एमबीबीएस पढ्न विदेश पठाउने भन्दै ठगी
काठमाडौं, २१ चैत्र । महोत्तरी गौशालाका शशिमान श्रेष्ठ भक्तपुरको ख्वप कलेजबाट विज्ञान समूहबाट १२ कक्षा सकाएर एमबीबीएस अध्ययन गर्न विदेश जाने तयारी गर्दै थिए ।
राजधानीको सेतु सर्भिसेजका सञ्चालक समीर झासँग विदेशमा एमबीबीएस शिक्षाबारे जानकारी लिए । शशिमानले बुबा कृष्णबहादुरलाई पनि योजना सुनाए । बाबुछोरा नै समीरको बागबजारस्थित कार्यालयमा गएर बुझे । बंगलादेश वा माल्दिभ्स कहाँ पठाउने ? रोज्न लगाइयो । शशिमानले माल्दिभ्स रोजे । प्रक्रिया सुरु गर्न १० लाख रुपैयाँ पनि दिए । त्यसको दुई महिनापछि समीरले विदेशमा पढ्ने पैसाले स्वदेशमै पढ्न पुग्ने आश्वासन दिए । उनीहरूले पत्याए ।
काठमाडौं विश्वविद्यालयले लिएको प्रवेश परीक्षामा सहभागी भए । ‘परीक्षामा हाजिर मात्रै गराए पुग्छ, उत्तर लेख्नु पनि पर्दैन । शिक्षा मन्त्रालयसँग मिलाइसकेका छौं । औपचारिकता मात्रै र्पुयाउने हो भन्यो । छात्रवृत्ति पाइहालिन्छ भनेर ढुक्क हुनुस भन्यो,’ कृष्णबहादुर श्रेष्ठले भने, ‘मन्त्रालयको छात्रवृत्ति शाखाको लेटरप्याडमा समीरले छात्रवृत्तिमा छनोट भएको पत्रसमेत हामीलाई दिए ।’
मन्त्रालयले गत कात्तिक २३ मा काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पताल सिनामंंगललाई छात्रवृत्तिमा पढाइदिन भन्दै लेखेको पत्र समीरले उनीहरूलाई थमाए । त्यसपछि थप साढे १८ लाख रुपैयाँ लिए । छात्रवृत्तिमा अध्ययन गर्न मेरिट लिस्टमा परेको हुनुपर्ने व्यवस्था भएको श्रेष्ठ परिवारले समीरलाई सुनाए ।
‘हामीले कोटा लिएको हुन्छ । क्याम्पस चल्न थालेपछि मिलाएर पठाइदिन्छु भन्यो । मन्त्रालयको कागज पनि ल्याइदियो,’ कृष्णले भने, ‘छात्रवृत्ति पाएको हो भने वेबसाइटमा छोराको नाम किन नभएको भनेर सोध्यौं । मन्त्रालयमा मिलाएका हुन्छौं । वेबसाइटमा नभए पनि केही फरक पर्दैन भनेर हामीलाई झुक्याइयो ।’ मन्त्रालयको पत्रको सही हो कि होइन भन्ने बुझ्न केशरमहलस्थित छात्रवृत्ति शाखामा पुगेपछि मात्रै आफू ठगिएको उनले थाहा पाए । अनि समीरलाई कारबाही गर्न प्रहरीलाई गुहारे ।
त्यस्तै सशस्त्र प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक बेचन यादव पनि छोरालाई एमबीबीएस अध्ययन गराउन विदेश पठाउने क्रममा ठगिएका छन् । कन्सल्टेन्सीले सरकारी कागजातसमेत नक्कली बनाएर ठगी गर्ने गरेको पाइएको छ । कान्तिपुर दैनिकमा मकर श्रेष्ठले लेखेको समाचार छ ।
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।