निमोनिया सम्बन्धी जान्नै पर्ने कुरा 

सन्दर्भः विश्व निमोनिया दिवस 



Download our app to get more features

विश्व स्वास्थ्य संगठन ले सन् २००९ देखि प्रत्येक बर्ष नोवेम्बर १२ लाई विश्व निमोनिया दिवसको रूपमा मनाउने गरेकोे छ । 

 यसको उद्देश्य निमोनियाको बारे सर्वसाधारणलाई जानकारी प्रदान गर्नुका साथै निमोनियाबाट बच्ने उपाय , निमोनियाको रोकथाम र उपचार (प्रोटेक्ट, प्रिभेंट एंड  ट्रिट) का उपाय बारे  जनचेतना फैलाउनु रहेको छ । विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार निमोनियाले वर्षेनी दश लाख शिशुको ज्यान लिन्छ ।  विशेषत दक्षिण एशिया र अफ्रीकामा यस निमोनियाको  प्रकोप धेरै देखिने गरेको छ ।  त्यस्तै, निमोनियाले वयष्क उमेर तथा ज्येष्ठ उमेर भएका व्यक्तिहरूलाई पनि उत्तिकै प्रभावित गरेको देखिन्छ । अस्पताल भर्ना भएका बिरामीहरूमा हुने संक्रमणहरू मध्ये निमोनिया सबै भन्दा धेरै हुने र घातक मानिएको छ । इम्युन कम्प्रोमाइज रोगबाट लड्न सक्ने क्षमता कम भएका जस्तै एच आइ भी (एडस) भएका बिरामीहरूमा पनि निमोनिया हुने जोखिम धेरै हुन्छ । उनीहरुमा निमोनियाको असर पनि गम्भीर हुने गर्छ ।

निमोनियाबाट बच्न र निमोनिया भएको खण्डमा यसको छिटो र प्रभावकारी उपचार नै यस रोगसँग लड्ने सबैभन्दा सरल उपाय हो ।यसै सन्दर्भ मा निमोनिया सम्बन्धी केहि जानकारी यहाँ प्रस्तुत गरिएका छन् ।

निमोनिया के हो ?
निमोनिया भनेको फोक्सोमा हुने एक प्रकारको संक्रमण हो जुन ब्याक्टेरिया , भाइरस वा फंगसद्वारा हुन्छ्र । फोक्सोको संक्रमण सबैभन्दा धेरै पाइने संक्रमण  मध्ये एक हो । निमोनियाले सामान्यतः जोकसैलाई पनि असर गर्नसक्ने भएपनि विशेष गरेर बालबालिका, ज्येष्ठ नागरिक, इम्युन कम्प्रोमाइज भएका बिरामीहरू (जस्तै मधुमेह भएका, हार्ट फेलियर, किड्नी फेलियर भएका र एच आइ भी संक्रमित) र दीर्घ स्वासप्रस्वासका समस्या भएका बिरामीहरूलाई धेरै असर गर्ने गर्छ । समयमा र उपयुक्त उपचारको अभावमा फोक्सोको संक्रमण रक्तसंचारमा फैलेर सेप्सिस हुनसक्छ र ज्यानको जोखिम हुन सक्छ ।

निमोनियाका कारक
मुख्यतः निमोनियाका कारक किटाणु ब्याक्टेरिया हुन् जसमध्ये स्ट्रेप्टोकोकस, हेमोपिलस धेरै मात्रामा पाइन्छन् । त्यस्तै, भाइरस मध्ये रेस्पिरेटोरी सिन्सिटीयल र इन्फ्लुएन्जा भाइरसको संक्रमण धेरै हुनेगर्छ । अस्पताल भर्ना भएकाहरूलाई हुने हस्पिटल इन्फेक्सन भने एन्टीबायोटिक प्रतिरोधी किटाणुहरूले गर्ने हुँदा धेरै खतरनाक हुन सक्छन  इम्मुन कम्प्रोमाइज भएकाहरूलाई भने फंगस, टीबी आदि किसिमका असाधारण किटाणु हरूले निमोनिया गराउन सक्छन ।

निमोनिया कसरी सर्छ ?
निमोनियाको संचारण हुने विभिन्न विधि पाइएको छ । यी मध्ये स्वासप्रस्वासको माध्यमबाट खोक्दा वा हाछ्युं गर्दा निमोनियाका किटाणुहरू एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ्र । त्यस्तै निमोनियाको जोखिमका अरू कारणहरूमा वायु प्रदुषण, धुम्रपान, मद्यपान पनि हुन् ।  त्यस्तै हस्पिटलमा भएको सक्रमण विभिन्न यन्त्रहरू (जस्तै भेन्टिलेटर, ट्युब, स्तेथ्स्कोप आदि) द्वारा एक बिरामी बाट अर्को बिरामीमा निमोनिया सर्न सक्छ । 

निमोनियाका लक्षणहरू
निमोनियाका मुख्य लक्षण  खोकी, खकार , स्वास प्रस्वासमा समस्या र छाति दुखाइ हुन् । यो बाहेक ब्याक्टेरियल निमोनिया भएकालाई उच्च ज्वरो आउने गर्छ । साना बालबालिकाहरू र वृद्धवृद्धालाई भने ज्वरो नहुन पनि सक्छ भोक कम लाग्नु र वजन घट्दै जानु पनि निमोनिया  (बिशेषत टिबी) का लक्षण हुन सक्छन् । निमोनियाको संक्रमण बिग्रिएको खण्डमा किटाणु शरीरभरि फैलिएर सर्कुलेटरी फेलियर, किड्नी फेलियर,  फोक्सोमा पीप जम्ने (लंग एब्सेस), छातीमा पीप जम्ने (एम्पैएमा) जस्ता जटिलताहरू आउन सक्छन । त्यस्तै पुराना निमोनिया भएर ठिक भैसकेका बिरामीहरूलाई पनि स्वासनली सुन्निने (ब्रोकिएकटासीस) हुन सक्छ । जसमा दीर्घरूपमा खोकी र खकार हुने समस्या हुन्छ । 

निमोनियाको उपचार  
निमोनिया भैसकेको खण्डमा यसको द्रूत तथा उपयुक्त उपचार नै सबभन्दा प्रभावकारी उपाय हो । ब्याक्टेरियल नेमोनियामा एन्टीबायोटिकको प्रयोग सकेसम्म छिट्टो गर्नु सबैभन्दा जरूरी हुन्छ । तर, एन्टीबायोटिकको प्रयोग गर्दा संक्रमणका सम्भावित किटाणुलाई ध्यानमा राख्नु झन् जरूरी हुन्छ । गलत एन्टीबायोटिकको प्रयोगले निमोनियामा जटिलता आउने मात्र नभई विभिन्न एन्टीबायोटिक प्रतिरोधी किटाणुहरूको विकास हुन मद्दत गर्छ । त्यस्तै केही भाइरल निमोनिया (जस्तै इन्फ्लुएन्जा, सी एम भी, वेरिसेल्ला) को लागि एन्टीभाइरल औषधि पनि उपलब्ध छन् । फन्गल निमोनिया र टीबीको उपचार गर्दा भने सकेसम्म निमोनियाको किटाणुको पूर्ण यकिन गर्न जरूरी हुन्छ । किनकि यी संक्रमणहरूमा लामो समयसम्म एन्टीफंगल वा एन्टी टि बि औष्धिहरूको प्रयोग गर्नुपर्ने हुन्छ । 

निमोनियाबाट बच्ने तरिका
निमोनियाका किटाणुहरू धेरै जसो चिसो मौसम मा फैलने हुँदा यसबाट बच्न बिषेशत जाडो मौसममा ध्यान पुर्याउनु आवश्यक छ । जाडो मा न्यानो कपडाको प्रयोग र मास्कको प्रयोगले यसलाई एक व्यक्तिबाट अर्कोमा सर्नबाट रोक्छ  त्यस्तै वायु प्रदुषणमा कमी ल्याएर र धुम्रपान र मद्यपान जस्ता बानीहरु त्यागेर पनि निमोनियाबाट बच्न सकिन्छ हस्पिटलबाट सर्ने निमोनिया कम गर्न भने नियमित हात धुने, हस्पिटल स्वच्छ राख्ने, अनावश्यक एन्टीबायोटिकको को प्रयोग रोक्ने आदि गर्नु जरूरी छ । निमोनियाबाट बच्नको लागि खोपको पनि विकास गरिएको छ । निमोकोकल र इन्फ्लुएन्जा खोपले यी दुइ किटाणुबाट हुने निमोनियाबाट बचाउन मद्दत गर्छन । बिशेषत बच्चाहरू तथा वृद्धवृद्धाले यी खोप लिनु आवश्यक छ । त्यस्तै स्वास्थ्यकर्मी, इम्युन कम्प्रोमाइज भएका बिरामी, मधुमेह, सी के डी (किड्नी फेलियर)  र स्वासप्रस्वाश का दीर्घरोगिहरूले पनि यी खोप लिनु आवश्यक छ ।

हाम्रोजस्तो अल्पबिकसित मुलुकमा निमोनियाका कारण प्रत्येक वर्ष लाखौं बालबालिका, बयस्क तथा ज्येष्ठ नागरिकको ज्यान जान्छ । यसबाट बच्ने उपाय जान्नु र यो रोग लागेको खण्डमा समयमै उपचार गर्नु नै यस रोगसँग लड्ने सबैभन्दा उपयुक्त तरिका हुन् ।

एम डी मेडिसिन (पी जी आइ, चंडिगढ़)
डी एम पल्मोनरी क्रिटिकल केअर एंड स्लिप मेडिसिन (एम्स, नया दिल्ली)

Last modified on 2016-11-13 12:16:01

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

1 Comments

  1. thanks for information


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts