गरिबलाई क्यान्सर
भरतपुर, ८ असोज । बीपी मेमोरियल क्यान्सर अस्पतालको हसपिस वार्ड बेड नम्बर १३६ मा उनी मोबाइलमा खेलिरहेका थिए ।
घातक रोगसँग जिन्दगीको कडा लडाइँ लडिरहेका उनको अनुहारको भावले भने सोधिरहेको थियो, ‘के गरिबलाई क्यान्सर लागे उपचार सम्भव छैन ?’ अस्पतालका चिकित्सकहरूलाई त्यही प्रश्न सोधियो । उनीहरूको जवाफ थियो, ‘हामी क्यान्सर रोगीको टाउकादेखि खुट्टासम्म हेर्छौं । उसको पारिवारिक अवस्था विश्लेषण गर्छौं । आर्थिक कारणले उपचार धान्दैन भने घर फर्किन सल्लाह दिन्छौं ।’ आजको कान्तिपुर दैनिकमा समाचार छ ।
राप्ती नगरपालिका–७ फुलौरियाका १५ वर्षीय शिवराज चौधरीको परिवारजनसित न पैसा थियो, न उनीहरूले उपचार टुटाउन नै चाहे । त्यही भएर बिराम कचपल्टियो । सुरुमा उनको खुट्टा सुन्नियो । कडा दुख्यो । नजिकका पसलमा गएर औषधि ल्याउँदै, खाँदै गरे । जब सुन्निने क्रम बढ्यो, भरतपुरको निजी अस्पतालमा भर्ना गरिए । ‘एलाइभ अस्पतालका डाक्टरले खुट्टाको शल्यक्रिया गर्नुपर्छ भने ।
करिब ६० हजार खर्च लाग्यो । दुई महिना नभई फेरि सुन्निन र दुख्न थाल्यो,’ शिवराजका दाइ सुरजले भने, ‘त्यसपछि फेरि चितवन मेडिकल कलेज पुर्यायौं । त्यहाँ क्यान्सरको शंका गरे । मासु निकालेर परीक्षण गर्न पठाए । २० दिनमा रिपोर्ट आयो । र, क्यान्सर अस्पताल पठाइदिए ।’ सुरजका अनुसार क्यान्सर अस्पतालले त्यो रिपोर्टलाई मान्यता दिएन । फेरि मासु निकाल्यो । जँचाउन भारतको नयाँदिल्ली पठायो । तीन सातामा रिपोर्ट आउँदा शिवराज निकै थलिइसकेका थिए । त्यसपछि सुरु भयो उनको केमो थेरापी । तीन साइकल केमो दिएपछि २०७२ भदौ २० गते उनको देब्रे खुट्टो काटियो । करिब दुई सातामा डिस्चार्ज गरियो ।
‘गल्ती हाम्रै भयो,’ आमा सलमतियाले आँसु पुछ्दै भनिन्, ‘भनेका बेला अस्पताल लैजान सकेनौं । साथमा पैसा भएन । केही दिन ढिलो गर्दा केही फरक पर्दैन होला भन्ने ठानियो । तर, ठूलै फरक पर्ने रहेछ । गरिबका लागि क्यान्सरको उपचार नहुने रहेछ ।’ डाक्टरले चौथो साइकल केमो चढाउन तत्काल ल्याउन भनेका थिए । उनीहरू करिब दुई महिना अस्पताल जान सकेनन् ।
त्यसबीच शिवराजको कम्मरको जोर्नीमा डल्लो आएर हुर्किन थालिसकेको थियो । अस्पताल लैजाँदा त्यहाँ पनि क्यान्सर फैलिइसकेको रहेछ । शल्यक्रिया गर्नसमेत नमिल्ने अवस्थामा पुगेछ । त्यो संक्रमण हुँदै र बढदै गएर ठूलो घाउ बनेको छ । फुटबलजत्रै भइसकेको छ ।
उनको उपचारमा संलग्न चिकित्सक निभा तिवारीका अनुसार सुरुमा क्यान्सरको पहिचान भएपछि खुट्टा काटियो । ‘त्यसपछि घर गएका उनीहरू फलोअपमा आएनन् । डेढ महिना जति हराए,’ उनले सुनाइन्, ‘आउँदा क्यान्सर फोर्थ स्टेज (चौथो चरण) मा पुगिसकेको थियो । हामीले गाली पनि गर्यौं । पारिवारिक समस्याले आउन नसकेको भने । बेलामा आउन सकेको भए निको पार्न सकिन्थ्यो ।’
विज्ञहरू भन्छन्– निजी अस्पतालले रोग पहिचानै नगरी शल्यक्रियामा हतारिने, सरकारीमा परीक्षणका लागि लामा र झन्झटिला प्रक्रिया पार गर्नुपर्नेजस्ता विकृति धेरैजसो रोग छिप्पिनुका कारक हुन् । जब रोग छिप्पिन्छ, उपचारै नलाग्ने अवस्थामा पुग्छ ।
सहयोग अति कम
सरकारले स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरेको छ । तर, क्यान्सरका बिरामीलाई भने जम्माजम्मी एक लाख रुपैयाँ मात्र सहयोग गर्छ । यो अत्यन्त अपर्याप्त रहेको चिकित्सकहरू बताउँछन् ।
‘क्यान्सर उपचारमा एक लाखले भरथेगै पुग्दैन । सरकारले क्यान्सरको प्रकारअनुसार सहयोग निर्धारण गर्नुपर्छ,’ बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष एवं वरिष्ठ क्यान्सर शल्य चिकित्सक प्रकाशराज न्यौपाने भन्छन्, ‘निको हुने क्यान्सरका सबै उपचार नि:शुल्क गरे हुने थियो ।’ नेपालमा क्यान्सरबाट हरेक वर्ष करिब २१ हजारको मृत्यु हुन्छ, ३० हजार नयाँ रोगी थपिन्छन् ।
‘एक लाख रुपैयाँलाई व्यवस्थित रूपमा खर्च गर्न सकिएको भए केही सकारात्मक नतिजा देखिने थियो होला,’ वरिष्ठ क्यान्सर रोग विशेषज्ञ सुदीप श्रेष्ठ भन्छन्, ‘त्यसको समेत सही व्यवस्थापन हुन सकेको छैन । यो एउटै औषधिमा सकिन्छ, फार्मेसी मात्रै धनी भइरहेका छन् ।’ क्यान्सर प्रारम्भिक अवस्थामा पहिचान भए निको हुने सम्भावना अत्यधिक रहेको औंल्याउँदै डा. न्यौपानेले भने, ‘समयमै सही उपचार भए तेस्रो चरणसम्म निको हुन सक्छ ।’
तथ्यांकअनुसार मुलुकमा पुरुषमा सबैभन्दा बढी देखिने क्यान्सर क्रमश: फोक्सो, पेट र आन्द्राको छ । महिलामा भने पाठेघरको मुख, स्तन र फोक्सोको क्यान्सर बढ्ता देखिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार करिब ७० प्रतिशत क्यान्सरबाट हुने मृत्युहरू निम्न र मध्यम आय भएका राष्ट्रमा हुन्छ । ब्रिटिस जर्नल अफ क्यान्सरमा प्रकाशित एउटा अनुसन्धानअनुसार थुप्रै मामिलामा क्यान्सर हुने कारण खराब जीवन शैली हो ।
उक्त अनुसन्धानअनुसार यदि जीवनशैलीलाई सही राख्ने हो भने क्यान्सरको करिब ४० प्रतिशत जोखिम घटाउन सकिन्छ ।
तस्वीर : कान्तिपुरबाट