सुगरका बारेमा थाहा पाउनैपर्ने कुरा !
सन्दर्भः विश्व मधुमेह दिवस
मधुमेह भनेको के हो ?
मधुमेह भनेको तपाईँको रगतमा चिनीको मात्रा अत्याधिक बढ्ने समस्या हो । यो तपार्इंको इन्सुलिन राम्रोसँग उत्पादन गर्न नसक्दा, नगर्दा वा उत्पादित इन्सुलिन राम्रोसँग उपयोग गर्न नसक्दा हुने गर्दछ ।
इन्सुलिन के हो ?
इन्सुलिन प्याङ्क्रियाजले उत्पादन गर्ने एक किसिमको हर्मोन हो । इन्सुलिनले शरीरका कोषिकाहरुमा ग्लूकोज प्रवेश गराउने साँचोको रुपमा काम गर्दछ ।
ग्लूकोज चाहीँ कहाँबाट आउँछ त ?
ग्लूकोज सामान्यतया हामीले खाएको कार्बोहाइड्रेट तत्वलाई पाचन प्रणालीले पचाउने काम गर्दा तयार हुन्छ र हाम्रो कलेजोले पनि यसलाई उत्पादन गर्दछ । कार्वोहाइड्रेट हामीले खाने विविध खानाहरु जस्तो कि, रोटी, आलु, मकै, फलफूल तथा दुग्धजन्य पदार्थ र गुलिया खानेकुराबाट प्राप्त हुन्छ । प्रोटिन पनि ग्लूकोजमा परिणत हुनसक्छ ।
मधुमेह कति प्रकारका हुन्छन् ?
टाइप १ः प्याङ्क्रियाजमा रहेका इन्सुलिन उत्पादन गर्ने कोषिकाहरु पूर्णरुपमा नष्ट हुँदा प्याङ्क्रियाजले इन्सुलिन उत्पादन गर्न नै सक्दैन । त्यपछि यस प्रकारको मधुमेह हुने गर्दछ । यसको मुख्य कारणमा शरीरमा रोग प्रतिरोधात्मक शक्ति गडबड हुनु हो । यो रोग सामान्यतया बालबालिकामा धेरै पाइन्छ । यस प्रकारको मुधमेहको बचावट गर्ने उपयहरु छैनन् । यसलाई इन्सुलिनको सुई दिएर मात्रै उपचार गर्न सकिन्छ ।
टाइप २: यस प्रकारको मधुमेह या त प्याङ्क्रियाजले शरीरलाई आवश्यक पर्ने जति इन्सुलिन उत्पादन गर्न नसकेर या उत्पादित इन्सुलिनले काम गर्न नसकेर हुने गर्दछ । यो सबैभन्दा बढी प्रचलित मधुमेह हो । मधुमेहका ९० प्रतिशत बिरामीहरु यस प्रकारको बिरामी हुन्छन् । यस प्रकारको मधुमेह नियन्त्रणमा औषधिका साथसाथै इन्सुलिनको प्रयोग, जीवनशैलीमा परिवर्तन, स्वस्थ्कर र सन्तुलित भोजन, शारीरिक क्रियाकलापमा बृद्धि गर्दै शारीरिक तौल कम गर्ने जस्ता कार्य गर्दा नियन्त्रणमा लिन सकिन्छ ।
गर्भावस्थामा हुने मधुमेहः ती महिलाहरु, जसमा पहिले कहिल्यै पनि मधुमेह देखा परेको थिएन, तर तिनको गर्भावस्थामा तिनलाई मधुमेह भएको पाइयो भने त्यसलाई गर्भावस्थामा हुने मधुमेह भनिन्छ । यस प्रकारको मधुमेह सामान्यतया गर्भावस्थाको पछिल्लो समयमा देखा पर्दछ, यसलाई पइन्सुलिनको प्रयोगबाट उपचार गरिन्छ र महिला सुत्केरी भइसकेपछि त्यो आफै ठीक भएर पनि जानसक्छ । तर जुन महिलामा गर्भावस्थाको मधुमेह भएको हुन्छ, भविष्यमा तिनलाई सामान्य महिला भन्दा ३० देखि ६० प्रतिशत बढी टाइप २ मधुमेह हुने खतरा रहन्छ ।
अन्य सहायक मधुमेहः यस खाले मधुमेह अन्य कारणहरु जस्तोकी शरीरमा हर्मोनको मात्रा गडबड भएर, वंशानुगत कारण वा केही रसायन तथा औषधिका कारण समेत हुनसक्छ । शरीरमा प्रभाव पार्ने जटिल वा कडा खालका रोग, प्याङ्क्रियाजको रोग, मद्यपान र कुपोषणका कारण समेत मधुमेह हुन सक्छ । यदि मुख्य रोगको सफलतापूर्वक उपचार गर्ने हो भने यस खाले मधुमेह आफै कम भएर जानसक्छ ।
जोखिमका कारक तत्वहरु
- परिवारका कुनै सदस्य वा नजिकका नातेदारमा दोस्रो प्रकारको मधुमेह भएको भएमा ।
- शारीरिक तौल ज्यादा वा कम्मरको परिधि (पुरुषः ३५दशालव ५ इञ्च, महिला: ३१ दशमलव ५ इञ्च भन्दा बढी) बढी भएमा ।
- उच्च रक्तचाप भएको वा पहिले हृदयघात वा मस्तिष्कघात भइसकेको भएमा ।
- महिलाको पाठेघरमा धेरै सिष्टहरु भएको खण्डमा ।
- गर्भवती हुँदा गर्भावस्थाको मधुमेह भएको भएमा ।
- तपाईंमा कडा खाले मानसिक स्वास्थ्य समस्या निरन्तर भएको अवस्थामा ।
मधुमेहका मुख्य लक्षणहरु
- बढी तिर्खा लाग्ने,
- राति बढी मात्रामा पिसाब लाग्ने,
- ज्यादै थाकेको महशुस हुने
- अचानक शारीरिक तौल घट्ने
- गुप्ताङ्ग चिलाउने वा बारम्बार किटाणुको संक्रमण भइरहने ।
- घाउ खटिराहरु चाँडै निको नहुने
- दृष्टि धमिलो हुने आदि ।
मधुमेहका जटिलताहरुः
मधुमेह भएका बिरामीहरुमा पछि गएर निम्न बमोजिमका जटिलताहरु देखा पर्न सक्छन्:
- मुटुरोग
- मस्तिष्कघात
- स्नायु प्रणालीमा क्षति
- मिर्गौलामा क्षति
आँखाको विशेषतः रेटिनामा क्षति
मधुमेहका लािग गर्नुपर्ने परीक्षणहरु
रगतको जाँचः यस जाँचमा रगतमा चिनीको मात्र (खालि पेटमा र खाना खाएको २ घण्टापछि) हेर्नुपर्दछ । बिरामी यदि गर्भवती भएमा खाना भएको १ घण्टापछि गर्न सकिन्छ । HbA1C जाँच हरेक ३–४ महिनामा गरिरहनु पर्छ । त्यसरी नै कम्तिमा वर्षको एकपटक कोलेस्ट्रोल, किड्नी, लिभर र थाइराइडको जाँच गराउनुपर्छ ।
पिसाबको जाँच: पिसाबमा माइक्रो अल्बुमिन र पिसाबको रुटिन जाँच गराउँदा मिर्गौलामा कुनै संक्रमण भए/नभएको समयमै पत्ता लगाउन सजिलो हुन्छ ।
अन्य जाँचहरुः मुटुको कार्यक्षमता तथा अवस्था थाहा पाउन इसीजी र इको जाँका साथै आँखाको रेटिना जाँच गराउनु मधुमेहका बिरामीका लागि अत्यन्तै आवश्यक हुन्छ ।
तपाईंका लागि खुशीको समाचार भनेको त्यो हो– यदि मधुमेह सुरुवातको अवस्थामा पत्ता लगाई राम्रोसँग नियन्त्रणमा राख्न सक्ने हो भने जोखिमलाई धेरै हदसम्म घटाउन सकिन्छ ।
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।