केसीमा मुटुको समस्या दोहोरिने चिन्ता
काठमाण्डौं, १६ असोज । त्रिवि शिक्षण अस्पतालमा सोमवारदेखि नवौं अनशन थालेका प्रा.डा. गोविन्द केसीको स्वास्थ्यमा मुटुको समस्या दोहोरिन सक्ने चिन्ता उपचारमा संलग्न चिकित्सकहरुले गरेका छन् ।
सातौं अनशनका क्रममा केसीमा मुटुको समस्या( भेन्ट्रिकुलर ट्रैकिकार्डिया) देखिएको थियो । लामो समयसम्म त्यस्तो समस्या देखिए मुटुले काम गर्न छाड्ने(कार्डियाक एरेस्ट) समस्या निम्तन सक्नेसमेत चुनौतीलाई सामना गर्नुपर्ने चिन्ता उपचारमा संलग्न प्रा.डा. दिव्या सिंह शाहसहितका टोलीले गरेको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।
आठौं पटकको अनशनमा समेत उनको मुटुको असामान्य चाल (इरेगुलर विट)को समस्या देखिएको थियो । त्यतिबेला पनि भेन्ट्रिकुलर टै«किकार्डिया) हुने चिन्ता चिकित्सकहरुको थियो ।
‘मिर्गौला आदिको स्वास्थ्यबारे अनुमान गर्न सकिन्छ तर मुटुबारे केही भन्न सकिन्न,’ डा. शाह भन्छिन्, ‘बारम्बारको अनशनले गर्दा केसीमा स्वास्थ्य जटिलता बढ्दै गएको छ, उनमा पहिला कहिल्यै पनि देखिएको स्वास्थ्य समस्या देखिन थालेका छन् ।’ यही कारण तेस्रो अनशनका समय लम्बिँदै जाँदा भेन्टिलेटर समेत तयारी अवस्थामा राख्नुपरेको थियो । यस पटकको अनशनमा एक दुई दिनभित्रै वा जुनसुकै समय यस्तो स्थिति आउन सक्ने सम्भावनालाई डा. शाह अस्वीकार गर्दिनन् ।
हाल डा. केसीलाई रिंगटा बढी लागिरहेको छ । पिसाबमा एसिटोन देखिसकिएको छ । उनलाई मांसपेशी र छाती दुख्ने समस्यासमेत देखिएको छ । छाती दुखाइसँगै बीच–बीचमा मुटुको चालमा समेत वृद्धि(पैलपिटेसन) हुने गरेको छ ।