चितवनका ७० प्रतिशत मुसामा ‘माइट’
चितवन, १६ असोज । चितवनका ७० प्रतिशत मुसामा स्क्रब टाइफसको कारक मानिएको माइट(सुक्ष्म कीरा) पाइएको छ ।
मुसाबाट मानिसमा माइट सरेर स्क्रब टाइफस संक्रमण हुने गरेको छ । बैशाखयता यहाँका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमा स्क्रब टाइफस संक्रमण देखिएपछि इपिडिमियोलोजी तथा रोग माहाशाखाको टोलीले मुसाको रगत, फोक्सो, माइट, कलेजो, मृगौला र फियोको प्रयोगशाला परीक्षण गरेको थियो ।
‘यहाँका ७० प्रतिशत मुसामा स्क्रब टाइफस सार्ने माइट देखियो’, जिल्ला जनस्वास्थ्यका सूचना अधिकृत नरहरि शर्माले भने, ‘विभिनन गाउँबाट समातिएका १० मध्ये सातवटा मुसाको शरीरमा माइट पुष्टि भएको छ ।’ दुई साताअघि महाशाखाको टोलीले सबैभन्दा प्रभावित क्षेत्र शारदानगर, रामपुर, मंगलपुर, पार्वतीपुर, शंकर र विकास चोकका घरबाट मुसा राति ट्रयापमा पारी परीक्षणका लागि लगेको थियो ।
पोलिमर चेन रियाक्सन(पीसीआर)को माध्यमले गरिएको परीक्षणबाट स्क्रब टाइफस सार्ने कारक माइट नै रहेको पुष्टि भएको जनस्वास्थ्यका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले बताए । नेपालका ३२ जिल्लामा स्क्रब टाइफसका बिरामी भेटिइसकेका छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।