कोमामा रहेका कामदार फिर्ता पठाउँदै कतार



Download our app to get more features

काठमाण्डौं, ९ असोज । कतारका अस्पतालको अति सघन कक्षमा वर्षौंदेखि उपचाररत नेपाली श्रमिकलाई कतार सरकारले धमाधम फिर्ता पठाउन थालेको छ ।

कतारमा नेपालीलगायतका कामदारमाथि चर्को श्रम शोषण गरेको, मानव अधिकार हनन गरेको लगायतका मुद्दा अन्तर्राष्ट्रियकरण भएसँगै त्यहाँको सरकारले विभिन्न अस्पतालमा वर्षौंदेखि रहेका नेपाली कामदारलाई फिर्ता पठाउने क्रम बढाएको हो । स्रोतका अनुसार कतारस्थित हमाद अस्पतालले त्यस्ता बिरामीलाई सकेसम्म छिटो फिर्ता पठाउन दोहास्थित नेपाली दूतावासमा दबाब दिइरहेको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ । 

पछिल्लो ६ महिनामा मात्रै कोमामा रहेका पाँच जनालाई कतार सरकारले फिर्ता पठाइसकेको छ । कतारले २०६६ असोज २ देखि हमाद अस्पतालको कोमामा रहेका नारायणस्थान ९ बाग्लुङका विष्णुबहादुर सुवेदीलाई गत फागुनमा फिर्ता पठाएको थियो । असार १५ मा बर्दिया मगरागढी ८ रम्भापुरका हरिबहादुर बस्नेत र गोर्खा सौरपानी ७ का कालु गुरुङ घर फर्किए । दुई साताअघि बाग्लुङका गिरीप्रसाद विक र रुकुम शंख गाविसका २ का मनोज केसी पनि घर फर्किएका छन् ।

२०६५ भदौ १९ देखि हमाद अस्पतालको कोममा रहेका महेशपुर १ झापाका श्रीबहादुर नेम्बाङलाई पनि फिर्ता पठाउन अस्पतालले पहल थालिरहेको छ । स्रोतका अनुसार परिवारका सदस्यको स्वीकृति दिनेबित्तिकै श्रीलाई फिर्ता पठाउने अन्तिम प्रक्रिया सुरु हुनेछ । त्यस्तै तीन वर्षदेखि कोमामा रहेका धनुषा नुवाखोर प्रसनी २ का बिन्दे मुखिया विनलाई पनि नेपाल फिर्ता पठाउन अस्पतालले पहल गरिरहेको छ ।

गत वर्षको २१ मंसिरमा परराष्ट्र मन्त्रालयको कतारका विभिन्न अस्पतालमा कोमामा रहेको नेपालीको विषयमा कार्यदल नै बनाएर अध्ययन गरेको थियो । उक्त कार्यदलले १६ जना नेपाली विभिन्न अस्पतालमा वर्षौंदेखि कोमामा रहेको निष्कर्ष निकालेको थियो । तर नेपाली कामदारलाई स्वदेश झिकाउने र तिनीहरूको उपचार प्रबन्धको पहल गर्ने भन्ने कार्यदलको सुझाव कार्यान्वयनमा आउन सकेन ।

तस्वीर : कान्तिपुरबाट

Last modified on 2017-08-15 15:16:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts