ । कान्छोलाई मुच्र्छा परिरहने रोग छ । ‘एकपल्ट रूखबाट लडेर एउटा खुट्टा भाँच्यो । अर्कोपल्ट भीरबाट लडेर अर्को खुट्टा भाँचेछ । काठमाडौंमै ल्याएर अपरेसन गरेर केही महिनाअघि लगेको । यता छोरीको हालत यो छ ।’

ग्ल्यान्ड टीबी पनि
मृगौलाले थला पारेकै थियो, २०७२ वैशाखमा पोकलकुमारीको घाँटीतिर गाँठा देखिए । धरानमा जँचाउँदा ‘ग्ल्यान्ड टीबी’ भनियो । चिकित्सकको निगरानीमा खानुपर्ने भएकाले ओखलढुंगामै गएर औषधि गर्न सल्लाह दिए । 

‘ओखलढुंगामा दुइटै मृगौला खराब भएको मान्छेलाई हामी औषधि खुवाउन सक्दैनौं भने’, उनले सुनाइन्, ‘पछि शिक्षण अस्पताल आएर उपचार गर्‍यौं । राताराता महँगा गोली पैसा तिरेर खाँदै गएँ । भक्तपुर आएपछि पो एक जना डाक्टरले टीबीको औषधि नि:शुल्क पाइन्छ भने । अनि, ठिमी गएर नि:शुल्क खाएँ । अब ठीक भइसक्यो ।’ 

विपन्नलाई गाह्रो प्रत्यारोपण
मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठका अनुसार मृगौला प्रत्यारोपण गर्न सरदर ३ लाख रुपैयाँ खर्च लाग्छ । प्रत्यारोपणअघि मृगौला दिने र लिनेको स्वास्थ्य परीक्षण गर्न करिब १ लाख लाग्छ । प्रत्यारोपणपछि सामान्य व्यक्तिसरह जीवनयापन गर्न सकिन्छ । तर, महिनामा १५ देखि २५ हजार रुपैयाँको औषधि सेवन गरिरहनुपर्छ । नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ । डा. श्रेष्ठका अनुसार मृगौला दान गरेका व्यक्तिलाई स्वास्थ्यमा कुनै असर पर्दैन र नियमित जीवनयापन गर्न सकिन्छ । 

मृगौला पीडितलाई सरकारले सातामा तीनपल्टसम्मका लागि नि:शुल्क डायलासिस सेवा दिने भर्खरै घोषणा गरेको छ । ‘सबै बिरामीलाई तीनपल्ट डायलासिस गराउन चुनौतीपूर्ण छ,’ उनले भने, ‘मेसिन, जनशक्ति ५० प्रतिशतले वृद्धि गर्नुपर्छ ।’

सरकारले डायलासिसभन्दा प्रत्यारोपणलाई बढी प्राथमिकतासाथ हेर्नुपर्ने उनले बताए । ‘मृगौला प्रत्यारोपणलाई नि:शुल्क गर्न सके अधिकांश रोगीले नयाँ जीवन पाउँछन्,’ उनले भने, ‘वर्षौं गरिने डायलासिसमा त्यसभन्दा धेरै खर्च भइरहेको हुन्छ ।’ २ वर्षसम्म गरिने डायलासिस खर्चले प्रत्यारोपण सकिने उनले बताए ।
०००

पोकलकुमारीलाई अब दुइटा चिन्ता छ– आमाको मृगौला मिल्छ/मिल्दैन अनि मिलिगए प्रत्यारोपण खर्च कसरी जुटाउने ? धनी नेता र शक्तिशालीलाई विदेशमा उपचार गर्न राज्यले लाखौं/करोडौं दिएको सुन्छिन् उनी । तर उनलाई त्यसमा मतलब छैन । ‘उनीहरूको पनि उपचार होस्,’ उनले मात्र यति भनिन्, ‘हामीले पनि त्यत्तिकै मर्नु नपरोस् ।’ 
दाहाल परिवारले गाउँको ९ आना जग्गा ३ लाख ५० हजार रुपैयाँमा बेच्यो । ‘आफन्तको ऋण पनि करिब त्यति नै छ,’ उनले भनिन्, ‘कतिले त मागेर र्‍याखर्‍याख्ती पार्छन्, आफ्नो यो अवस्था छ, खै कसरी पो तिर्नु होला ?’

‘बरु’, छुट्ने बेला आँसु पुछदै उनले भनिन्, ‘भन्नुहोस्, यो बिग्रेको मृगौलाको भारी मैले कति दिन बोक्ने ? हामीजस्तालाई हेर्ने सरकार छैन यो देशमा ?’

 

Last modified on 2017-08-03 12:54:25

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts