इनरुवाका अधिकांश क्लिनिक अवैध
सुनसरी, १६ असोज । जिल्ला सदरमुकाम इनरुवामा सञ्चालित अधिकांश क्लिनिक र औषधि पसल अवैध रहेको पाइएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला अस्पताल सुनसरीले गरेको अनुगमनको क्रममा इनरुवा क्षेत्रमा सञ्चालित अधिकांश क्लिनिक र औषधि पसल दर्ता नै नगरी सञ्चालन गरेको पाइएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी कमल थापाको नेतृत्वमा आठवटा क्लिनिक तथा औषधि पसलको अनुगमन गरिएको थियो । त्यस क्रममा पाँचवटा सञ्चालन अनुमति नै नलिई सञ्चालन गरिरहेको पाइएको छ । दर्ता नगरी सञ्चालन भइरहेका औषधि पसल तीनवटा छन् भने क्लिनिक दुईवटा रहेका छन् ।
इनरुवा–६ स्थित सुनसरी मोडल हस्पिटलमा सञ्चालित औषधि पसल दर्ता गरिएको छैन भने कोसी डाइग्नोसिस एन्ड रिसर्ज सेन्टरमा सञ्चालित औषधि पसल र इनरुवा–६ कै हनुमान चोकस्थित सुनसरी हस्पिटलमा रहेको औषधि पसल पनि अनुमति नलिई सञ्चालन गरिएको पाइएको छ । ती औषधि पसलमा फार्मेसी नै नपढेकाले औषधि बेच्ने गरेको पाइएकाले सिल लगाइएको सहायक प्रजिअ थापाले जानकारी दिए ।
थापाका अनुसार जिल्ला अस्पताल इनरुवाअगाडि रहेको बहिस आलमको सायमा फार्मेसी र नेसनल मेडिसिन सेन्टरपछाडि सञ्चालनमा रहेको क्लिनिक पनि दर्ता गरिएको नपाइएकाले त्यसमा समेत सिल लगाइएको छ ।