स्तन क्यान्सरका विरामीको निशुल्क शल्यक्रिया गरिने
काठमाडौं, ८ कार्तिक । नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरले स्तन क्यान्सरका बिरामीको निःशुल्क शल्यक्रिया गर्ने जनाएको छ ।
‘विश्व स्तन क्यान्सर जनचेतनाको महिना’को अवसरमा नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टर र कल्याणी नेपाल क्यान्सर सर्पोट ग्रुपद्वारा आयोजित कार्यक्रममा हरेक महिना एक जना स्तन क्यान्सरका बिरामीको निःशुल्क शल्यक्रिया गरिने जानकारी दिइएको हो ।
कार्यक्रमा नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरका अध्यक्ष डा. सुदिप श्रेष्ठले क्यान्सर उपचारका लागि नेपाल भारत भन्दा कम नभएको भन्दै सबै क्यान्सरको उपचार नेपालमा सम्भव रहेको हुदा कसैलाई पनि बाहिर पठाउनु नपर्ने बताए ।
यसै गरी अस्पतालले यस महिनामा मेमोग्राममा ५० प्रतिशत छुट र प्याप्स मेयर निशुल्क गरेको सर्जन डा. कपिन्द्र शेखर अमात्यले बताए ।
नेपालमा पाठेघरको मुखको क्यान्सर पछि महिलामा सबैभन्दा धेरै हुने क्यान्सरमा स्तन क्यान्सर रहेको छ । ‘स्तन क्यान्सर प्रारम्भिक अवस्थामा पहिचान गरे निको हुन सक्छ’ भन्ने नाराका साथ अक्टोवर महिनाभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइरहिएको छ । जसमा स्ट्याण्ड अप फर ब्रेस्ट क्यान्सर, स्तन क्यान्सर सरभाईभर मिट्, ब्रेस्ट प्रस्थेसिस मेकिङ वर्कशप जस्ता कार्यक्रम गरेको हस्पिटलले जनाएको छ ।
‘स्ट्याण्ड अप फर ब्रेस्ट क्यान्सर’ अन्तर्गत नेपाल क्यान्सर एण्ड रिसर्च सेन्टर र रोटरी क्लव अफ यालाको संयुक्त प्रयासमा हरेका महिना एक विपन्न स्तन क्यान्सरका बिरामीको निःशुल्क शल्यक्रिया गर्ने बताइएको छ । त्यसैगरी ‘स्तन क्यान्सर सरभाईभर मिट’ अन्तर्गत स्तन क्यान्सरलाई जितेर आएका महिलालाई सम्मान गरिने आयोजकले बताएको छ । ब्रेस्ट प्रस्थेसिस मेकिङ’ अन्तर्गत स्तन क्यान्सरका कारण स्तन गुमाएकाहरुका लागि मानोबल बढाउने तथा कृतिम र घरेलु तवरबाट स्तनको आकार प्रकार बनाउन प्रशिक्षण दिइनेछ ।
हरेक अक्टोवरलाई विश्व स्तन क्यान्सर सचेतना महिनाको रुपमा मनाउदै आइएको छ ।
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>