गर्भपतन औषधिमा खेलाँची
‘यहाँ गर्भ झार्ने औषधि पाइन्छ ?’
ग्राहकले सोध्नासाथ नेपालगन्ज, पुष्पलाल चोकस्थित एक मेडिकल पसलमा रहेकी करिब १३ वर्षीया किशोरी भित्र पसिन् । मेडिकल साहुनी भने ग्राहकको अनुहार नियाल्दै थिइन् ।
‘यही हो औषधि,’ औषधिको पत्ता ग्राहकको हातमा थमाउँदै साहुनीकी छोरी ती किशोरीले भनिन्, ‘बहुत बिक्री हुन्छ, राम्रो छ ।’ साहुनीले ग्राहकलाई सम्झाउन थालिन् । ‘यसको ग्यारेन्टी ९८ प्रतिशत छ । तर, हामी ‘बिलसिल’ दिँदैनौं है,’ उनले भनिन्, ‘चाहिने भए औषधि लिए हुन्छ ।’ मेडिकलमा राखेर उक्त औषधि बेच्नु अवैध भएकाले गुपचुप बेच्ने गरेको उनले स्पष्ट पारिन् । आजको नागरिक दैनिकमा समाचार छ ।
अनिच्छित गर्भ तुहाउन प्रयोग हुने मिफे\मिजो नामक औषधि हचुवाको भरमा बेच्ने पुष्पलाल चोकको यो एक प्रतिनिधि पसल हो । सहरदेखि गाउँसम्म झाँगिएको अवैध धन्दाले गर्भवती महिलाको स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ । कतिपय महिला मृत्युको मुखमा पुगेका छन् । मंगलबार राति साढे १० बजे सुर्खेत, कल्याणकी ३२ वर्षीया यामकुमारी गाहा वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुगिन् । अत्यधिक रक्तस्राव भएर आएकी उनको एक घन्टा नपुग्दै मृत्यु भयो । अस्पतालका अनुसार उनले गर्भ तुहाउने औषधि जथाभावी सेवन गरेकी थिइन् ।
ठिक समयमा उचित तरिकाले यो औषधि प्रयोग गर्न नजान्दा यसले नकारात्मक असर पार्छ । यसलाई मेडिकल भाषामा ‘इन्कम्प्लिट एवर्सन’ भनिन्छ । ‘गाउँ–सहर जताततै हचुवाको भरमा यति संवेदनशील औषधि खुलेआम बिक्री भइरहेको छ,’ क्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. डम्बर खड्का भन्छन्, ‘मनपरी औषधि सेवनले जटिल समस्या निम्त्याएपछि उनीहरू अस्पताल आइपुग्छन् ।’
मध्यपश्चिमका दुई ठूला अस्पताल वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल र नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा ‘इन्कम्प्लिट एवर्सन’ भएर आएका बिरामीको संख्या हेर्दा पनि औषधिको दुरुपयोगले महिलालाई कसरी गाँजेको छ भन्ने प्रष्ट हुन्छ । चालु आर्थिक वर्षको तीन महिनामा क्षेत्रीय अस्पतालमा ३२ र अञ्चल अस्पतालमा १८ बिरामी आएका छन् । ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्था, निजी अस्पताल र मेडिकलमा पुग्नेको संख्या योभन्दा धेरै गुणा बढी रहेको स्वास्थ्य कार्यकर्ता बताउँछन् ।
भेरी अञ्चल अस्पतालका नर्सिङ प्रमुख दुर्गालक्ष्मी श्रेष्ठका अनुसार यसरी आउने बिरामीमा अत्यधिक रक्तस्राव र पाठेघर संक्रमणको समस्या बढी हुन्छ । ‘सही तरिकाले प्रयोग गर्ने हो भने त औषधिले समस्या निम्त्याउँदैन, प्रभावकारिता पनि राम्रै हुन्छ,’ उनी भन्छिन्, ‘तर, यो औषधिलाई मेडिकलहरूले जथाभावी बेच्दा नकारात्मक असर देखिरहेको छ ।’
चिकित्सकको ‘प्रेस्किप्सन’ बिना बेच्न नमिल्ने यो औषधि सहरदेखि गाउँसम्म झाँगिएका मेडिकलमा खुलेआम बेचिन्छ । त्यसैले मेडिकल सञ्चालकले बिरामीको स्वास्थ्य परीक्षण र गर्भवती जाँच नगरिकनै औषधि दिन्छन् । औषधि प्रयोग गर्ने तरिका र यसको प्रभावबारे राम्ररी बुझाउने फुर्सद उनीहरुसँग हुँदैन । यसले गर्दा गलत तरिकाले औषधि सेवन गरेका गर्भवती महिला मृत्युवरण गर्न बाध्य हुन्छन् ।
दैलेख, बाँसीकी २१ वर्षीया शोभा शाहीले असोज तेस्रो साता यस्तै नियति व्यहोर्नु प¥यो । अत्यधिक रक्तस्राव भएर आएकी उनको अस्पताल पुगेको करिब चार घन्टामै मृत्यु भयो । परिवारले उनको पेटमा १६ साताको बच्चा रहेको भने पनि जाँच्दा २८ साताको भेटियो । ‘ती महिलाले गर्भपतन गराउने औषधि खाएपछि पाठेघर फुटेर मृत्यु भएको तथ्य हामीले घटनापछि मात्र थाहा पायौं,’ मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. खड्काले भने, ‘समय घर्केपछि गाउँकै मेडिकलबाट औषधि सेवन गरेकी रहिछन् ।’
चिकित्सकका अनुसार यो औषधि ६३ दिन अर्थात् ९ साताभन्दा कम अवधिका गर्भवतीले मात्र सेवन गर्न मिल्छ । मेडिकल सञ्चालकले भने समयावधि ख्याल गर्दैनन्, न गर्भ जाँच्छन् । ‘महिलाले मौखिक रूपमा भनेको आधारमै पसलको सामान बेचेजसरी औषधि दिन्छन्,’ डा. खड्का भन्छन् । भ्रूणको आकार ठूलो छ भने त्यसले गर्भ तुहाउनुसट्टा उल्टै पाठेघरलाई फुटाउने चिकित्सक बताउँछन् ।
कतियपय मेडिकलले यतिसम्म गर्छन् कि गर्भवती नभएकी महिलालाई पनि गर्भवती भएको भनी औषधि भिडाउँछन् । सुर्खेतकी एक महिलाले यस्तै पीडा भोगिन् । गर्भवती भएको शंका बोकेर गाउँकै मेडिकलमा गएकी उनलाई मेडिकलवालाले सामान्य सोधपुछ र गर्भ भए–नभएको पिसाब परीक्षण गरेर औषधि दिए । तर, औषधि खाँदा अत्यधिक रक्तस्राव भएपछि उनी डा. खड्काकहाँ पुगिन् । ‘हामीलाई गर्भवती भएकोमै शंका लागेपछि पुनः परीक्षण गर्दा रिपोर्ट ‘नेगेटिभ भेटियो,’ खड्काले भने, ‘गर्भवती नभएको थाहा पाएर पनि मेडिकलले पैसा कमाउन औषधि भिडाएको रहेछ ।’ यस्ता घटना नियमितजसो आइरहने उनको भनाइ छ ।
1 Comments
-
के ९ हप्ता भन्दा कम ले मात्र प्रयाेग गर्ने त्याे भन्दा माथि भयाे भने के गर्ने त उसकाे ईच्छा नभयमा । कति हप्ता सम्मकाे लाई फाल्न सकिन्छ ।
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>