बिहानको घाम तापौं, बाथरोगबाट जोगिऔं



Download our app to get more features

बाथरोग एक प्रकारको अटोइम्युन डिजिज हो । अटोईम्युन भन्नाले हाम्रो शरीरको रोग निरोधक शक्तिले जब आफ्नै शरीरको अंगमा असर गर्न थाल्छ त्यस बेला अटोइम्युन डिजिज शुरु हुन्छ । जसको फलस्वरुप मुख्यतः शरीरको जोर्नीहरु दुख्ने वा सुन्निने जस्ता लक्षण देखिन थाल्छ र क्रमशः अन्य अंगहरुमा पनि असर गर्दछ । बाथरोग एकसय भन्दा बढी प्रकारका हुन्छन् । बाथरोगको लक्षण बाथले असर गरेको अङ्ग अनुसार फरक हुन्छ । लक्षण र कुन प्रकारको एन्टीबडी रगतमा देखिन्छ, त्यसको आधारमा यस रोगको वर्गिकरण गरिन्छ । त्यसर्थ यस रोगको नियन्त्रणका लागि लक्षण एवम् कुन एन्टिबडिको संलग्नता छ भन्ने आधारमा रोगको बर्गिकरण र मूल्याङ्कन गरी उपचार विधि अपनाउनु जरुरी हुन्छ । 

बाथरोका लक्षणहरु

  • हातका औंलाहरु दुख्ने वा सुन्निने
  • बिहान उठ्ने बेलामा हात खुट्टा अरठ्ठो हुने
  • गालीगाँठो दुख्ने वा सुन्निने
  • राती तथा बिहान ढाड दुख्ने वा अरठ्ठो हुने
  • पिडौला दुख्ने वा करकर खाने
  • खुट्टाको औंलाको वरिपरी रातो भएर टेक्न नहुने
  • कुर्कुचा दुख्ने, पाइतला पोल्ने वा झमझमाउने
  • हात, खुट्टा वा शरीर अरठ्ठो हुने
  • घुँडा सुन्निने वा दुख्ने

 
नेपालमा देखिएका प्रमुख बाथहरु

बाथरोग एकसय भन्दा धेरै प्रकारको रहेको हुन्छ । यीमध्ये केही ज्यान लिने खालका समेत रहेका हुन्छन् । नेपालमा देखिने केही प्रमुख बाथहरु यस प्रकार रहेका छन् ।

१.र्युमाटाईड आर्थराइटिस : यो वयस्क तथा बढ्दो उमेरमा र लामो समयसम्म रहिरहने कडा बाथ हो । यो पुरुषको तुलनामा महिलालाई धेरै देखिन्छ । रोगको शुरु अवस्थामा हातगोडाका जोर्नी (विशेषगरी हातगोडाका औंलाहरु, जाडी, कुहिना, कुम, घुँडा र गोलीगाँठा) दुख्ने, सुन्निने र अरठ्ठो हुने हुन्छ । जुन बिहान बढ्ने तथा दिउँसो घाममा सजिलो हुन्छ । रोग छिप्पिँदै गएपछि भने हातगोडाका जोर्नीहरु जाम हुने, बाँगिने, बिग्रिने र काम नलाग्ने हुन्छन् । समयमै उचित औषधि उपचार नभएमा यसले विभिन्न भित्री अंगहरुमा असर गरी बिरामीको आयु नै घटाउन पनि सक्छ । 

२. ढाडको बाथ (स्पोण्डिलो आर्थराइटिस) : ढाडको बाथ ढाडका जोर्नीहरुमा सुजन भएर हुने एक दीर्घरोग हो र यसले फिला भित्रको जोर्नी, ढाड, गर्धन र कहिलेकाहीँ नितम्ब, कुम र हातगोडाका ठूला जोर्नीहरु दुख्ने, सुन्निने गराउँछ । यो बाथ प्रायः ४० वर्षको उमेर अघि नै शुरु हुन्छ र यसले पुरुषलाई बढी मात्रामा असर गर्छ । ढाड, फिला दुख्ने, बिहानीपख अरठ्ठो हुने लगायत यसले एक तिहाइ बिरामीहरुमा आँखामा असर गरी यूमिटाइटिस् (आँखा दुख्ने, रातो हुने, घामा हेर्न गाह्रो हुने) गराउँन सक्छ । धेरै जसो बिरामीहरुमा यो बाथ गराउन एचएलएबी ट्वान्टी सेभेन नामक वंशाणुको भूमिका हुन्छ । यही काररणले गर्दा सन्तानमा पनि यो रोग जान सक्छ ।


३. लुपसः यो विशेषगरी जवान र महिलाहरुमा शुरु भई लामो समयसम्म रहने एक दीर्घ बाथरोग हो । यसमा अनुहार र शरीरका अन्य भागको छालामा दाग आउने, मुखमा घाउ आउने, जोर्नी तथा मांशपेशीहरु दुख्ने, सुन्निने र अरठ्ठो हुने, कपाल झर्ने, ज्वरो आउने लगायतका रोग कडा भएको खण्डमा मिर्गौला, मुटु, फोक्सो, रगत तथा स्नायु जस्ता महत्वपूर्ण अंगहरुमा असर पारी ज्यान नै जोखिममा पर्न सक्छ ।

४. छाला बाक्लो हुने बाथः बढ्दो उमेरमा देखिने यो बाथ महिलाहरुमा बढी भएको पाइन्छ । यसमा हातगोडा र अनुहारको छाला बाक्लो हुने, दुख्ने, सुन्निने लगायतका चिसो पानी छुँदा हातगोडाका औंलाहरु क्रमस सेतो, निलो र रातो हुने हुन्छ । यसले छालामा मात्र नभई रगतका नशाहरु, फोक्सो, मिर्गौलामा पनि असर गरी औंलाहरुमा घाउ आउने, छाती पोल्ने, दम बढ्ने र मिर्गौला फेल हुने सम्भावना हुन्छ । चिसोले रोग बढ्न सक्ने भएकाले यो रोगका बिरामीले बाक्लो पन्जा, मोजा लगाउनु आवश्यक छ । 

५. ओस्टियो आर्थराइटिस (जोर्नी खिइने बाथ) : बढ्दो उमेरसँगै यो बाथ प्रायः मोटा मानिसहरुमा देखिन्छ । उमेर बढ्दै जाँदा जोर्नीमा रहेको कुरकुरे हड्डी खिइएर नष्ट हुँदै जाँदा ओस्टियो आर्थराइटिस हुन्छ । यस किसिमको बाथले मुख्यतः घुँडा, गर्दन तथा कम्मरको मेरुदण्ड, हात तथा गोडाका बूढी औंलाका फेद, हातका औंलाहरु, नितम्ब, गर्दन र ढाँड दुख्नु यस बाथको प्रमुख लक्षण हो । उमेर, मोटोपना, क्याल्सियम, भिटामिन डी, थाइराइड आदिको कमिले पनि हड्डी खिइने बाथ गराउँछ । 

६. गाउट ( यूरिक एसिडको बाथ) : यूरिक एसिड हाम्रो शरीरमा उत्पन्न हुने एक विकारयुक्त पदार्थ हो । रगतमा यूरिक एसिडको मात्रा बढ्दै जाँदा यो गोडाको बूढी औंला वरपर र (पछि अन्य भागमा पनि) जोर्नीमा जम्न जान्छ र एक्कासी दुख्ने, सुन्निने, रातो हुँदै जान्छ । जसलाई हामीयूरिक एसिड बाथ भन्दछौं । यूरिक एसिड बढ्दैमा सबैलाई भने यो बाथ हुँदैन । यो रोग छिप्पिँदै जाँदा यसमा जोर्नी बिग्रने, बाँगिने, यूरिक एसिडका डल्लाहरु ठाउँ ठाउँमा जम्ने र मिर्गौलाको काम बिग्रने तथा मिर्गौलामा पत्थरी समेत हुन सक्छ । 

७. केटाकेटीमा हुने बाथः केटाकेटीमा हुने बाथ मूख्य २ किसिमका हुन्छन् । मुटुको बाथ ज्वरो(र्यूमटिक फिभर) र जुभेनाइल आरथ्राईटिस । जुभेनाइल आरथ्राईटिसमा बालबालिकाको हातगोडाका जोर्नीहरु दुख्ने, सुन्निने, हिँडडूल गर्न नसक्ने, ज्वरो आउने, छालामा विभिन्न दागहरु आउने र आँखामा असर हुन सक्दछ । समयमै पहिचान गरी उचित औषधि प्रयोग भएमा रोग बढ्न पाउँदैन र हातगोडाका जोर्नीहरु बिग्रन, बाँगिन पाउँदैनन् ।

बाथ रोगबाट बच्ने उपाय  

मेडिकल साइन्सले बाथ रोग लाग्नै नदिने उपाय अहिलेसम्म पत्ता लगाउन सकेको छैन । यससँग सम्बन्धी भ्याक्सिन र औषधिहरु पनि छैनन् । परि।वारका कुनै सदस्यलाई बाथ रोग भएमा अन्य सदस्यहरु सतर्क हुनुपर्छ । डेढ महिनादेखि तीन महिनाभित्रमा बाथ रोग पत्ता लगाउने कोसिस गर्नुपर्छ । बाथ रोग भएको पत्ता लागेमा सेकेन्डरी प्रिभेन्सन अपनाई जटिलतालाई रोक्नतिर लाग्नुपर्छ । 

खानपान
धेरैजसो बाथ रोगमा खाना बार्न आवश्यक हुँदैन । तर यूरिक एसिड बाथमा भने खाना बार्न आवस्यक हुन्छ । यूरिक एसिड बाथमा खुट्टाको बूढी औंला रातो भएर ,दुख्ने र सुन्निने हुन्छ । प्रोटिनयुक्त खाना जस्तै सुकेको गेडागुडी, टमाटर, काउली, बन्दा, च्याउ, कोक, फेन्टा, काजु, पेस्ता, खसी, राँगा, बँदेलको मासु, जाँड, रक्सी आदिले यूरिक एसिड बाथलाई बढाई दिन्छ । यूरिक एसिड बाथ एक प्रतिशतलाई मात्र हुन्छ । 

साबधानी
बाथको जटिलताको आधारमा सावधानी अपनाउनु पर्छ । बाथका कारण हड्डी खिइन थालेपछि भुँइमा टुक्रुक्क नबस्ने, पलेँटी मारेर नबस्ने, उकालो ओरालो धेरै नगर्ने, जोर्नीलाई धेरै भार पर्ने काम गर्नु गर्नु हुँदैन र जोर्नीलाई मोड्न पनि हुँदैन । चिसोमा धेरै काम नगर्ने, मनतातो पानी प्रयोग गर्ने, चुरोटको धुँवामा नबस्ने, १० बजे अघिको घाम ताप्दा फाइदा हुन्छ । बिहानको कलिलो घाममा भिटामिन डि प्राप्त हुन्छ । नेपाल, भारत लगायत दक्षिण एसियाका देशहरुमा बस्ने व्यक्तिहरुमा भिटामिन डिको कमि धेरै देखिएको छ । भिटामिन डिले बाथसँग मात्र नभई शरीर दुख्ने, क्यान्सर, मुटु रोगसँग पनि सम्बन्ध राख्छ । भिटामिन डिको कमि हुनेहरुमा कडा बन्दै जान्छ । त्यसैले भिटामिन डिको प्राकृतिक श्रोत घाम नै हो । 

बाथरोगको औषधि
बाथको औषधि क्यान्सरको औषधिबाट शुरु  भएको हो । बाथ रोग दीर्घ रोग हो । तर, यसले क्यान्सर जस्तो तुरुन्त ज्यान भने लिदैन । सामान्य मानिसको औषत आयुको तुलनामा बाथ रोग भएकाहरुको औषत आयु १०/१५ वर्ष कम देखिन्छ । बाथ रोगले मुट, मिर्गौला, मस्तिष्क लगायत शरीरका विभिन्न भित्री अंगहरुमा असर गर्ने भएकोले औषत आयु कम हुने भएको हो । 

बाथका कारण जोर्नी दुखेर कुनै पनि व्यक्तिको ज्यान जाँदैन । क्यान्सर जस्तै भित्रै भित्रै दीर्घकालीन असर गर्ने भएकाले यसको मुख्य औषधि मेथोट्रक्सेट हो । यो क्यान्सरका बिरामीलाई पनि प्रयोग गरिन्छ । अहिले करिब दुई लाख पर्ने गठिया बाथको नयाँ इन्जेक्सन आएको छ । यसले एक वर्षसम्म काम गर्छ । यो लिम्फोमामा प्रयोग हुने औषधि हो । लुपसले फोक्सो, मिर्गौला आदिमा पारेको असरका लागि प्रयोग गरिने साइक्लो फोस्फामाईड नामको औषधि क्यान्सरकै औषधि हो । प्राय लुपसका लागि प्रयोग हुने औषधि कडा खालको हुन्छ । 
 

 

Last modified on 2017-08-15 15:29:13

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

1 Comments

  1. यस्तै जान्कारी मुलक सुचना आगामी दिनहरुमा पाउने आसा गर्दछु। धन्यवाद ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts