विराटनगरमै क्यान्सर रोगको उपचार पाउँदा राहत

What's This?


Download our app to get more features

विराटनगर, २० चैत्र  । एकसय २५ वर्ष पुरानो कोशी अञ्चल अस्पतालले पहिलोपटक क्यान्सर रोगको उपचार सुरु गरेपछि विराटनगरका स्थानिय एवं पूर्वाञ्चलका ग्रामीण भेगका जनतालाई ठूलो राहत भएको छ । नियमित उपचारकालागि काठमाडौं, भक्तपुर, भरतपुर र धरान पुगिराख्नु पर्ने पुराना रोगी एवं उनीहरुका परिवारजनको तनाव पनि कम भएको छ ।

एक अध्ययनअनुसार भरतपुर क्यान्सर अस्पताल धाउने मध्येको ठूलो संख्या सिराहाभन्दा पूर्वका हुने गर्छन् । सन् २०१३ मा उक्त अस्पतालमा आएका ३ हजार ५ सय जनामा १५ प्रतिशत र २०१४ मा उपचार गराउन पुगेका ४ हजारमध्ये २० प्रतिशत सिरहा पूर्वकै थिए । 

कोशी अस्पतालमा क्यान्सरको उपचार सेवा सुरु भएको पाँच महिना नबित्दै ७५ जना रोगी लाभान्वित भएका छन् । अस्पतालले कात्तिक तेस्रो सातादेखि क्यान्सर युनिट खडा गरेदेखि अहिलेसम्म क्यान्सरका ५० जना नयाँ र २५ जना पुराना रोगीले उपचार पाएका छन् । पुरानामा अधिकांश नियमित परिक्षणकालागि मुलुकका अन्य अस्पताल धाईराख्नु पर्ने रोगी छन् ।

अस्पतालको मेडिसिन विभागमा आउने बिरामीमध्ये क्यान्सर भएको शंका गरिएकालाई थप जाँचकालागि उक्त युनिटमा पठाइन्छ । यस क्यान्सर युनिटको ओपीडीमा दैनिक औसत ५ जना र वार्डमा ३ जना बिरामी आउँछन् । स्थानीयवासी माझ उक्त सेवा बारे बढ्दो जानकारीसँगै नयाँ र पुराना रोगी बढ्ने क्रम जारी छ । 

यहाँ आउनेमा ७५ प्रतिशत रोगी पूर्वाञ्चलको ग्रामीण भेगका भएको अस्पतालका क्यान्सररोग विशेषज्ञ डा. रगिन कठेतले बताए । ‘फोक्सो र पित्तथैलीको क्यान्सर भएका बढी छन्,’ उनले कान्तिपुरसँग भने, ‘धुमपानले गर्दा फोक्सोमा र पत्थरीले गर्दा पित्तथैलीमा क्यान्सर हुन्छ ।’ किमो थेरापीले समेत उपचार हुन नसक्ने अन्तिम अवस्थामा पुगेकालागि यहाँ सुविधा रहेको उनले जानकारी दिए ।

‘अन्तिम स्थितिमा पुगेका क्यान्सरका रोगीलाई असहय शारीरिक एवं मानसिक पीडा हुने र श्वास फेर्न कठिन हुन्छ,’ डा.कठेतले भने, ‘यसबाट परिवारजन पनि प्रताडित हुन्छन्, उनीहरुलाई हामी हेर्छौं ।’ खानामा रुची कम हुनु, तौल घट्नु, गिर्खा आउनु, घाउ निको नहुनु र कमजोरी महसुस हुनुलाई यस रोगको सामान्य लक्षण मानिन्छ ।

जनशक्ति अभाव
सुरुवाती अवस्थामा रहेको उक्त युनिटमा अहिले स्रोत, साधन र जनशक्तिको भने अभाव छ । दुई क्यान्सर विज्ञ र एक स्टाफ नर्सले यहाँ सेवा दिइरहेका छन् भने एकजना कन्स्लट्यान्ट फिजिसियनको दरबन्दि खाली छ । रक्तक्यान्सर बाहेक सबै खाले क्यान्सर रोगीलाई उक्त युनिटले सेवा दिन्छ । रक्तक्यान्सरका विज्ञ यहाँ छैनन् । क्यान्सर युनिटले अहिले शल्यक्रिया र रेडियो थेरापी(रेडियसन)को पनि सुविधा दिन सकेको छैन ।

शल्यक्रिया गर्नुपर्ने बिरामीलाई धरानस्थित वीपी स्मृति स्वास्थ्य प्रतिष्ठान तथा रेडियो थेरापीकालागि काठमाडौं एवं भरतपुर पठाउने गरेको डा. पौडयालले बताए । ‘ठाउँ र नर्स अभाव भएकाले जनरल वार्डमै विरामी राखि एक कुनातिर औषधी तयार पारेर किमो थेरापी दिन्छौं,’ उनले भने, ‘यसकोलागि बेग्लै कोठा र क्याबिनेटको आवश्यकता छ ।’

अप्ठेरो अवस्थामा आफूहरुले सेवा दिइरहेको हुनाले अस्पताल व्यवस्थापन पक्षले यस रोगको संवेदनशिलतालाई ध्यानमा राखेर यसतर्फ ध्यान दिने आशा गरेको डा.पौडयालले बताए । 

बिरामीको चाप, उनीहरुबाट आउने प्रतिक्रिया र मागअनुरुप सेवा, सुविधा एवं जनशक्ति विस्तार गरिने अस्पताल व्यस्थापन पक्षले जनाएको छ ।

शनिवारको कान्तिपुर दैनिकमा जितेन्द्र साहले लेखेको समाचार छ ।
 
Last modified on 2016-04-18 17:58:34

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts